चितवन मेडिकल कलेजले पायो पिसिआर परीक्षण अनुमति

चितवन । निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ । न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५१० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने, “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएलस्तरको भनिने उनको भनाइ छ । प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताए । रासस

दमकका सबै अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द

दमक । दमकमा कोरोना सङ्क्रमण समुदायसम्म फैलिएको र कतिपय कोरोना सङ्क्रमित जाँचका लागि अस्पतालसम्म पुगेको पनि पत्तो पाएपछि यहाँ रहेका अस्पताल र क्लिनिकको ओपिडी सेवा बन्द गर्ने निर्णयमा पुगेका छन् । ओपिडी सेवामा भिडभाड रहने गरेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै यहाँका अस्पतालसहित अन्य स्वास्थ्य संस्थाले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । जिल्लाको मेचीनगरमा एक चिकित्सकमा केहि दिन अघि कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि दमकको नीजि दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा एकजना सङ्क्रमित व्यक्ति उपचारमा आएको पत्तो पाएपछि उक्त हस्पिटलमा आवतजावतमा रोक लगाइएको छ । त्यसपछि दमकका एक जना सब्जी व्यापारी दमकस्थित एक अस्पतालमा उपचारका लागि गएको खुलेपछि अस्पताल पनि सिल हुने सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा थप ९८ जनामा देखियो कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ८०, ललितपुरको ९ र भक्तपुरको ९ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा १४४१, ललितपुरमा २३० र भक्तपुरमा १२४ संक्रमित पुष्टि भएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या १७९५ पुगेको छ। आज देशभर ४ सय ६८ संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।