काठमाडौं । ‘पानी वितरण हुने विन्दूमा कुन दिन कति वजेदेखि कति बजेसम्म पानी वितरण हुन्छ त्यसको सूचना कार्यालयको सूचना पाटीमा टा‘स्ने र सो अनुसार व्यवस्था गर्ने’, खानेपानी तथा सरसफाई मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिएको निर्देशन हो यो । तर केयुकेएलले भने कहिले पानी आउँछ भन्ने सूचना दिन सकिने तर कति बजेबाट कति बजेसम्म आउँछ भन्न नसकिने बताएको छ । ‘कुन क्षेत्रमा कहिले पानी दिने हो भन्न सक्छौं तर कति बजे भन्ने एकिन गर्न सक्दैनौं’, केयुकेएलका प्रवक्ता सुरेश शर्माले भने ।
बुधबार मात्रै केयुकेएलले ९ दिनमा एक पटक पानी वितरण गर्ने तालिकालाई संसोधन गरेर पाँच दिनमा एक पटक पानी दिने कार्यतालिका सार्वजनिक गरेको थियो । केयुकेएलले बाँसबारी पानी पोखरीबाट वितरण गरिने पानीको तालिकामा बिहान बिहान पानी दिने उल्लेख गरेको छ तर कति बजेबाट कति बजेसम्म भन्नेबारे चाँही केहि पनि लेखेको छैन् ।
मन्त्रालयले केयुकेएल सुधारका लागि भन्दै पानी वितरण गर्ने कुनै पनि चाबीचालकले ग्राहकबाट कुनै बहानामा पनि पैसा लिन नपाउने र लिएमा भ्रष्टाचार मानिने भएकोले तत्काल रोक्न पनि भनेको छ । पानीको पाईप विछ्याउने वा मरमत गर्ने नाममा कुनै पनि कार्यालयले ग्राहकबाट पैसा उठाउन नपाउने, उपयोक्ताको लागत साझेदारी हुनैपर्ने रकमलाई कार्यालयमा सूचना पाटीमा टाँस गर्नुपर्नेे निर्देशन पनि दिएको छ । यसरी निर्देशन अनुसार सम्पादन गरिएको कामको विवरण १ गते र १५ गते मन्त्रालयलाई बुझाउन पनि निर्देशनमा भनिएको छ ।