सिन्धुलीकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र १४ दिनसम्म बन्द हुने

सिन्धुली। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताएका छन् । कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले जानकारी दिए । उनले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गरे । जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उनले आग्रह गरे । जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर सतर्कता र सावधानी अपनाउन भने उनले आग्रह गरे । सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ । रासस

पीसीआर परीक्षण मात्रै समाधान होइन, सावधानी अपनाऔं: मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यकाभरी नै कोरोना संक्रमणको दर दिनप्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गरेका छन् । ‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित हुनु पर्दैन । तर, सावधानी सबैले अपनाउनै पर्छ,’ उनले भने । उपत्यकावासीले यसअघि पनि लामो समयसम्मको लकडाउनलाई पूर्ण पालना गरी सरकारलाई सहयोग गरेको स्मरण गराउँदै प्रमुख शाक्यले अझै केही सयम कष्ट सहेर भए पनि निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरे । ‘संघीय, प्रदेश र स्थानीय सरकार कोरोना नियन्त्रणको प्रयासमा निरन्तर लागेका छन्, ‘सरकारले गरेको आग्रहलाई पूर्णपालना गरी तपाईंहरुले सावधानी अपनाउनु भयो भने संक्रमणको संम्भावना निकै कम हुन्छ । सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनुभयो भने हामी उपचार गर्न तयार छौँ । तीन ओटै सरकार कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लागेको छ । कोरोनाका कारण सकेसम्म कसैले पनि ज्यान गुमाउने अवस्था आउनु हुँदैन भन्नेमा संघ, प्रदेश र स्थानीय तह सचेत छन्,’ मेयर शाक्यले थपे । उनले लकडाउन हटे पनि कोरोना अझै हटेको छैन भन्ने बुझाउन नसक्दा पुनः कोरोनाको संक्रमण फैलिदै गएको भन्दै पछिल्लो समय उपत्यका भित्रिनेको संख्यामा भएको उल्लेख्य वृद्धिले संक्रमणको खतरा बढेको बताए । ‘परीक्षण गरेर आउनेले आफू र अरुलाई पनि सुरक्षित बनाए, तर, लुकिछिपी ल्याउने र आउनेले गर्दा उपत्यका अशान्त भयो,’ मेयर शाक्यको भनाइ छ । मेयर शाक्यले सावधानी नअपनाउने तर पीसीआर परीक्षणमा मात्रै ध्यान दिने हो भने त्यसले मुलुकको ठूलो धनराशी खर्च हुने र अर्थतन्त्रमा समेत नराम्रो असर गर्ने बताए । ‘पीसीआर परीक्षण कोरोना भाइरसको संक्रमण रहे–नरहेको पुष्टि गर्ने अन्तिम परीक्षण मात्र हो । यो औषधी होइन र यसले कोरोना रोकथाम गर्दैन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई आधार मान्ने हो भने ५ लाख ८९ हजार ८ सय ९९ सयको आरटी पीसीआर टेष्ट गर्दा ३० हजार ४ सय ८३ जना व्यक्तिको कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने । त्यसका लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भएको भन्दै शाक्यले एउटा पोजेटिभ व्यक्ति भेट्न सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च गरेको स्मरण गराए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्याङ्क अनुसार पीपीई वाहेक ल्याब टेष्टमा मात्रै एक जनाका लागि नेपाल सरकारको ५ हजार ५ सय खर्च गरेको छ । त्यसपछिको उपचारका लागि आइसीयुमा ३० दिन राख्नुपर्दा ४ लाख ५ हजार खर्च हुन्छ, त्यसैले यस्तो खर्चिलो पीसीआर परीक्षण जथाभावी रुपमा गरेर दुरुपयोग नगरौँ,’ उनको भनाइ छ । उनले संक्रमणको सम्भावना भएका र गर्नैपर्ने बाहेकका व्यक्तिले निशुल्क हो, मेरो पनि एक पटक गरौँ न त भन्ने होडवाजीमा जथाभावी परीक्षण गर्ने हो भने त्यसको दुरुपयोग हुनेतर्फ पनि संकेत गरे । ‘गर्नेपर्ने व्यक्ति छ भने राज्यले खोजी–खोजी परीक्षण गर्छ । तर, निशुल्क पाइयो भनेर र पहुँचका भरमा आशंका नै नभएका व्यक्तिले पनि पटक–पटक परीक्षण गर्ने हो भने सम्भावित संक्रमितको पहुँचमा परीक्षण नपुग्ने अवस्था हुनसक्छ, त्यसले राज्यलाई अनावश्यक आर्थिक बोझ मात्रै थुपार्छ । त्यसैले तपाईंहरु बढी त्रसित नहुनुहोस् । तर, जसग रहनुहोस् । कोरोना संक्रमणको सम्भावित व्यक्तिलाई खोजी–खोजी परीक्षण गर्छौं र संक्रमितको उपचार गर्छौं,’ उनको भनाइ छ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा १० ओटा कन्ट्राक्ट ट्रेसिङ टोली बनाएर काम गरिरहेको उनले जानकारी दिए । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै संक्रमितको संख्या करीब १५ सय पुगेको छ भने होम आइसोलेशनमा बस्नेको संख्या करीब ३ सय ५० छ ।

उपत्यकाका अस्पतालले कोराेनाका बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने

काठमाडाैं । उपत्यकाका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) का बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उपत्यकाका अस्पतालले कोभिड-१९ का बिरामीहरुलाई राख्नुअघि अनुमति लिनपर्ने बताएकाे छ । अस्पतालहरुले मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने छ । ‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका  आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।