काठमाडौं । ज्योति विकास बैंकले आफ्नो स्थापनाको ९औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले गरिब असहाय व्यक्तिको हेरचाह, पालनपोषण, औषधोपचारका लागि कार्यरत उक्त आश्रमलाई लुगाधुने मसिन खरिद गर्ने प्रयोजनका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

त्यसका साथै, उक्त वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंक आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएको छ । बैंकले महोत्तरीको बर्दिबास नजिकमा रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत निर्मित एकिकृत मुसहर बस्ति विकास कार्यका लागि उक्त फाउण्डेशन मार्फत आर्थिक सहयोग प्रदान गरेको छ ।
हाल सम्म बैंकको ३२ वटा शाखा र १४ वटा एटिएम सञ्चालनमा छन् । यो आवमा ८ वटा एटिएम थप गर्ने योजना रहेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम अन्तिम चरणमा रहेकोले सो प्राप्ति पश्चात ५ वटा शाखा थप हुनेछ । यसै आ.व. भित्र ५० वटा शाखाहरु पुर्याउने बैंकको लक्ष्य रहेको छ ।
विकास बैंकले आधुनिक प्रविधि अनुरुप इण्टरनेट बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल आदि भुक्तानी सेवा, ए.वि.वि.एस. सेवा तथा ए.टि.एम. कार्ड मार्फत नेपाल तथा भारतमा बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएका छौं । हाल एससीटी डेबिट कार्ड उपलब्ध गराइ आएकोमा सम्भवतः असोज महिनाबाट भिसा कार्डबाट कारोवार गर्न सकिने गरी कार्य भैरहेको बैंकले जनाएको छ ।
बैंकले २०७४ असार मसान्तमा सम्ममा करिब १ लाख निक्षेपकर्ता ग्राहकबाट १० अर्व ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने करिब ८ हजार ऋणीहरुलाई ९ अर्व १३ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएका छौं । त्यस्तै बैंकले ३९ करोड ३ लाख रुपैयाँ कुल मुनाफा आर्जन गरी खुद मुनाफा २४ करोड ८४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकको आषाढ मसान्तमा निस्क्रीय कर्जा १.०२ प्रतिशत भन्दा कम रहेको छ । चालु आ.व. मा १५ अर्व रुपैयाँ निक्षेप तथा १४ अर्व रुपैयाँ कर्जा पुर्याउने बैंकको लक्ष्य रहेको छ ।