यी हुन् बजारमा ग्राहकको मन जितिरहेका ५ ईभी ब्राण्ड
काठमाडौं । पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि स्मार्ट विकल्प बनिरहेका छन् । अटो व्यवसायीहरूका अनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा ईभीले ओगेटेको छ । साथै धेरैजसो चिनियाँ र भारतीय कम्पनीका गाडीहरू रहेका उनीहरू बताउँछन् । सरकारले पनि ईभी सवारीसाधनमा सहज नीति गरेकाले व्यवसायीहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गइरहेको छ । बजारमा विभिन्न ब्राण्डका ईभी भएपनि बीवाईडी, टाटा, दीपल, ओमोडा र नामीजस्ता ब्राण्डको वर्चस्व रहेको व्यवसायीहरु बताउँछन् । बीवाईडी नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले सन् २०१७ मा नेपाली बजारमा ईभी गाडी ल्याएको थियो । छोटो समयमै बीवाईडीले इभीको बजारमा आफ्नो बलियो वर्चस्व कायम गर्न सफल भएको छ । सुरुवाती चरणमा केही मोडलहरू भित्राएर बजार परीक्षण गरेको उक्त कम्पनीको लोकप्रियता बढ्दै गइरहेको छ । नेपालमा विद्युतीय सवारी साधन इभीको बजारमा अग्रणी भूमिका खेलिरहेको बीवाइडीले हाल आफ्नो बिक्रीमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ । कम्पनीले हाल एटो वान, एटो टु, एटो थ्री डल्फिन, सिलायन सेभनलगायतका विभिन्न मोडेलहरु बिक्री गर्दै आइरहेको छ । बीवाईडी ई सिक्स र डल्फिन कम्पनीको सुरुवाती मुख्य मोडल हुन् । टप सेलिङ प्रोडक्ट एटो थ्री सन् २०२३ मा नेपालमा लन्च भएको थियो । यो नेपाली सडकमा सर्वाधिक देखिने बीवाईडी मोडलहरूमध्ये एक हो । यसको आकर्षक डिजाइन, उत्कृष्ट रेन्ज, ब्लेड ब्याट्रीको सुरक्षा र प्रतिस्पर्धी मूल्यले नेपाली उपभोक्ताको मन जित्न सफल भएको कम्पनीले जनाएको छ । एटो थ्रीको आगमनसँगै नेपाली बजारमा बीवाइडी ईभी क्रेज ह्वात्तै बढेको हो । जुन हालसम्म ५ हजारभन्दा बढी बिक्री भइसकेको छ । पछिल्लो समय भने एटो थ्री भन्दा पनि एटो टु सर्वाधिक लोकप्रिय मोडल बनेको छ । कम्पनीका अनुसार यसको बिक्री निकै राम्रो भइरहेको छ । हालसम्म एटो टु का करिब ५०० युनिट बिक्री भइसकेको कम्पनीका सेल्स सन्ध्या श्रेष्ठले जानकारी दिइन् । यो गाडी गत भदौ नाडा अटो शोमा लन्च गरिएको थियो । एटो टुमा मुख्य २०० मिमिको ग्राउन्ड क्लिअरेन्स, बीवाइडीको ब्लेड ब्याट्री टेक्नोलोजी, भेन्टिलेटेड सिट, र ३६० डिग्री क्यामेरा जस्ता आकर्षक विशेषताहरू रहेका छन् । यसको मूल्य ४३ लाख ९९ हजार तोकिएको थियो । कम्पनीका अनुसार एटो टु व्यावहारिक उत्कृष्ट ग्राउन्ड क्लिअरेन्स, राम्रो रेन्ज र किफायती मूल्यमा उपलब्ध भएकाले अहिलेको समयमा भ्यालु फर मनी गाडीका रूपमा स्थापित भएको छ । यसैगरी, एटो वान नाइमा एक्स्पोमा लन्स गरिएको थियो । एटो टु पछि ग्राहकहरुले धेरै रुचाएको मोडल एटो वान हो । यो मोडल करिब ३५० युनिट बिक्री भइसकेको श्रेष्ठले बताइन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो मोडल अत्यधिक लोकप्रिय छ । यसलाई वल्र्ड कार अफ द इअर २०२५ का लागि सशक्त दावेदार मानिएको छ भने इन्ट्रोडक्टरी सेग्मेन्टमा विश्वभरि नै यसको उच्च माग रहेको बताइएको छ । दशैंको समयमा एटो वान र एटो टु को माग निकै उच्च रहेको थियो । तर, दशैंपछिको अवस्थामा गाडीको पर्याप्त स्टक नहुँदा कम्पनीलाई केही चुनौती भइरहेको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार तत्कालै कुनै नयाँ विद्युतीय मोडल ल्याउने योजना नभए पनि बीवाइडीले नेपाली बजारमा आफ्नो प्लग–इन हाइब्रिड शार्क सिक्स भित्राउने तयारी गरिरहेको छ । यो हाइब्रिड गाडीले नेपाली ग्राहकहरूका लागि विद्युतीय र परम्परागत इन्धनको मिश्रणबाट चल्ने नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ । बीवाइडीका नेपालमा प्रिमियम मोडलहरू उपलब्ध छन् । सुरुवाती लगानी केही महँगो देखिए पनि दीर्घकालीन रूपमा इन्धन र मर्मत खर्चको बचतले यसलाई निकै किफायती बनाएको छ । हाल काठमाडौं, पोखरा, बुटवल, विराटनगर लगायतका प्रमुख सहरहरूमा बीवाइडीका गाडीहरू बाक्लै देखिन थालेका छन् । प्रयोगकर्ताको सहजताका लागि कम्पनीले दर्जनौं चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ भने ग्राहक सेवा सञ्जालमा पनि लगानी बढाइरहेको छ । टाटा नेपालको अटो बजारमा बलियो उपस्थिति जनाइरहेको टाटा मोटर्सले पनि ईभी सेग्मेन्टमा उल्लेखनीय प्रगति गरिरहेको छ । सिप्रदीले सुरुमा नेपालमा टाटाको नेक्सन ईभी भित्राएको थियो । जुन गाडी निकै रुचाइयो र बिक्री पनि निकै राम्रो भएको कम्पनीले जनाएको छ । यद्यपि उक्त गाडीको उत्पादन भने रोकिएको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार नेपालमा उपलब्ध टाटाका ४ चार ईभी मोडलमध्ये पन्च इभी हालसम्मकै सर्वाधिक सफल मोडल बनेको छ । जसको १ हजार १०० भन्दा बढी युनिट बिक्री भइसकेका छन् । अटो बजारमा नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको जनाएको छ । सिप्रदीको टाटा पन्च इभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध छ । प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च इभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ । कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ । यसैबीच टाटाले आफ्नो नयाँ एसयूभी सिएरा इभीलाई सन् २०२६ सम्ममा नेपाली बजारमा ल्याउने योजना बनाइरहेको छ । टाटा मोटर्सकी मार्केटिङ हेड अभिरुची गिरीका अनुसार पन्च इभी गत वर्षको नाडा अटो शो (२०२४) मा लन्च भएको थियो । यसले छोटो समयमै उपभोक्तामाझ राम्रो पकड जमाउँदै कम्पनीको सबैभन्दा राम्रो बिक्री हुने मोडल बनेको छ । ‘हामीले १ हजार १ सयभन्दा बढी युनिट बेचिसकेका छौं । पन्च इभी विशेषगरी एसयूभीको अनुभव र बजेटमैत्री विकल्प खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट छनोट भएको छ,’ उनले भनिन् । सन् २०२३ को नाडा अटो शोबाट सुरु भएको टियागो ईभी ह्याचब्याक सेगमेन्टमा बजेटमैत्री विकल्पको रूपमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ । त्यस्तै, नेक्सन के थ्री र कर्भ इभी गत वर्षको फेब्रुअरीदेखि बजारमा आएका हुन् । नेक्सन के थ्री अपग्रेडेड भर्जनमा राम्रो ब्याट्री र धेरै रेन्जका साथ आएको छ । जसले ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गरिरहेको कम्पनीले दाबी गरेको छ । कर्भ इभी भने केही सीमित र विशेष ग्राहकहरूलाई लक्षित गरिएको छ । जसले एसयूभी कुपेको प्रिमियम अनुभव खोज्छन् । मार्केटिङ हेड गिरीले भनिन्, ‘भारतमा भर्खरै सिएरा लन्च भएको छ । जसमा सुरुमा आईसी भर्जन आएको छ । तर नेपालमा २०२६ भित्रमा सिएरा ईभी आउने सम्भावना छ ।’ यो नयाँ मोडलले नेपाली इभी बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । देशभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनको संख्या पनि बढ्दै गएको छ । टाटा मोटर्ससँग हाल १८५ भन्दा बढी फास्ट चार्जरहरू (एसी र डीसी दुवै) उपलब्ध छन् । ओमोडा एण्ड जेको अहिले ग्राहकले रुचाएको उत्कृष्ट ईभी ब्राण्डमध्ये ओमोडा एण्ड जेको ब्राण्ड पनि एक बनेको छ । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी यसको पछिल्लो मोडल ओमोडा जेको जे फाइभले उपभोक्ताहरूको मन जितेको छ । बजारमा यसको माग उच्च देखिएको छ । कम्पनीका अनुसार नेपालको रेन्ज रोभर उपमा पाएको यो गाडीका सबै युनिटहरू बिक्री भइसकेका छन् । ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स हो । कम्पनीका मार्केटिङ रुपेश श्रेष्ठका अनुसार ओमोडाले नेपालमा आफ्नो ईभी यात्रा दुई वर्षअघि सुरु गरेको थियो । त्यसपछि जे सिक्स तथा हालै नाइमा एक्स्पोमा लन्च गरिएको जे ५ लगायतका मोडलहरू बजारमा छन् । यो दुई वर्षको अवधिमा ओमोडाका १ हजार ५०० भन्दा बढी युनिट बिक्री भइसकेका छन् । ओमोडा जेको जे फाइभको सफलताको मुख्य कारण यसको लुक्स र आकर्षक डिजाइन नै रहेको कम्पनीको भनाइ छ । गाडीमा उपलब्ध अत्याधुनिक एड्यास जस्ता सुरक्षा फिचर्सहरू, उत्कृष्ट रेन्ज र अन्य विशेषताहरूले पनि उपभोक्तालाई आकर्षित गरेको छ । हाल ओमोडा जेको जे फाइभको एमआरपी ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको छ । यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली इभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ । एसपीजी शारदा ग्रुप अन्तर्गतको ब्रान्ड हो । ग्रुपले ओमोडा बाहेक चेरी ब्रान्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्रान्ड जिकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ। विद्युतीय सवारी साधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ । हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् । यस आर्थिक वर्षभित्र शारदा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । नामी डोङफेङ नामी ईभीको लोकप्रियता नेपालमा बढ्दो छ । यसको आधिकारिक वितरक एमएडब्लू वृद्धि हो । पछिल्लो समय नामी ब्राण्डका दुई प्रमुख मोडल नामी बक्स र भिगोले बजार हिस्सा ओगट्न सफल भएका छन् । कम्पनीका अनुसार नामी बक्सका १ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नामीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पन्तका अनुसार नामी बक्स एक वर्षभन्दा अगाडि नै लन्च भएको हो भने भिगो हालसालै बजारमा आएको हो । दुवै मोडलले ग्राहकहरूको मन जित्न सफल भएका छन् । ‘दुवै मोडलले अहिले मोमेन्टम गेन गरिरहेका छन् । आ–आफ्नै सेग्मेन्टमा राम्रै छन् । बजार दुवैको समान छ । नामी बक्स एसयुभी सेग्मेन्टमा पर्छ भने नामी भिगो ह्याचब्याक सेग्मेन्टमा । दुवैले ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छन्,’ पन्तले विकासन्युसँग भने । कम्पनीले सन् २०२६ मा नयाँ मोडलहरू ल्याउने योजना बनाएको छ । नामीले देशभर चार्जिङ स्टेशनको विस्तारमा पनि जोड दिएको छ । हाल नेपालभर १४० भन्दा बढी नामीका चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् । यसले ईभी प्रयोगकर्ताहरूलाई चार्जिङको सुविधा पुर्याएको छ । पन्तले हालै लन्च भएका मोडलहरू नै यो वर्षका लागि पर्याप्त रहेको बताए । उनले तत्कालै नयाँ मोडल ल्याउने योजना नरहेको र सन् २०२६ मा मात्र नयाँ मोडलहरू बजारमा ल्याउने बताए । ‘२०२६ मा नयाँ मोडलहरू आउँछन्, अहिले तत्काल आउँदैनन्,’उनले थपे । दीपल एमएडब्लू वृद्धि मोर्टसको दिपल ब्राण्डले पनि हालसम्म १३ सयदेखि १४ सयको हाराहारीमा गाडी नेपालमा भित्राइसकेको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध दुई मोडलमध्ये हालै सार्वजनिक गरिएको एस जिरो सेभेनले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ भने एस जिरो फाइभको बिक्री पनि राम्रो भइरहेको छ । कम्पनीका मार्केटिङ हेड रमेश दनेखुका अनुसार दिपलको पहिलो उत्पादन एस जिरो फाइभ हालसम्म करिब १००० वटा बिक्री भइसकेको छ । सन् २०२३ को अप्रिलमा नेपालमा सार्वजनिक भएको यो मोडलले राम्रो बजार हिस्सा ओगटेको उनले बताए । ‘एस जिरो फाइभको माग बजारमा अत्यधिक रहेको छ,’ दनेखुले भने, ‘नाडामा लन्च भएको एस जिरो सेभेनको डिमान्ड बड्दो छ ।’ दनेखुका अनुसार उच्च मागका कारण गाडीको स्टक अभाव हुँदा ग्राहकलाई समयमै उपलब्ध गराउन नसकिएको हो । हालसम्म यो मोडल २६० देखि २७० वटा बिक्री भइसकेको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै दिपलले देशैभरि १४० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । कम्पनीले बिक्री गर्ने सबै गाडीहरू पूर्ण रूपमा ब्याट्रीबाट चल्ने (फुल ईभी) हुन् र यसमा गोल्डेन सेल ब्याट्री प्रविधि प्रयोग गरिएको दनेखुले जानकारी दिए । तत्काल नयाँ मोडल ल्याउने योजना नभए पनि अबको चार–पाँच महिनापछि एउटा सानो गाडी ल्याउने तयारी भइरहेको उनले बताए । हाल कम्पनी आफ्नो बिक्री र ग्राहक सेवालाई नै प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ छ । एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको दाबी गरेको छ । यी दुवै मोडल चीनको चांगान सब ब्राण्ड दीपल अटो मोबाइलले उत्पादन गरेको हो ।
दिपल एस ०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ
काठमाडौं । दिपलको पर्फेक्ट एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस ०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । यी नतिजाले दिपल एस ०५ लाई नवीनतम र कडा युरो एनक्याप मापदण्ड अन्तर्गतको परीक्षण उत्कृष्ट एसयुभीका रूपमा आफूलाई उभ्याएको छ । युरो एनक्याप रेटिङले दिपल एस ०५ को मजबुत भेहिकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको छ । नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यस एसयुभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्तामा लोकप्रियता हासिल गरेको थियो । नाडा अटो सो २०२५ मा यसले ग्राहकहरुको विशेष ध्यान आकर्षित गरेको थियो । यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किंग, एआर एचयुडी, आउटडोर स्पिकरसहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्विनको पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता फिचर छन् । यसमा प्रयोग गरिएको गोल्डेन शिल्ड ब्याट्री सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ ।
HP लुब्रिकेन्ट्स: नेपालमा 'मेड इन नेपाल' को शक्ति—स्वचालित प्लान्टले बदल्यो इन्जिनको भविष्य!
HP लुब्रिकेन्ट्स नेपाल, विश्वको विश्वसनीय कम्पनी एचपीसीएलको प्राविधिक मार्गनिर्देशनमा, गुणस्तर, दक्षता र दीर्घकालीन विश्वासको जगमा प्रगतिको नयाँ चरणमा प्रवेश गरेको छ। यो यात्राको सबैभन्दा ठूलो उपलब्धि भनेको नेपालको पहिलो अत्याधुनिक स्वचालित लुब्रिकेन्ट प्लान्टको सफल स्थापना हो। यो स्वचालित प्रविधिले ब्लेन्डिङ, फिलिङ र प्याकेजिङ प्रक्रियामा उच्च सटीकता सुनिश्चित गर्छ, जसले गर्दा प्रत्येक ब्याचमा विश्वस्तरीय गुणस्तर कायम रहन्छ। स्थानीय उत्पादन सुरु भएसँगै, आयातमा निर्भरता घटेको छ, ग्राहकको मागमा छिटो प्रतिक्रिया दिन सकिने भएको छ, र देशको औद्योगिक विकासमा पनि ठूलो सहयोग पुगेको छ। नेपालमा यसको अधिकृत वितरक MAW PETRO PRODUCTS PVT.LTD. ले देशभर उत्पादनको पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्दै आएको छ। नेपालमै उत्पादन सुरु भएपछि बजारमा लुब्रिकेन्टको उपलब्धतामा उल्लेख्य सुधार आएको छ। ग्राहकहरूले अब छिटो सप्लाइ, कम प्रतीक्षा समय र माग धेरै भएको बेला पनि स्थिर स्टक को लाभ उठाइरहेका छन्। यो विश्वसनीयता विशेष गरी वर्कसप, यातायात व्यवसायी र औद्योगिक प्रयोगकर्ताहरूको लागि अत्यन्तै महत्त्वपूर्ण छ, जसलाई समयमै लुब्रिकेन्ट उपलब्ध हुनु अत्यावश्यक हुन्छ। स्थानीय उत्पादनका कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गुणस्तर निरन्तर समान रहन्छ, जसले ग्राहकको विश्वासलाई अझ मजबुत बनाएको छ। स्थानीय उत्पादनको अर्को मुख्य फाइदा भनेको विविध प्याक-साइजहरू को उपलब्धता हो। HP लुब्रिकेन्ट्स नेपालले साना गाडीहरूका लागि साना प्याकदेखि औद्योगिक र व्यावसायिक प्रयोगका लागि ठूला प्याकसम्म सबै विकल्पहरू उपलब्ध गराएको छ। यो सुविधा विशेषगरी दुर्गम क्षेत्रका ग्राहकहरूका लागि वरदान साबित भएको छ, जहाँ साना, सजिलै बोक्न मिल्ने प्याकहरूको माग बढी हुन्छ। यसरी, HP लुब्रिकेन्ट्स नेपालले सबैका लागि, सबै ठाउँमा गुणस्तरीय लुब्रिकेन्ट पुर्याउन सफल भएको छ। HP लुब्रिकेन्ट्स NPL 2025 को आधिकारिक लुब्रिकेन्ट पार्टनर बनेर खेलकुदसँगको आफ्नो सम्बन्धलाई झनै बलियो बनाएको छ। यो साझेदारीले सहनशीलता, ऊर्जा र निरन्तरता मा ब्रान्डको विश्वास झल्काउँछ—जुन गुणहरू गाडीको इन्जिनको प्रदर्शन र खेल भावना दुवैमा आवश्यक हुन्छन्। “RUN होस् या KM, पर्फर्मेन्स ग्यारेन्टिड” भन्ने ट्यागलाइनमार्फत HP लुब्रिकेन्ट्सले खेल मैदानमा होस् वा गाडीको इन्जिनभित्र, दुवैमा उत्तिकै भरपर्दो प्रदर्शन दिने आफ्नो अटल वाचा स्पष्ट पारेको छ। HPCL को विशेषज्ञता र देशकै पहिलो स्वचालित प्लान्टको क्षमताका साथ, HP लुब्रिकेन्ट्स नेपाल आधुनिक र भरपर्दो लुब्रिकेन्टको बढ्दो माग पूरा गर्नका लागि पूर्ण रूपमा तयार छ । (एडभोटोरिएल कन्टेन्ट)