नेप्से ३१ अंकले वृद्धि, मौद्रिक नीति चुहिएकै हो ?

<p>काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियो देखियो । नेप्से परिसूचक ३१ अंकले वृद्धि भयो । १४६ वटा कम्पनीको सेयर कारोबार भएकोमा १२३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । सेयर बजारलाई मौद्रिक नीतिले पछ्याएको कालिका सेक्युरिटीज्का प्रबन्धका निर्देशक नरेन्द्रराज सिजापतिले बताए । ‘नयाँ मौद्रिक नीतिमा सीडी रेसियो ८५ प्रतिशत बनाइदै छ भन्ने सन्देश लगानीकर्तामा [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियो देखियो । नेप्से परिसूचक ३१ अंकले वृद्धि भयो । १४६ वटा कम्पनीको सेयर कारोबार भएकोमा १२३ वटा कम्पनीको सेयर मूल्य बढ्यो ।

सेयर बजारलाई मौद्रिक नीतिले पछ्याएको कालिका सेक्युरिटीज्का प्रबन्धका निर्देशक नरेन्द्रराज सिजापतिले बताए । ‘नयाँ मौद्रिक नीतिमा सीडी रेसियो ८५ प्रतिशत बनाइदै छ भन्ने सन्देश लगानीकर्तामा गएको देखिन्छ’ उनले भने ‘सीडी रेसिया ८५ प्रतिशत भयो भने बैंकमा लगानी योग्य पुँजी सहज हुन्छ, कर्जाको व्याज घट्छ, सेयर मूल्य बढ्छ भन्ने विश्लेषण लगानीकर्ताले गरेको देखिन्छ ।’

तरलताको संकट समाधान गर्ने गरी खुकुलो मौद्रिक नीति आउने विश्वास लगानीकर्तामा पलाएकोले बजारमा मूल्य बढेको थ्राइभ ब्रोकर हाउसका प्रबन्ध निर्देशक अन्जनराज पौडेलले बताए ।

के मौद्रिक नीति चुहिएकै हो त ? विकासन्युजको प्रश्नमा नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेल भन्छन्-‘नेपालको सेयर बजार किन बढ्छ, किन घट्छ, त्यसको कुनै आधार छैन ।’

मौद्रिक नीति अझै फाइनल नभएको उनले बताए । ‘सञ्चालक समितिमा छलफल जारी छ । साँझ छलफलले टुङ्ग्यायो भने शुक्रबार सार्वजनिक हुन पनि सक्छ, छलफल बाँकी रह्यो भने आगामी साता सार्वजनिक हुन्छ’ प्रबक्ता पौडेलले भने ।

आर्थिक वर्षको अन्तिम समय भएको, कम्पनीहरुको अन्तिम चौमासिक रिपोर्ट प्रकाशित हुन लागेको, सरकारी बजेटको खर्च बढेको, निर्वाचनले पनि तरलता वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएकोले बजारमा सुधार देखिएको अन्जनराज पौडेल बताउँछन् ।

विहीबार ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ बढी हाे ।  बुधबार ४८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३१९ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बैंकिङ, हाइड्रोपावर र उत्पादनमूलक समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।

Share News