जोशीले बनाए ८० हजारमै विद्युतीय मोटरसाइकल, प्रतिघण्टा ४५ किलोमिटर गति

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन् ।  मोटरसाइकल निर्माणमा सफलता पाउनमा सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनालका साथै घरपरिवारबाट प्रेरणा मिलेको उनले बताए ।  कवाडीको सामानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च ८० हजार रुपैयाँ रहेको लागेको जोशीले जानकारी दिए ।  ‘यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्न सकिन्छ । अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोकनका क्रममा पनि आफूलाई सिक्ने प्रेरणा जागेको थियो,’ उनले भने ।  मोटरसाइकल निर्माणमा फलामे कवाडी समान, ब्याट्री, कन्ट्रोलर, मोटर लगायतको प्रयोग गरिएको छ । प्रयोग भएको ब्याट्री, कन्ट्रोलर र मोटर काठमाडौंबाट मगाइएको थियो ।  धनगढी उपमहानगरपालिका-१३ राजपुर निवासी जोशीले भने, ‘अध्ययन सँगसँगै आफ्नो क्षमतालाई बाहिर ल्याउने प्रयास गर्दा सफलता मिल्यो, यो मोटरसाइकल एकपटक रिचार्ज गरेमा प्रतिघण्टा ४५ किलोमिटरको गतिमा ८० किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ ।’ छोराले मोटरसाइकल बनाएर प्रतिभा देखाएको भन्दै आफू हर्षित भएको उनका बुबा दुर्गा जोशीले बताए । कक्षा १२ मा अध्ययनरत जोशीलाई विद्यालयले छात्रवृत्तिसमेत प्रदान गरेको छ ।

यमाहा नेपालको ‘नाउ आई एम ७१.३३ केएमपीएल’ अभियान सार्वजनिक

काठमाडौं । इन्धनको मूल्य उच्च बिन्दुमा पुगिरहेको अवस्थामा यमाहा नेपालले 'नाउ आई एम ७१.३३ केएमपीएल' अभियान सार्वजनिक गरेको छ । नेपालमा हाइब्रिड प्रविधिको सफल प्रयोग र स्थापनाको उत्सवका रूपमा उक्त अभियान ल्याइएको कम्पनीले जनाएको छ । नेपालकै एकमात्र हाइब्रिड इन्जिनयुक्त स्कुटरका रूपमा परिचित यमाहा रेजेटआर १२५ एफआई हाइब्रिड अनिश्चित आर्थिक परिस्थितिमा दैनिक प्रयोगकर्ताका लागि भरपर्दो समाधान बनेको कम्पनीको दाबी छ । बढ्दो इन्धन लागतका कारण यात्रुहरू आर्थिक रूपमा सहज विकल्प खोजिरहेका बेला हाइब्रिड प्रविधिले इन्धन बचतमा महत्वपूर्ण सहयोग गर्ने विश्वास यमाहा नेपालको छ । कम्पनीका अनुसार सामान्य १२५ सीसी स्कुटरले औसत ४०–४५ किलोमिटर प्रतिलिटर माइलेज दिने भए पनि रेजेटआर हाइब्रिडले एआरएआई प्रमाणित ७१.३३ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ, जसले करिब ४० प्रतिशत बढी इन्धन दक्षता दिन्छ । नियमित सहर यात्रामा यसले तीन वर्षको अवधिमा इन्धन खर्चबाट मात्र एक लाख रुपैयाँभन्दा बढी बचत सम्भव हुने कम्पनीले जनाएको छ । स्कुटरमा प्रयोग गरिएको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रणालीले सुरुवाती गति तथा उकालो बाटोमा ‘पावर असिस्ट’ प्रदान गर्ने भएकाले माइलेज र शक्तिबीच सम्झौता गर्न नपर्ने कम्पनीको भनाइ छ । ९९ केजी तौल रहेको हलुका डिजाइनले सहरका साँघुरा सडक र ट्राफिकमा सहज सञ्चालन सम्भव बनाउने उल्लेख गरिएको छ । त्यस्तै, फ्युल इन्जेक्सन प्रविधि र स्वचालित स्टप–स्टार्ट प्रणालीले ट्राफिकमा रोकिँदा इन्धन खेर जान नदिने कम्पनीले जनाएको छ । ग्राहकप्रति दीर्घकालीन प्रतिबद्धता जनाउँदै यमाहा नेपालले २०८२ चैत १ गतेदेखि रेजेटआर हाइब्रिड खरिद गर्ने ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा दिने घोषणा गरेको छ ।   यमाहा नेपालका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले ७१.३३ किमि प्रतिलिटर माइलेज अनुभव गरिसकेका हजारौं ग्राहकको विश्वासलाई अभियानमार्फत थप सुदृढ बनाइएको बताए । उनका अनुसार उच्च माइलेज र दीर्घकालीन सेवा सुविधाले ग्राहकको स्वामित्व खर्च घटाउने लक्ष्य राखिएको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, साइड–स्ट्यान्ड इन्जिन कट–अफ सुरक्षा प्रणाली तथा २१ लिटर अन्डर–सिट स्टोरेज जस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध छन् । कम्पनीले प्रदर्शन, शैली र इन्धन किफायती विकल्प खोज्ने चालकका लागि यो स्कुटर उत्कृष्ट रोजाइ हुने जनाएको छ ।  

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

वीरगञ्ज  । भारत सरकारले १९ थान वान टन सवारीसाधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।      वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गरेका हुन् । सरकारको आग्रहअनुसार सो सवारीसाधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ ।       पर्साका सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिए ।