सौर्य ऊर्जा विकासका लागि कार्यविधि संशोधन, ९ आयोजनाले निर्माणका लागि अनुमति लिए
काठमाडौं । ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ । वैकल्पिक विद्युत् उत्पादन आयोजना र यससँग सम्बन्धित प्रसारण लाइनलाई राष्ट्रिय ग्रीडमा जोड्न, सरल, सहज र पारदर्शी तुल्याई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकाले विद्युत् नियमावली, २०५४ अनुसार उक्त कार्यविधि संशोधन गरिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । यसअघि सरकारले २०७८ वैशाख १३ गते उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको थियो । कार्यविधिअनुसार एक मेगावाटसम्म क्षमता भएका वैकल्पिक विद्युत् आयोजनाका हकमा राष्ट्रिय ग्रीडमा आवद्ध हुन चाहने प्रवर्द्धकले नेपाल विद्युत् प्राधिकरणमा निवेदन पेस गर्दा विद्युत् उत्पादनको अनुमति लिएको हुनुपर्ने छ । तर घरेलु सौर्य ऊर्जा प्रणालीबाट उत्पादित सौर्य विद्युत्को ‘नेट मिटरिङ’ गर्दा विद्युत् उत्पादनको अनुमति आवश्यक नपर्ने प्रबन्ध गरिएको छ । आयोजनाका लागि आवश्यक जग्गा, बाटो, विद्युत् जडान बिन्दुसम्म प्रसारण लाइन आदिको व्यवस्था प्रवर्द्धकले गर्नुपर्ने उल्लेख छ । सरकारी जग्गाको हकमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीच आवश्यकतानुसार समन्वय र सहजीकरण गर्ने व्यवस्था कार्यविधिमा छ । कार्यविधिमा एक मेगावाटभन्दा बढी क्षमताका सौर्य विद्युत् आयोजनाको विद्युत् सर्वेक्षण र निर्माण गर्न प्रवर्द्धकले नियमावली र निर्देशिकामा तोकेबमोजिमको ढाँचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित क्षेत्रमा सौर्य विद्युत् आयोजना विकास गर्न हुने भनी सम्बन्धित वडा वा स्थानीय तहको सिफारिसपत्र र निकुञ्ज तथा आरक्षण क्षेत्रको हकमा वन तथा वातावरण मन्त्रालयको सिफारिसपत्र प्रवर्द्धकले पेस गर्नुपर्ने उल्लेख छ । कार्यविधिअनुसार विद्युतको खरिददर निर्धारण गर्दा आयोजनाको लागत, ऋणको ब्याजदर, ह्रासकट्टी, स्वलगानी प्रतिफल, साधारण खर्च, सञ्चालन खर्च, मर्मत खर्च, आम्दानी, कर, थप पुँजी, ऋण र पुँजीको अनुपात, उपकरणको लागत, ब्याट्री सञ्चित क्षमता आदिलाई आधार लिन सकिने छ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग सम्बोधन गर्ने लक्ष्यका साथ झण्डै एक हजार मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना विकास गर्न प्रक्रिया अगाडि बढाएको छ । निजी क्षेत्रका प्रवर्द्धकलाई बोलकबोलका माध्यमबाट विद्युत् खरिद सम्झौताका लागि प्रस्ताव पेस गर्न प्राधिकरणले आग्रह गरेको थियो । सोहीबमोजिम प्रक्रियासमेत अगाडि बढिसकेको छ । आयोजनाको सर्वेक्षणका हकमा सिँचाइयोग्य भूमि रहे/नरहेको सिफारिस कसले गर्ने भन्नेबारेमा केही अस्पष्टता रहँदै आएको थियो । विभागले पछिल्लो कार्यविधिअनुसार उक्त अस्पष्टतालाई सम्बोधन गरिएको स्पष्ट पारेको छ । कार्यविधि संशोधनसँगै सौर्य ऊर्जा परियोजना अगाडि बढाउन मार्गप्रशस्त भएको छ । विभागमा कुल ७०४ मेगावाट क्षमताका ३३ सौर्य परियोजनाले सर्वेक्षण अनुमति लिएका छन् । ७१७ मेगावाट क्षमताका ३५ आयोजनाले सर्वेक्षणका लागि आवेदन दिएका छन् । त्यसैगरी ७७ मेगावाट क्षमताका ९ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् । यसैगरी निर्माण अनुमतिका लागि ५९.६ मेगावाट क्षमताका १० परियोजनाको आवेदन परेको छ । विभागका अनुसार हाल १०६.७ मेगावाट क्षमताका २१ परियोजना सञ्चालनमा छन् । त्यसमध्ये प्राधिकरणले नुवाकोटमा सञ्चालन गरेको सौर्य ऊर्जा परियोजना सबैभन्दा ठूलो रहेको छ । सो आयोजनाको क्षमता २५ मेगावाट बराबर छ ।
तोलामा दुई हजार ३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) को मूल्य प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी ७२, गाजर (लोकल) प्रतिकेजी ४०, गाजर (तराई) प्रतिकेजी ३० तोकिएको छ । बन्दा (लोकल) प्रतिकेजी १५, बन्दा (तराई) प्रतिकेजी १५, बन्दा (नरिवल) प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी २०, काउली (तराई) प्रतिकेजी १५, मूला रातो प्रतिकेजी ३०, मूला सेतो (लोकल) प्रतिकेजी २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ५० रुपैयाँ मूल्य कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी ५०, घिउ सिमी (लोकल) प्रतिकेजी ४५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ४५, घिउ सिमी (राजमा) प्रतिकेजी ८०, टाटे सिमी प्रतिकेजी ४५, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ५०, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी २०, सलगम प्रतिकेजी ९०, भिण्डी प्रतिकेजी १०० रुपैयाँमा कारोबार भएको छ । सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग ४५, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४५, प्याज हरियो प्रतिकेजी ४०, बकुला प्रतिकेजी ७०, तरुल प्रतिकेजी ९०, च्याउ (कन्य) प्रतिकेजी १२०, च्याउ (डल्ले) प्रतिकेजी ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी ३०, चुकुन्दर प्रतिकेजी ६०, सजिवन प्रतिकेजी १८०, रातो बन्दा प्रतिकेजी ७०, जिरीको साग प्रतिकेजी ७०, ग्याठ कोबी प्रतिकेजी ८०, सेलरी प्रतिकेजी ४००, पार्सले प्रतिकेजी ७००, सौफको साग प्रतिकेजी ७०, पुदिना प्रतिकेजी ४००, गान्टे मूला प्रतिकेजी ७०, इमली प्रतिकेजी १६०, तामा प्रतिकेजी १००, तोफु प्रतिकेजी १२०, गुन्द्रुक प्रतिकेजी ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी २६०, स्याउ (फूजी) प्रतिकेजी ३००, केरा (दर्जन) १५०, कागती प्रतिकेजी १६०, अनार प्रतिकेजी ३५०, अङ्गुर (हरियो) प्रतिकेजी २५०, अङ्गुर (कालो) प्रतिकेजी ३५०, सुन्तला (नेपाली) प्रतिकेजी १५०, सुन्तला (भारतीय) प्रतिकेजी १००, तरबुजा (हरियो) प्रतिकेजी ४०, मौसम प्रतिकेजी १५०, जुनार प्रतिकेजी ११० रुपैयाँ रहेको छ । भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकेजी १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी ५०,ख कटहर प्रतिकेजी १००, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकेजी २५०, मेवा (नेपाली) प्रतिकेजी ६०, मेवा (भारतीय) प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ६०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी ५००, किबी प्रतिकेजी २५०, आभोकाडो प्रतिकेजी ३००, अमला प्रतिकेजी ७० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी ४००, खुर्सानी हरियो प्रतिकेजी ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३००, भेडेखुर्सानी प्रतिकेजी ७०, लसुन हरियो प्रतिकेजी ८०, हरियो धनिया प्रतिकेजी ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भएको छ । लसुन सुकेको नेपाली प्रतिकेजी ३००, छ्यापी सुकेको प्रतिकेजी १६०, छ्यापी हरियो प्रतिकेजी २५०, ताजा माछा (रहु) प्रतिकेजी ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी २६०, ताजा माछा (छडी) प्रतिकेजी २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी ४५०,ख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउको भाउ प्रतिकेजी ८०० रहेको छ ।