३५ वर्षपछि पर्वत प्रदेश अस्पतालमा विशेषज्ञ सेवा सुरू
पर्वत । सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ । सरकारबाट १५ श्यया सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ श्ययाबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकबाट ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरू भएको हो । पन्ध्र श्ययाको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ श्यया अस्पतालको सेवा दिइरहेको अस्पतालले अब भने हाडजोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए । अस्पतालको स्तरोन्नति भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरू गरिएको उनले बताए । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोहीअनुसारका जनशक्ति थप गर्नका लागि केही समय लाग्ने छ तर अस्पतालले भने सेवाग्राहीको मागलाई ध्यानमा राख्दै अस्पतालको स्रोतबाट समेत विशेषज्ञ नियुक्त गरेर सेवा दिन सुरू गरेको हो । अस्पतालमा रहेको पोषण कार्यक्रमअन्तर्गत अस्पतालको स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा प्रकाश गौतमले अब ओपिडीबाट सेवा दिने भएका छन् । यस्तै हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा ढुण्डीराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए । डा पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहेको भए पनि उनी अध्ययनका लागि गएका थिए ।स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अब अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा दिन सुरू गरेको हो । छात्रवृत्तिमा आएका चिकित्सकले कम्तीमा पनि अबको दुई वर्ष सेवा गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम विकले बताए । 'उहाँहरू सबै जना एमडी सकेर विशेषज्ञ सेवा दिनका लागि यहाँ आइपुग्नुभएको छ । हामीले अहिलेसम्म प्रवाह गर्दै आएको सेवा झनै प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ', डा बास्तोलाले भने, ‘यसरी विशेषज्ञ सेवा दिन सुरू गरेको यो नै पहिलो हो ।’ ‘अब महिलाको जटिल खालको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने डाक्टर हुनुहुन्न भनेर रोकिनुपर्ने अवस्था रहेन । क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ’ उनले भने । छात्रवृत्तिमा आएका चिकित्सकको अवधि दुई वर्षको हुने बताउँदै उनले उनीहरू फर्किने अवस्था आएको बेलामा प्रदेश अस्पताल समेत स्तरोन्नति भएको अस्पतालका रूपमा जनशक्ति उपलब्ध गराउने बताए । अब केही दिनमा नै गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पनि अब पर्वतसहित आसपासको क्षेत्रका बिरामीलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा बास्तोलाको भनाइ छ । सरकारबाट प्राप्त भएका र अस्पताल आफैँले व्यवस्थापन गरेका गरी कूल ११० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४–१५ जना विशेषज्ञ चिकित्सक रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरीले बताए । केही वर्ष अगाडिसम्म दैनिक करिब ४०–४५ जना बिरामीलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब ३०० भन्दा बढी बिरामीलाई सेवा दिन सकिएको उनको भनाइ छ । रासस
७३ जिल्लामा डेंगु पुष्टि, ६० हजारभन्दा बढी संक्रमित हुने अनुमान
काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगुु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरे । उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेंगु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेंगु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेंगु सङ्क्रमणको तथ्यांक कम देखिएको बताए । उनले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेंगु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताए ।
झापामा कोभिडका ८ जना सङ्क्रमित फेला
बनियानी । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । 'झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,' उनले भने, 'अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्छ ।' नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए । यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ । जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन् । तीमध्ये पाँचजना झापाका छन्भने मोरङ, इलाम र दोलखाका एक/एकजना रहेको बाराकोटीले जानकारी दिए । झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,' उनले भजे, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'