‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित

<p>काठमाडौं । व्यवस्थापिका-संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ । संसद्को सोमबारको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो । विधेयक प्रस्तुत गर्दै मन्त्री मन्सुरले विधेयकमा भएका आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादनको [&hellip;]</p>

काठमाडौं । व्यवस्थापिका-संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ । संसद्को सोमबारको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुख ओनसरी घर्तीले विधेयक निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री मन्सुरले विधेयकमा भएका आधारभूत शिक्षा, स्वास्थ्य, उत्पादनको उपयोग, कृषि कार्यक्रम, सामाजिक सहयोगलगायत व्यवस्थाका बारेमा जानकारी गराएका थिए । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद चूडामणि जंगली विकले विधेयक आउनु सकारात्मक भएको भन्दै यसले सामाजिक सुरक्षा क्षेत्रका समस्या समाधानमा सहयोग पुग्ने बताए ।

यसअघि मन्त्री मन्सुरले ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनसहितको सामाजिक सुरक्षा विधेयक, २०७२ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री मन्सुरले आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बैठकमा ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ प्रस्तुत गरेका थिए ।

बैठकमा कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बरालले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक फिर्ता गर्नेसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ पेश गरेका हुन् । संसद्को अर्को बैठक यही साउन १५ गते दिउँसो १ बजे बस्नेछ । रासस

Share News