काठमाडौं । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट भएको छ । साताको पहिलो दिन नेप्से ११ दशमलब ७८ अंकले घटेर १६१७ दशमलब ९७ अंकमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा ७९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको ४६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचका आधारमा होटल बाहेक सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३९ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, हाइड्रोपावर, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः २५, १५, १४ र १२ अंकले घटेका छन् । होटल समूहको परिसूचक भने सामान्य ४ अंकले उकालो लागेको छ ।
बजारमा सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्य करिब ९.९२ प्रतिशतले घटेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले पनि ९.१४ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।