नवलपरासी । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ । बाढीले करिब ७७ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

खाद्यान्न बालीमा ६७ करोड ८७ लाख रुपैयाँ, तरकारीमा चार करोड २६ लाख रुपैयाँ र माछामा पाँच करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताए । बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ ।
सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रतापपुरमा चार करोड २१ लाख ३३ हजाररुपैयाँ, पाल्हीनन्दनमा २५ करोड ९२ लाख ५४ हजार रुपैयाँ, विनयी त्रिवेणीमा ३४ लाख १० हजार रुपैयाँ, सुस्तामा २४ करोड एक लाख ७५ हजार रुपैयाँ बराबरको उपज क्षति भएको छ ।
यस्तै रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार रुपैयाँ, बर्दघाटमा ५८ लाख ४१ हजार रुपैयाँ र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको कृषि उपज क्षति भएको हो । रासस