बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट पिडितहरुलाई राहत वितरण गर्न शिर्ष नेताहरु आफैं दौडधुप गरिरहेको छ ।
नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राहत वितरणमा जुटेको एक हप्ता नाघि सकेको छ भने अर्का बरिष्ठ नेता झलनाथ खनालले समेत राहत वितरण गरेका छन् ।
फोटोः नेताहरुको फेसबुकबाट
एमाओवादीका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राहत वितरणमा सक्रियता बढाएका छन् भने एमाओवादी कै बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि राजधानी तथा गोरखामा राहत वितरण गरेका छन् ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भूकम्प पिडितलाई साथ दिन भन्दै तनहुँ गएका छन् ।
नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले सरकार प्रमुखका रुपमा सोमबार सिन्धुपाल्चोक भ्रमण गरेका छन् ।
एमाले सचिव तथा युवा नेता योगेश भट्टराईले पनि गोंगबुमा राहत वितरण गरिरहेका छन् । काँग्रेस युवा नेता गगन थापाले राजधानीकै बिभिन्न स्थानमा राहत बाँढिरहेका छन् ।
तराई मधेश केन्द्रित राजनीतिक दलका नेताहरुले समेत राहत वितरणमा आफुलाई सक्रिय बनाएका छन् ।
उपेन्द्र यादव र हृदयेश त्रिपाठीले भूकम्प पिडितलाई राहत वितरण गरेका हुन् । भूकम्प पिडितलाई राहत वितरणमा खटिएका नेताहरुले आफ्नै प्रयासमा संकलित समाग्री वितरण गरिरहेका छन् ।
हप्ता अघि देखि माधव नेपाल

एमाले बरिष्ठ नेता एंव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्प पिडितको उद्धार तथा राहत वितरणमा एक हप्ता अघि देखि नै सक्रियता देखाउँदै आएका छन् । उनले बैशाख १४ गते बिहानै देखि राजधानीका बिभिन्न क्षेत्रको भ्रमण, पिडितसँग भेटघाट तथा राहत वितरण गर्दै आएका छन् । उनले आफ्नै पहलमा संकलित एक हजार बोरा चामल वितरण गरेका थिए । यसबिचमा उनले भुकम्पपछि पुनःनिर्माणका लागि बिभिन्न कुटनितिक नियोगका प्रमुखहरुसँग निरन्तर छलफल समेत गरिरहेका छन् ।
किर्तिपुर हुँदै सिन्धुपाल्चोकसम्म प्रचण्ड

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुरदेखि सिन्धुपाल्चोकसम्म पुगेर राहत वितरण गरेका छन् । किर्तिपुर प्रचण्डको निर्वाचन क्षेत्र पनि हो भने सिन्धुपाल्चोकमा उनी अग्नि सापकोटासँग राहत बाँढ्न गएका हुन् ।
झलनाथ र योगेशसँगसँगै

एमालेकै बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गोंगबु क्षेत्रका पिडितलाई राहत वितरण गरेका छन् । एमाले सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र समेत रहेको गोंगबुमा खनालले भट्टराईसँगै गएर राहत वितरण गरेका हुन् ।
गोरखामा बाबुराम

एमाओवादीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पबाट अति प्रभावित गृह जिल्ला गोरखामा राहत बाँढीरहेका छन् । उनले राहत वितरणमा दलगत र गुटगत प्रवृति नदेखाउन समेत आग्रह गरेका छन । उनले फेसबुकमा लेखेका छन्–‘मैले आफ्नो तथा पार्टीको पहलमा संकलित राहत सामाग्री प्रजिअको संयोजकत्वमा रहेको जिल्ला प्राकृतिक प्रकोप उद्धार समिति मार्फत नै पठाउँदै आएको छु र जेजति संकलित हुनेछ त्यही प्रक्रियाबाटै वितरण गर्नेछु !’
रामचन्द्रको तनहुँ अभियान

रामचन्द्र पौडेलले बैशाख २० गते आफ्नो फेसबुकमा यस्तो लेखेका छन्– म महाभुकम्प पछिको अवस्थाका वारेमा जानकारी लिन तथा राहात तथा उद्धार एवं पुननिर्माण कसरी गर्न सकिन्छ भन्ने कुराको जानकारी लिन आजवाट केही दिन तनहूँ लमजुङ्ग र गोर्खा रहनेछु । उनले तनहुँमा भूकम्प पिडितका लागि राहत वितरण गरिरहेका छन् भने पुनः निर्माणको खाकाबारे सकारोवाला निकायहरुसँग छलफल समेत गरिरहेका छन ।
दौडमा मधेशी नेता पनि

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शनिबार भक्तपुर क्षेत्रका भूकम्प पिडितलाई राहत बाँढेका छन् ।
त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि शनिबारै गोरखा पुगेर राहत वितरण गरेका छन् ।
