सिटिजन्स बैंकद्धारा ज्येष्ठ नागरिकलाई भोजनकाे प्रबन्ध
काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवन स्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ । बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो । बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने धारणा बैंकले लिएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला, ४४ हजारले गरे अवलोकन
काठमाडौं । १२औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् । ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ । तिहार नजिकिँदै गरेका कारण मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । तेस्रो दिनसम्ममा मात्र३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको हो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांक भन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ । मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार १७ हजार अवलोकनकर्ता पुगेको मेलामा २१ लाख रुपैंयाको कारोबार भएको थियो । चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो । प्रदर्शनीमा ४५० भन्दा बढी जातका फूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर फूल गोदावरी सजाआैँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी बिक्री भएका छन् । २०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक गत आर्थिक वर्षको अन्त्य सम्ममा ४३ जिल्लामा विस्तार भइसकेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन खोल्यो ७ नयाँ शाखा
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैदिन ७ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा थप शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी, कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर बिशेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कायम मुकायम प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला बुढाथोकीले उद्घाटन गरेका थिए ।