काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै हालतमा सेयरमा भ्याट लाग्न नदिने स्पष्ट पारेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा बोर्डका निर्देशक डा. नवराज अधिकारीले भने–‘सेयरमा भ्याट लगाउने कुरा कुनै हालतमा स्विकार्य हुन्न, ऐन सच्याएर भएपनि सेयरमा भ्याट लगाउने योजना रोकिन्छ’, डा. अधिकारीले भने ।
उनले नेपाली सेयर बजारको लागत एसिया क्षेत्रमै महंगो रहेको बताउँदै त्यसमा भ्याटको बोझ थपिए बजार उठ्नै नसक्ने गरि थला पर्ने पनि बताए ।‘एसिया क्षेत्रमै हाम्रो कारोबार लागत बढि छ, त्यसमा पनि भ्याट थपियो भने हाम्रो बजार कहिल्यै उठ्न सक्दैन, त्यसैले ऐन संसोधन गरेरै भएपनि भ्याट रोक्छौं’, डा. अधिकारीले भने ।
उन सेयर बजार पनि वित्तिय कारोबार नै भएकाले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को छुट पाउने सूचिमा सेयर कारोबारलाई पनि समावेश गराउने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । ब्रोकरहरुले असार १५ गते सेयर कारोबार बन्द गरेर गम्भिर गल्ति गरेको बताउँदै उनले त्यस्ता कम दोहोर्याए कडा कारवाही गर्ने चेतावनी पनि दिए ।‘एक्कासी बजार बन्द गरेर हिड्न कस्ले भनेको थियो ? नियम कानुन मिचेर कारोबार रोक्ने अधिकार कस्ले दियो ? हामीले एक पटकलार्ई छुट दिएका हौं, त्यस्ता हर्कत दोहोरिए कडा कारवाही हुन्छ’, अधिकारीले भने ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बोर्डलाई अटेर गरिरहेको आरोप पनि लगाए । नेप्सेले धितोपत्र बोर्डसँग सत्रुतापुर्ण सम्बन्ध राखेकाले पनि पुँजी बजारको विकासमा सहयोग नपुगेको आरोप लगाए । कार्यक्रममा ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले कानुनी झमेलाका कारण ब्रोकरहरु भ्याटमा दर्ता हुनै पर्ने बाध्यात्मक परिस्थिती आएको बताएका थिए ।
उनले सेयरमा भ्याट लागु हुँदा सेयर कारोबार लागत बढ्ने तथ्यलाई बुझेर भ्याट लगाउने कर प्रशासनको निर्णय फिर्ता हुनुपर्ने बताए । तर कर प्रशासनले भ्याट लगाउने निर्णय गरिसकेकाले ब्रोकरहरु भ्याटमा जान बाध्य रहेको उनको भनाई थियो ।‘हामी पनि सेयरमा भ्याट लाग्नु हुन्न भन्ने पक्षमै छौं तर कानुनले हामीलाई भ्याटमा दर्ता हुन र पुरानो बेरुजु तिर्न बाध्य पारिरहेको छ’, अध्यक्ष रेग्मीले भने । उनले असार १५ गते सेयर कारोबार रोक्नु आफुहरुको बाध्यता भएको पनि बताएका थिए ।
कार्यक्रममा सेयर लगानी कर्ता संघका अध्यक्ष उत्तम अर्यालले पनि सेयरमा भ्याट लागु भएमा नेपालका सेयर बजार डुब्ने खतरा रहेको बताएका थिए । उनले असार १५ गते सेयर कारोबार रोकेर ब्रोकरहरुले लाखौं लगानी कर्तामाथी अन्याय गरेको आरोप पनि लगाएका थिए