चितवन। आर्थिक वर्ष २०७३/७४ मा आन्तरिक राजस्व कार्यालय चितवनले कूल १६ अर्ब ५७ करोड ५१ लाख ३७ हजार रूपैयाँ राजर्श्व संकलन गर्न सफल भएको छ । कार्यालय प्रमुख थानप्रसाद पंज्ञानीका अनुसार अघिल्लो आर्थिक वर्षमा लक्ष्य लिएको भन्दा १३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक बर्षमा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार रूपैयाँ राजस्व संकलन भएकोमा झण्डै चार अर्ब ४० करोड बढी राजस्व संकलन भएको हो । गत वर्ष कूल १४ अर्ब ६३ करोड ७७ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिइएको थियो ।
आयकरतर्फ १ अर्ब १३ करोड ५७ लाख १६ हजार रूपैयाँ संकलन भएको छ । अन्तः शुल्क करमा १४ अर्ब २३ करोड रूपैयाँ राजस्व संकलन भएको छ । घरबहाल करतर्फ लक्ष्य भन्दा १५ प्रतिशत बढी अर्थात ९ करोड ११ लाख २५ हजार रूपैयाँ संकलन भएको छ ।
मूल्य अभिवृद्धि करतर्फ ९० करोड ९ लाख २३ हजार राजस्व लक्ष्य लिइएकोमा ९६ करोड ८९ लाख १५ हजार रूपैयाँ राजस्व संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ १२ करोड ४९ लाख १८ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य लिइएकोमा पाँच करोड ९३ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन भएको छ । शिक्षा करतर्फ दुई करोड १५ लाख रूपैयाँ संकलन भएको छ । दुई करोड १३ लाख ९८ हजार रूपैयाँ राजस्व संकलन लक्ष्य रहेको थियो ।