काठमाडौं । मध्यान्न तीन बजेसम्ममा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि ३ स्थानमा विजयी हासिल गरेको छ । थप २९ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै प्रदेशसभामा एमालेले ७ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा माओवादी केन्द्रले १ स्थानमा विजयी हासिल गरेको छ भने १६ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभा सदस्यतर्फ माओवादीले ३ स्थानमा विजयी हासिल गरेको छ भने १७ स्थानमा अग्रता कायम गरेको छ ।

२०७० सालको निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसका लागि २०७४ सालको निर्वाचन परिणाम निकै पीढादाही देखिएको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभा तर्फ ३ स्थानमा मात्र अग्रता कायम गरेको छ । काठमाडौं १, १० र रसुवामा कांग्रेसको अग्रता रहेको छ । प्रदेश सभातर्फ नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेको छ भने ७ स्थानमा अग्रता कायम गरेको छ ।
अन्य दलले केन्द्रमा १ स्थानमा र प्रदेशमा २ स्थानमा अग्रस्थान लिएका छन् । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।
प्रारम्भिक नतिजाले वामपन्थी गठबन्धनको दुईतिहाइ मत आउने देखिएको छ भने प्रतिनिधिसभामा नेपाली कांग्रेसको उपस्थिति संख्यात्मक हिसावले निकै कमजोर रहने देखिएको छ ।