सफल विद्यार्थी : कसरी बनाउने उज्जवल भविष्य ?
एसईई वा कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विद्यार्थी र अभिभावकमा सुरु हुने सबैभन्दा ठूलो अन्यौल छ- कुन विषय पढ्ने र कुन कलेज रोज्ने ? यो निर्णयले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले यसको महत्त्व पनि उत्तिकै ठूलो हुन्छ । अझ केही विद्यार्थीका लागि स्वदेशमै अध्ययन गर्ने वा विदेश जाने भन्ने दुविधा पनि थपिन्छ । तर, पछिल्लो समय विषय र शैक्षिक संस्था छनोट गर्ने प्रवृत्ति हेर्दा एउटा चिन्ताजनक अवस्था देखिन्छ । विद्यार्थीले आफू को हुँ, मेरो रुचि के हो, म कुन विषयमा सक्षम छु भन्नेभन्दा पनि साथीभाइ, आफन्त वा समाजले के रोजिरहेका छन् भन्ने कुरालाई बढी महत्त्व दिन थालेका छन् । मानौं, आफ्नो सपना होइन, अरूको रोजाइ नै आफ्नो गन्तव्य बनेको छ । आजभोलि धेरै विद्यार्थी साथीले विज्ञान पढ्यो भनेर विज्ञान पढ्न खोज्छन्, कसैले व्यवस्थापन रोज्यो भने त्यही विषयतर्फ आकर्षित हुन्छन् । अभिभावकहरू पनि छिमेकीको छोराछोरीले कुन कलेजमा भर्ना भए, कुन विषय लिए भनेर त्यसकै सिको गर्न व्यस्त देखिन्छन् । विद्यार्थीको क्षमता, रुचि र सम्भावनाभन्दा बजारको हल्ला र भीडको प्रभाव हाबी हुन थालेको छ । वास्तवमा विद्यार्थीले आफूलाई सबैभन्दा पहिले चिन्नुपर्छ । मलाई कुन विषय पढ्न मन पर्छ ? कुन विषयमा मेरो क्षमता राम्रो छ ? कुन क्षेत्रमा काम गर्दा म सफल मात्र होइन, खुसी पनि हुन सक्छु ? यस्ता प्रश्नको उत्तर खोजेर मात्र विषय र कलेज छनोट गर्नुपर्छ । किनकि सफलता केवल धेरैले रोजेको बाटोमा हिँडेर प्राप्त हुँदैन, आफूले विश्वास गरेको बाटोमा निरन्तर अघि बढ्दा प्राप्त हुन्छ । केही महिनाअघि एसईईको नतिजा सार्वजनिक हुँदा धेरै विद्यार्थीले भीड पछ्याएर विषय र कलेज छनोट गरे । अब फेरि कक्षा १२ को नतिजा सार्वजनिक हुने तयारीमा छ । यो समयमा पनि त्यही पुरानै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ । तर भविष्य निर्माण गर्ने बेला भीडको पछि दगुर्नुभन्दा आफ्नो रुचि, क्षमता र लक्ष्यलाई केन्द्रमा राखेर निर्णय लिनु नै बुद्धिमानी हुन्छ । अरूको सपनालाई पछ्याएर आफ्नो भविष्य निर्माण गर्न सकिँदैन । आफ्नो परिचय, आफ्नो क्षमता र आफ्नो चाहनाअनुसार अघि बढ्ने विद्यार्थी नै अन्ततः सफल र सन्तुष्ट जीवन बाँच्न सक्षम हुन्छन् । विषय र कलेज छनोट गर्दा बजारको हल्ला होइन, आफ्नै मनको आवाज सुनौं । भीडको पछि होइन, आफ्नै सपनाको पछि दगुरौं । तपाईं बिकाउ सामान होइन जीवनमा सफल हुनका लागि केवल ज्ञान भएर मात्र पुग्दैन, त्यो ज्ञानलाई व्यवहारमा उतार्न सक्ने क्षमता पनि आवश्यक हुन्छ । आजभोलि धेरै विद्यार्थी र युवाहरू बजारमा के बिकिरहेको छ, कुन विषयको माग छ, अरूले के पढिरहेका छन् भन्ने कुराको पछि दौडिरहेका छन् । तर, एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन, तपाईं बिकाउ सामान होइन । बजारमा कुन कुरा बिक्छ भनेर बजारको पछि कुद्ने होइन, आफ्नो रुचि, क्षमता र प्यासनलाई पछ्याउने हो । यदि तपाईंले आफ्नो ज्ञान, सीप र प्यासनमा इमान्दारीपूर्वक काम गर्नुभयो भने एक दिन बजार आफै तपाईंको पछि दौडिनेछ । यही कुरा जीवनको मन्त्र बनाउन आवश्यक छ। अर्को महत्त्वपूर्ण कुरा, साथीभाइको पछि अन्धाधुन्ध दौडिनु पनि बुद्धिमानी होइन । आफू को हुँ, मलाई के गर्न मन पर्छ र म कुन क्षेत्रमा उत्कृष्ट हुन सक्छु भन्ने प्रश्नको उत्तर खोज्नु नै सही निर्णयको आधार हो । शिक्षक, साथीभाइ र आफन्त सबैका सुझाव सुन्नुपर्छ । उनीहरूका अनुभव र सल्लाह महत्त्वपूर्ण हुन्छन् । तर अन्तिम निर्णय भने आफ्नै हुनुपर्छ । किनभने जीवन तपाईंको हो, त्यसको जिम्मेवारी पनि तपाईंकै हो । विद्यार्थी आफैंमा चेतना जाग्नुपर्छ, अरू कसैको बुद्धिले उसको भविष्य बनाउन सक्दैन । सबैभन्दा पहिले आफूलाई सोध्नुहोस्, मलाई कुन काम गर्न सबैभन्दा धेरै मन पर्छ ? कुन काम गर्दा थकान महसुस हुँदैन ? कुन क्षेत्रमा काम गर्दा म खुसी हुन्छु ? यिनै प्रश्नको उत्तरमा तपाईंको भविष्य लुकेको हुन्छ । कसैलाई खुसी बनाउनका लागि पढ्ने वा करियर रोज्ने गल्ती नगर्नुस् । बरु आफू खुसी भएर पढ्नुस्, आफूलाई सन्तुष्टि दिने क्षेत्रमा अघि बढ्नुस् । किनकि अरूलाई खुसी पार्न खोजेर बिताएको जीवनभन्दा आफूले मन पराएको काम गर्दै बिताएको जीवन धेरै अर्थपूर्ण हुन्छ । अध्ययन भनेको केवल किताब घोक्ने प्रक्रिया पनि होइन, वास्तविक शिक्षा भनेको सिकेको कुरालाई प्रश्न गर्ने, त्यसलाई व्यवहारमा उतार्ने र अनुभवबाट थप सिक्ने प्रक्रिया हो । शिक्षकले पढाएको कुरा अन्धाधुन्ध स्वीकार गर्ने होइन, त्यसलाई बुझ्ने, जाँच्ने र प्रयोग गर्ने प्रयास गर्नुपर्छ । जुन ज्ञान व्यवहारमा प्रयोग गर्न सकिँदैन, त्यसले जीवनमा धेरै अर्थ राख्दैन । हाम्रा विद्यार्थीले चिन्ने भनेको फेसबुक हो संसारका धेरै महान् चिन्तक, दार्शनिक र प्रेरणादायी व्यक्तित्वहरूले आफ्ना अनुभव र विचार पुस्तकमार्फत मानव समाजलाई दिएका छन् । ती पुस्तकहरू पढेर लाखौं मानिसले आफूलाई चिन्ने, आफ्नो उद्देश्य खोज्ने र जीवनलाई नयाँ ढंगले बुझ्ने प्रयास गरेका छन् । तर विडम्बना नेपालका धेरै विद्यार्थी यस्ता पुस्तक र विचारसँग परिचित छैनन् । उनीहरूको ज्ञानको मुख्य स्रोत सामाजिक सञ्जाल, विशेषगरी फेसबुक बन्न पुगेको छ । ज्ञानको गहिराइभन्दा सतही सूचनाले स्थान लिएको छ । विचारभन्दा भाइरल सामग्री महत्त्वपूर्ण ठानिन थालेको छ । विद्यार्थीहरू पुस्तकभन्दा पोस्ट, अनुसन्धानभन्दा रिल्स र अध्ययनभन्दा स्क्रोलिङमा बढी समय बिताउन थालेका छन् । प्रविधिको विकाससँगै संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । कृत्रिम बौद्धिकता (एआई) ले धेरै काम सहज बनाइरहेको छ । तर प्रविधिको चमकमा मात्रै मोहित भएर पुग्दैन । मानिसलाई अन्ततः फरक बनाउने कुरा उसको चेतना, ध्यान र आत्मबोध हो । प्रविधिले सुविधा दिन सक्छ, तर आत्मशान्ति र जीवनको अर्थ भने मानिसले आफै खोज्नुपर्छ । हाम्रा पूर्वीय ज्ञान परम्पराले ध्यान र आत्मचिन्तनलाई विशेष महत्त्व दिएको छ । सरस्वतीलाई ज्ञानकी देवी मानिन्छ र वास्तविक ज्ञान केवल बाह्य सूचनामा होइन, आत्मबोध र चेतनामा पनि निहित हुन्छ । ध्यान भनेको मानिसले आफैसँग भेट गर्ने प्रक्रिया हो । यही प्रक्रियामा व्यक्तिले आफ्नो शक्ति, ऊर्जा र सम्भावनालाई महसुस गर्न सक्छ । आज ध्यान गर्ने विधि सिक्नका लागि धेरै स्रोत उपलब्ध छन् । युट्युबदेखि विभिन्न पुस्तक र प्रशिक्षणसम्म पहुँच सहज छ । नियमित ध्यान र आत्मचिन्तनले व्यक्तिलाई मानसिक रूपमा सन्तुलित, संयमी र सकारात्मक बनाउन सहयोग पुर्याउँछ । यसले तनाव व्यवस्थापन, आत्मविश्वास र भावनात्मक सन्तुलनमा सकारात्मक प्रभाव पार्न सक्छ। जब मानिसले आफूलाई चिन्ने प्रयास गर्छ, तब ऊ अरूलाई धोका दिन, ठग्न वा गलत बाटो रोज्नुभन्दा आफ्नै क्षमता र श्रममा विश्वास गर्न सिक्छ । आत्मज्ञानले मानिसलाई जिम्मेवार, इमानदार र आत्मनिर्भर बन्न प्रेरित गर्छ । यसैले, केवल एआईको उपकरण वा सामाजिक सञ्जालको चमकमा मोहित हुने होइन, आफ्नो भित्री शक्तिलाई पनि चिन्न आवश्यक छ । फेसबुकको ज्ञानले सूचना दिन सक्छ, तर आत्मचिन्तन र ध्यानले जीवनलाई दिशा दिन सक्छ । भविष्य केवल प्रविधिले होइन, चेतनाले पनि निर्माण गर्नेछ । हामीले बाहिरी संसार बुझ्नुअघि आफूलाई बुझ्न सिक्नुपर्छ । किनकि आफूलाई चिनेको मानिसभन्दा बलियो व्यक्ति संसारमा सायदै अर्को कोही हुन्छ । ध्यानमा ध्यान दिँदै शैक्षिक संस्था घरबाट बाहिर निस्कँदा आमाबुवाले सधैं सम्झाउँछन्, ‘बाबु, बाटोमा ध्यान दिएर हिँड है, गाडीमा ध्यान दिएर चढ है ।’ तर एउटा रोचक प्रश्न उठ्छ हामीलाई ध्यान दिनुपर्छ भन्ने त सिकाइयो, तर ध्यान कसरी दिने भन्ने चाहिँ कहिले सिकाइएन । समाजमा ध्यानको माग त धेरै छ, तर त्यसको अभ्यास र शिक्षाको आपूर्ति भने निकै कम छ । मानिसहरू एकाग्रता, शान्ति र सफलताको खोजीमा छन्, तर ती कुराको आधार तयार गर्ने ध्यान र आत्मचिन्तनलाई भने शिक्षा प्रणालीले लामो समयसम्म प्राथमिकतामा राख्न सकेन । अहिलेको मानिस धनसम्पत्तिको पछि दौडिरहेको छन् । सफलता, पद र प्रतिष्ठालाई समात्न दिनरात संघर्ष गरिरहेको छन । तर भविष्यको संसारमा केवल धनको होइन, चेतना, सिर्जनशीलता र मानसिक सन्तुलनको मूल्य अझ बढ्ने धेरै चिन्तकहरूको विश्वास छ । सफलता पछ्याएर मात्र सफलता प्राप्त हुँदैन, बरु आफूलाई तयार गर्ने व्यक्तिको खोजीमा अवसर आफै आउने वातावरण बन्न सक्छ । नेपालको बाहिरी पहिचान ढाका टोपी, सगरमाथा र विविध संस्कृतिले बनेको छ भने भित्री पहिचान पूर्वीय दर्शन, ज्ञान र ध्यानको परम्पराले निर्माण गरेको छ । मानिसको चेतना र अवचेतन मनमा अपार सम्भावना लुकेको हुन्छ । त्यही सम्भावनालाई जागृत गर्ने माध्यम मध्ये ध्यान पनि एक महत्वपूर्ण साधन मानिन्छ । आजको पुस्ताले दुईटा शक्तिशाली उपकरणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । पहिलो सूचना प्रविधि र दोस्रो आध्यात्मिक चेतना । सूचना प्रविधिले मानिसको बाहिरी संसारलाई परिवर्तन गरिरहेको छ भने ध्यान, योग र आत्मचिन्तनले भित्री संसारलाई सन्तुलित बनाउन मद्दत पुर्याउँछ । एउटा प्रविधिले सीप दिन्छ, अर्कोले शान्ति र आत्मबोध । मौनलाई संसारका धेरै दार्शनिकहरूले शक्तिशाली माध्यमका रूपमा व्याख्या गरेका छन् । निरन्तर सूचनाको भीड र हल्लाबीच केही समय मौन बस्न सक्नु, आफ्नै विचारसँग संवाद गर्न सक्नु र आफूलाई बुझ्न सक्नु पनि एउटा महत्त्वपूर्ण क्षमता हो । ध्यान र मानसिक स्वास्थ्यबीचको सम्बन्धलाई अहिले विश्वभर गम्भीर रूपमा हेरिन थालिएको छ। विद्यार्थीमा बढ्दो तनाव, प्रतिस्पर्धा र मानसिक दबाबका बीच ध्यान, योग र आत्मचिन्तनको अभ्यासले सकारात्मक प्रभाव पार्न सक्ने विश्वास बढ्दै गएको छ । सायद यही कारणले धेरै शैक्षिक संस्थाले अब केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, समग्र व्यक्तित्व विकासलाई पनि जोड दिन थालेका छन्। मोटिभेसनल स्पिच, योग, ध्यान, माइन्डफुलनेस र जीवनोपयोगी शिक्षालाई विद्यालय तथा कलेजको वातावरणसँग जोड्ने प्रयासहरू बढ्न थालेका छन् । (शिक्षाविद् एवं जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्माको विचार)