काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि दोहोरो अंकले ओरालो लागेको छ । नेप्से १८ दशमलब ३३ अंकले ओरालो लागेर १५८० अंकमा झरेको छ ।
बिहीबार परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा ८४ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६० कम्पनीको १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४७ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादन र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले झरेका छन् ।
सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।
बजारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४४० रुपैयाँ रहेको छ । त्यस्तै, जनरल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ४.४८ प्रतिशत कमाएका छन् ।