
कविर राणा
काठमाडौं । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादक कविर राणालाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको राससले जनाएकाे छ ।
तर निर्वाचन आयोगले अधिकार क्षेत्रभन्दा वाहिर गएर निर्देशन दिएको प्रेस काउन्सिलका अधिकारीहरुले बताएका छन् । ‘समाचार गलत भए खण्डन गर्न माग गर्दै आयोगले निवेदन गर्न सक्छ तर यो वा त्यो गर भनेर काउन्सिलाई निर्देशन दिन सक्दैन’ ती अधिकारीले भने ।
आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ? ” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशित भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ” भनिएको छ ।