बालबालिकामा बढ्दो ‘नेफ्रोटिक सिन्ड्रम’ : औषधि महँगो, सेवा सीमित

म्याग्दी । तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाइन् । पर्वतको जलजला गाउँपालिका–३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन / तीन महिनामा काठमाडौँ पुगिन् । तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक ‘नेफ्रोटिक सिन्ड्रम’ भएका बच्चाको उपचारका लागि संघीय राजधानी काठमाडौँका अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । 'पोखरामा रोग पहिचान भए पनि विशेषज्ञ चिकित्सकको(बच्चाको मिर्गाैला र पिसाब रोग विशेषज्ञ) अस्पतालमा सेवा नभएकाले उपचार, औषधि र फलोअपका लागि काठमाडौं जानुपरेको हो,' चन्द्रकुमारीले भनिन् 'बच्चाको उपचारका लागि खानेपानी उपभोक्ता संस्थाको जागिर छाडेर दुई वर्ष काठमाडौँमा डेरा लिएर बसे ।' काठमाडौको त्रिवि शिक्षण अस्पताल, किष्ट, नेपाल मेडिकल कलेज, पाटन, कान्ति बाल र केही निजी बाल अस्पतालमा मात्र ‘नेफ्रोटिक सिन्ड्रम’सम्बन्धी विशेषज्ञ चिकित्सक र उपचार सेवा उपलब्ध छ । त्रिवि शिक्षण अस्पतालका बालरोग तथा बच्चाको मिर्गाैलासम्बन्धी विशेषज्ञ डा दमनराज पौडेलले उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका भएका जानकारी दिए । 'शिक्षण अस्पतालमा महिनाको आठ दिन ओपिडि हेर्दा २० देखि ३० जना ‘निफ्रोटिक सिन्ड्रोम’का बिरामी हुन्छन्,' उनले भने 'हामी कहाँ आउने बिरामी बच्चाहरु मध्ये श्वाश प्रश्वासपछि सङ्क्रमण र पिसाबसम्बन्धी समस्या भएकाको सङ्ख्या बराबरी छ ।' नेपालमा दुई अङ्क भन्दा कमको सङ्ख्यामा रहेका बच्चाको मिर्गौलासम्बन्धी विशेषज्ञ चिकित्सकहरु सबै काठमाडौंमा छन् । के हो ‘नेफ्रोटिक सिन्ड्रम’ ? डा. पौडेलका अनुसार जनमानसलाइ बुझाउदा 'निफ्रोटिक सिन्ड्रम' मिर्गौलाबाट धेरै प्रोटिन चुहिने एक बिमार वा स्वास्थ्य समस्या हो । हालसम्म नेपाली नामाकरण भएको छैन । दुईदेखि छ वर्ष उमेर समूहका बच्चामा यो समस्या धेरै देखिने गर्छ । नगण्य मात्रामा एक वर्षभन्दा कम उमेरका बच्चा र १२ वर्ष सम्मका बालबालिकामा पनि यस्तो समस्या देखिने गरेको छ । 'मिर्गाैलाको जालीमा असर हुँदा पिसाबमा प्रोटिन धेरै मात्रामा चुहिएर शरीरका लागि आवश्यक पर्ने प्रोटिन पुग्दैन,' डा पौडेलले भने 'शरीरमा आवश्यकता भन्दा कम प्रोटिन हुँदा नशामा भएको पानी बाहिर निस्की शरीर फुल्न वा सुनिन थाल्दछ ।' नेफ्रोटिक सिन्ड्रम’का लक्षणहरू बच्चाको आँखाबाट सुरु गरेर पेट, खुट्टा र पूरा शरीर सुनिदै जान्छ । पिसाब कम हुँदै जाने र फिँज आउनु पनि थप लक्षण भएको डा पौडेलले बताए । वैज्ञानिकहरुले अध्ययन अनुसन्धान गरिरहेको भए पनि हालसम्म ‘नेफ्रोटिक सिन्ड्रम’(१ देखि १२ वर्ष मा लाग्ने) को कारण पहिचान यही हो भनिसकेका छैनन् । ‘भाइरल इनफेक्सन’ र एलर्जीका कारण मिर्गाैलाको जालीमा असर भएर प्रोटिन चुहिने चिकित्सकहरुको अनुमान छ । प्रोटिन चुहिँदा शरीरमा रोगसँग लड्ने क्षमता पनि कमजोर यस बिमारले बनाउँछ । एक वर्षभन्दा कम उमेरका बालबालिकामा हुने नेफ्रोटिक सिन्ड्रमको कारण वंशाणुगत मानिएको छ । बच्चाहरुको नियमित पिसाब परीक्षण, लक्षण देखिने वित्तिकै स्वास्थ्य परीक्षण, औषधि सेवन गर्ने हो भने ‘नेफ्रोटिक सिन्ड्रम’ निको हुन्छ । निश्चित समयपछि दोहोरिने जोखिम यस बिमारमा हुनसक्छ । बालरोग चिकित्सक वा बच्चाको मिर्गाैला रोग विशेषज्ञको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले काम गरेको खण्डमा भविष्यमा मिर्गाैला खराब हुने सम्भावना धेरै नै कम हुन्छ । ‘नेफ्रोटिक सिन्ड्रम’का बिरामीले प्रयोग गर्ने ‘प्रेड्निसोलोन’ नामको औषधि नेपालमा पाइन्छ । कहिलेकाँही दोहोरिएको खण्डमा त्यही औषधि छोटो समय लाई सञ्चो पार्न सकिन्छ । धेरैपटक बिमार फर्कदा ‘प्रेड्निसोलोन’ जस्तो औषधि लामो समय वा बारम्बार प्रयोगर्नुपर्ने हुन्छ जसले गर्दा उचाइ नबड्ने, मोतिबिन्दु, आँखाको प्रेसर बढ्ने, सुगर हुने, हड्डी खिइने जस्ता ‘साइड इफेक्ट’ देखिनसक्छ । बारम्बार भइराख्ने बच्चालाई ‘साइड इफेक्ट’ नहुने अरू औषधि प्रयोग गर्नुपर्ने हुन्छ, जुन नेपालमा सजिलैसँग पाइदैन । भारतबाट ल्याउन कहिलेकाँही धेरैनै कठीन र साथसाथै महँगो पर्न गएको नेफ्रोटिक सिन्ड्रमबाट बिरामी भएका म्याग्दीको मालिका गाउँपालिका–४ का ६ वर्षीय बच्चाका अभिभावक दुर्गा आचार्य गौतमले बताए । नेपालमा नपाइने औषधिलाई दर्ता गरेर सहज र उपचार सेवालाई प्रदेश स्तरसम्म विस्तार गरेमा उपचारमा सहज हुने उनले बताए । रासस

सुक्खा आँखाको समस्या बढ्दो, ‘ब्रेक’ लिएर ल्यापटपको प्रयोग गर्न सुझाव

काठमाडौं । तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताएकी छन् । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन उनको सुझाव छ । उनका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो वाष्प भएर हराउनु भन्ने बुझिन्छ । यस्तो अवस्थामा आँखामा पोल्ने, बालुवा परेको जस्तो बिझाउने, चिलाउने, रातो हुने र धमिलो देखिने लक्षण देखा पर्न सक्छन् । ‘धुवाँ, धुलो, प्रदूषण, एसी र फ्यानमा लामो समय बस्दा पनि सुक्खा आँखाको सम्भावना बढ्छ । यसैगरी, धुम्रपान गर्नेलाई पनि यो समस्याले सताउन सक्छ । मोबाइल, कम्प्युटर, ल्यापटपजस्ता प्रविधिको अत्यधिक प्रयोग गर्दा आँखा झिम्क्याउने दर कम हुन्छ, जसले आँसु छिटो सुकाउँछ’, डा खनालले भनिन् । उनले मोबाइल, कम्प्युटर, ल्यापटपको प्रयोग गर्दा हरेक २०–२५ मिनेटमा रोकिएर (‘ब्रेक’ लिएर), केहीबेर टाढा हेर्ने र कम्तीमा २०–२५ पटक आँखा झिम्क्याउने बानी बसाल्न सुझाव दिइन् । उनले भनिन्, ‘मोबाइलमा गेम खेल्दा एकदमै ध्यान एकत्रित हुँदा आँखा झिम्क्याउन बिर्सिरहेका हुन्छौँ । आँखामा बढी तनाब पर्ने काम गर्यौं र लामो समयसम्म आँखा झिम्क्याउन बिर्सियौँ भने हाम्रो आँखा सुक्खा हुन्छ । त्यसैले ब्रेक लिनुपर्छ ।’ समस्या देखिएमा ‘लुब्रिकेटिङ’ आँखा ‘ड्रप्स’को प्रयोग गर्न सकिन्छ । यो समस्या लिएर आउने अधिकांश बिरामी सामान्यदेखि मध्यम लक्षणसहित आउने डा खनालको भनाइ छ । कहिलेकाहीँ सुक्खा आँखा शरीरका अन्य रोगजस्तै बाथरोग, थाइराइड समस्या वा केही प्रकारका ‘हर्मोन सप्लिमेन्ट’का कारण पनि हुन सक्ने भएकाले यस्तो अवस्थामा केवल ड्रप्स प्रयोग पर्याप्त नहुने बताउँदै उनले विशेषज्ञ चिकित्सकसँग परामर्श लिन आवश्यक हुने डा खनालले उल्लेख गरिन् । ‘सुक्खा आँखा देखिएपछि आत्तिनु पर्दैन तर लापरबाही गर्नु हुँदैन । समस्या बढेमा लुब्रिकेटिङ ड्रप्स प्रयोग गर्नुपर्छ, अनि सुधार नआएमा आँखाको विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ’, उनको सुझाव छ ।

बिरामीलाई रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकेसम्म रेफर गर्न नपर्ने गरी अस्पतालबाटै सेवा दिन आग्रह गरेका  छ ।  पश्चिम नवलपरासीको सदरमुकामस्थित पृथ्वीचन्द्र अस्पतालको ५० शय्याको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नागरिकलाई सहज र सर्वसुल्भ सेवाका लागि जटिल तथा हुनै नसक्ने उपचारबाहेक सबै सेवा अस्पतालबाटै प्रवाह गर्न आग्रह गरे ।  उनले भने, 'यहाँका सेवाग्राहीको आर्थिक अवस्था कमजोर छ । जो बाहिर गएर उपचार गराउन आर्थिक रुपमा असमर्थ हुनुहुन्छ । त्यो कुरालाई प्रदेश सरकारले राम्रैसँग मनन गर्दै अस्पताललाई सेवा प्रवाहमा आत्मनिर्भर बनाउनका निम्ति हरेक क्षेत्रका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याउन प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले धेरै पहलकदमी लिएको छ ।' जिल्ला अस्पतालका रुपमा रहेको पृथ्वी चन्द्र अस्पताललाई विकास तथा सेवा प्रदान गर्नका लागि प्रदेश सरकारबाट कुनै पनि कमी नहुने उनको भनाइ थियो ।