नवौं वर्षमा सानिमा रिलायन्स लाइफ, रक्तदान र सामाजिक कार्यक्रम गरियो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदाधिकारीहरूको सहभागितामा कम्पनीको प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । मानव जीवनको संरक्षण गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । यसै अवसरमा काठमाडौंको शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूलाई विशेष आश्रय प्रदान गर्दै आएको निःसहाय सेवा सदनमा ‘आहार–विहार’ कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिएको थियो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी तथा भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ । हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन गरेको छ । साथै, कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।  

हिल्टन होटलले बीमा दाबीबापतको ३ अर्ब मात्रै पाउने

काठमाडौ । गत भदौमा जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त  हिल्टन होटलले बीमा दाबीबापत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको छ ।  होटलले ८ अर्बको दाबी गरेपनि बीमा रकम ५ अर्ब मात्रैको गरेको पाइएको छ । जसअनुसार होटलले बीमाअन्तर्गत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको हो । हिल्टन होटलको बीमा दि ओरियन्टल इन्स्यारेन्समा रहेको छ । होटलमा आगजनी भएको ७ महिना बितिसक्दा पनि कम्पनीले बीमा भुक्तानी गर्न सकेको छैन । भुक्तानी रोकिनुको मुख्य कारण दाबी विवाद हो । अनुसन्धानका क्रममा दि ओरियन्टल इन्स्यारेन्स र हिमालायन पुनर्बीमा कम्पनीले हिल्टनको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ पुनर्बीमा प्रावधान विपरीत काम गरेको पाइएको छ । भर्खरै मात्रै प्राधिकरणले कारवाहीसमेत गरेको छ । यसमा एलियन्ट ब्रोकर कम्पनी पनि संलग्न रहेको पाइएपछि उक्त ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ । बीमा ऐनअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा सरकारी कम्पनी नेपाल रि–इन्स्योरेन्समा गर्न सकिने प्रावधान भए पनि, बीमा कम्पनी र ब्रोकरले प्राधिकरणको निर्देशन उल्लङ्घन गर्दै पुनर्बीमा हिमालयन रिमा गराउन खोजेका थिए । यसकारण नेपाल बीमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई कारबाही गरेको हो। बीमा जानकारहरूका अनुसार पुनर्बीमा विवाद् होस् या आन्तरिक अन्य कुनै विवाद बीमितलाई दाबी दाबीबापतको भुक्तानी बीमा कम्पनीले तिर्नैपर्छ । यस अर्थमा  ओरियन्टल इन्स्याेरेन्सले जसरी पनि हिल्टन होटलको दाबी बापतको भुक्तानी गर्नुपर्ने हुन्छ । 

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा निर्जीवन बीमकहरूले ३१ अर्ब ७० करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले १८ लाख ६२ हजार ११४ वटा बीमालेख जारी गरेर ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।  अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको फागुन मसान्तसम्ममा बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ वटा बीमालेख जारी गरेर २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा १३ वटा बीमा कम्पनीहरूको व्यवसाय बढेको छ भने एउटाको घटेको छ । सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर अगाडि  ८ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा शिखरले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीका सगरमाथा लुम्बिनी इन्स्यारेन्स(सलिको) रहेको छ । उक्त कम्पनीले गत आवको माघसम्ममा ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको यही वअधिमा ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको व्यापार १.३२ प्रतिशतले वृद्धि भएको छ ।  सलिकोपछि धेरै व्यवसाय भित्र्याउने कम्पनीमा  हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको फागुनसम्ममा  ३ अर्ब २० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीले २ अर्ब २१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको ८ महिनासम्ममा कम्पनीको व्यवसाय ४५.१५ प्रतिशतले वृद्धि भएको छ ।  हिमालयन एभरेष्टपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा २ अर्ब ७५ करोड  ३९ लाख बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १.३९ प्रतिशले बढेको छ । त्यसैगरी, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड २९ लाख रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क  संकलन गरेको छ ।  अघिल्लो आवको यही अवधिमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ र ओरियन्टलले १ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरूले क्रमशः १२.९९ , ३६.२२, ९.१४, २२.७९ र १४.१० प्रतिशतले व्यापार बढेको छ ।  फागुन मसान्तसम्ममा सानिमा जीआईजी इन्स्योरेन्सले १ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यही अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा चालु आवमा सानिमा जीआईसी इन्स्योरेन्सको १३.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.५४ प्रतिशत र नेसनल इन्स्योरेन्सको १३.६० प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको  भने २.७९ प्रतिशतले व्यापार घटेको छ ।