काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष ०७३/०७४ मा नोक्सानमा गएको छ । गत आवमा कम्पनी ६ करोड १२ लाख ६९ हजार रुपैयाँ नोक्सानमा गएको छ । साढे ४ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको ऋण सकार्दा कम्पनी घाटामा गएको हो ।
सुनकोसी हाइड्रोपावर कम्पनी लिमिटेडको १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ ऋण दाइत्व सकारेपछि नेसनले निरन्तर नोक्सानमा सञ्चालन भइरहेको छ । अझै पनि १७ करोड बढी ऋण रहेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । “सुनकोसीको ऋण दाइत्व नसरेको भए यो वर्ष नाफामा थियौ” उनले भने “उसको दात्वले हामीलाई घाटा भएको छ ।” उनकाअनुसार कम्पनीले नविल बैंकलाई सुनकोसीको कर्जा भुत्तानी गरिरहेको छ ।
अघिल्लो आवमा कम्पनी ७ करोड ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानमा थियो । नोक्सानमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ४ रुपैयाँ ४२ पैसामा सिमित भएको छ । गत आवमा कम्पनीले ३ करोड ६१ लाख ८१ हजार ७९० युनिट बिजुली बिक्रीबाट १८ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो आवमा ३ करोड ४३ लाख ८७ हजार ६५० युनिट बिजुली बिक्री गरेर १६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले भविष्यमा आम्दानीको दायरा बढाउन भोजपुरमा रहेको १४.१५ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए । आयोजना बनाउन २ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजनाबाट वार्षिक ७ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने छ । बिजुली बिक्रीबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १७१ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।