चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा एक अर्ब ८७ करोड सात लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले १४ अर्ब ८३ करोड ७७ लाख ८५ हजार रुपैयाँ लक्ष्य लिएकोमा १६ अर्ब ७० करोड ८५ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । संकलित राजस्व ११२.६१ प्रतिशत रहेको छ । सबैभन्दा बढी अन्तःशुल्क करतर्फ १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार रुपैयाँ तथा सबैभन्दा न्यून शिक्षा सेवातर्फ दुई करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागले दिएको लक्ष्य स्वास्थ्य सेवा करमा पुर्याउन नसकिएको देखिन्छ भने अन्य सबैमा पुगेको छ । स्वास्थ्य सेवा करमा १२ करोड ४९ लाख १८ हजार रुपैयाँ लक्ष्य दिइएको थियो तर संकलन भने पाँच करोड ९३ लाख ५७ हजार रुपैयाँ भएको छ । स्वास्थ्य सेवा कर यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाडौँमा बुझाएपछि यहाँ कम संकलन भएको कार्यालयले जनाएको छ ।
आयकरतर्फ एक अर्ब २६ करोड ३० लाख ३५ हजार रुपैयाँ, घरबहाल करतर्फ नौ करोड २२ लाख ७० हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड १५ लाख दुई हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ९७ करोड २९ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विभागले चालु आवका लागि यस कार्यालयलाई १९ अर्ब ७४ करोड रुपैयाँको लक्ष्य दिएको छ ।
जिल्लामा अहिले ७० हजार करदाता रहेका छन् । तीमध्ये ४० हजार व्यवसायी र ३० हजार व्यक्तिगत छन् । छ हजार ३०० मूल्य अभिवृद्धि करमा आबद्ध छन् । गत आवमा यस कार्यालयमा चार हजार ८०० करदाता थपिएका छन् । आव २०७२.७३ मा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।