सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ७६ हजार २ सय पुग्यो
काठमाडौं । सुनको मूल्यले एक सातामै नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले वृद्धि भई १ लाख ७६ हजार २ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । यसअघि, चैत ७ गते प्रतितोला १ लाख ७६ हजार रुपैयाँको उच्च रेकर्ड बनेको थियो । अघिल्लो दिन सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले वृद्धि भई २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो । विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, डलरको भाउ, र आर्थिक अस्थिरताका कारण नेपाली बजारमा समेत सुन-चाँदीको मूल्य निरन्तर बढिरहेको छ ।
बजार अनुगमन : म्याद गुज्रेका सामग्री नष्ट
किमाथाङ्का । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका छ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताए । बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए । ‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ’, उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड रुपैयाँ बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड रुपैयाँ मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड रुपैयाँ मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोड रुपैयाँको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।