काठमाडाैं उपत्यकामा एकैदिन १३४ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १३४ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ११०, ललितपुरकाे ८ र भक्तपुरकाे १६ जना रहेकाे गाैतमले बताए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १०५८ ललितपुरमा १५१ र भक्तपुरमा १०५ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या १३०६ पुगेको छ । आज देशभर ६३८ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

आज थप ६ सय ३८ जनामा काेराेना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९ सय ४८ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ५८ जना रहेका छन् भने आजसम्म ४ लाख ६३ हजार ६ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

थापाथलीकाे प्रसूति अस्पतालमा पनि काेराेना परीक्षण सुरु

काठमाडौं । थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा काेराेना भाईरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा कोभिड-१९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे । महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताईन् । उनले संक्रमणको महामारीको अवसथामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताईन् । अस्पतालले कोभिड-१९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोल स्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् ।