काठमाडौं । भारतको आयकर विभागले कर छली गरेको आरोपमा वलिउड सुपरस्टार अमिताभ बच्चनमाथि छानबिन सुरु गरेको छ ।
पनामा पेपर्सले अमिताभले कर छलिगरेको विवरण सार्वजनिक गरेपछि कर विभागले उनीमाथि अनुसन्धान थालेको हो । छानबिनमा बच्चन लगायत कैयौं हस्तीहरुको नाम खुलासा भएको थियो । यस मामिलामा भारतको विभाग निकै ’आक्रमक’ रुपमा काम गरिरहेको त्यहाँको चर्चित अखबार टाइम्स अफ ईण्डियाले जनाएको छ ।
विभागले यसबारे थप अनुसन्धानका लागि ब्रिटिस भर्जिन आइल्याण्डमा आफ्नो एक उच्च पठाएको अखबारले उल्लेख गरेको छ । क्यारेबियन द्विपमा अवस्थित ब्रिटिस भर्जिन आइल्याण्ड (कर तिर्नुनपर्ने (ट्याक्स हेभेन) मूलुकको रुपमा गनिन्छ ।
अमिताभबारे सोधपुछमा एक अधिकारीले भने, ’मिस्टर बच्चनले पनामा पेपर्समा आएका कुनै फर्ममा पनि आफ्नो सम्बन्ध नरहेको बताएका छन् । त्यसैले हामीले सिधै सोधपुछ गर्न सकेनौं । हामीलाई अन्य जानकारी जुटाउनु आवश्यक छ ।’
टाइम्स अफ इन्डियासँग कुरा गर्दै विभागका एक अधिकारीले भने, ’हामीले थप जानकारी जम्मा गर्नका लागि सीबीडीटी (सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्स) को कर्मचारीलाई ब्रिटिस भर्जिन आइल्यान्ड पठाइएको छौं । हामी अन्य मूलुकबाट पनि जानकारी खोजिरहेका छौं । सबै जानकारी लिइसकेपछि मात्र कानुन तोडिएको हो कि होइन पत्ता लाग्नसक्छ ।’
पनामा पेपर्समा थुप्रै भारतका ठुला फिल्मी कलाकार, राजनेता तथा व्यापारीको नाम सार्वजनिक भएको छ। अमिताभले आफूले कुनै गलत काम नगरेको दाबी गरेका थिए । बच्चनले भारतीय नियम अनुसार विदेशमा रकम पठाउने गरेको दाबी गरेका थिए ।
अधिकारीले भने, ’सार्वजनिक भएका कतिपय खाताका वास्तविक हुन् । जानकारी जम्मा गर्न धैरै समय लाग्छ ।’ इनकम ट्याक्स विभागले पनामा पेपर्समा देखापरेका मध्ये ३३ नाममाथि मुद्दा दायर गरिएको छ र बाकी विरुद्ध छानबिन चलिरहेको छ ।
पनामा पेपरले विदेशमा सम्पत्ति जोडेको विवरण सार्वजनिक गरेपछि पाकिस्तानी प्रधानमंत्री नवाज शरीफलाई त्यहाँको सर्वोच्च अदालतले पदच्युत गरेको छ । यता भारतमा करको घटना लम्ब्याइएको भनेर कर विभागको आलोचना भइरहेको छ ।
पनामा पेपर्सका दस्तावेज पनामास्थित एक ल फर्म ( मोसेक फोन्सेकाले ’लीक’ गरेका थिए । यो फर्मको ३५ वटा मूलुकमा ब्युरो छ । दस्तावेजमा ५० देशका १४० राजनेताहरुको नाम उल्लेख छ जसको विभिन्न तरिकाबाट विदेशमा रकम जम्मा रहेको दाबी गरिएको छ ।
यसमा १२ भुतपूर्व राष्ट्राध्यक्षहरुको नाम पनि उल्लेख छ। खेलाड़ी, प्रशासक तथा फोर्ब्समा सूचीकृत २९ अर्बपतिको पनि नाम पेपर्समा उल्लेख छ । भारतले ग्लोबल टास्क फोर्ससँग सहकार्य गरेर पनामा पेपर्सले सार्वजनिक गरेका दोषिमाथी अनुसन्धान गरिरहेको छ ।