४ हजारमै कोरोना परीक्षण
काठमाडाैं । शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब ५ सय ले घटाएको हो । विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क ४ हजार ५ सय बाट घटाएर ४ हजार कायम गरिएको जनाएको छ । प्रारम्भिक परीक्षणको नतिजाअनुसार ४ हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख विके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए । सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशाला प्रमुख भण्डारीले भने । कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पु¥याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले गत मङ्गलबार सो प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको थियो । प्रयोगशालाबाट दैनिक चार हजार २०० बढी नमूना परीक्षण गर्न सकिने प्रमुख भण्डारीले जानकारी दिए । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले बिहीबारदेखि औपचारिकरुपमा आरटी–पिसिआर परीक्षण शुरु गरेको थियो । ललितपुरको कुपण्डोलमा रहेको सो प्रयोगशालामा पाँच थान पिसिआर मेसिन र पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेसिन जडान गरिएको छ । प्रयोगशालाले यसअघि पाँच घण्टामा दिइँदै आएको ‘रिपोर्ट’ अब चार घण्टामा दिने तयारी गरेको पनि उनले बताए । प्रयोगशालाले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गर्दै आएको छ । देशव्यापीरुपमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले परीक्षणको दायरा र सङ्ख्यालाई दिन प्रतिदिन बढाउँदै लगेको छ । बन्दाबन्दी अन्त्य भएपछि मुलुकभर कोरोना सङ्क्रमणको जोखिम झन बढेको छ । यसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् ।
कोभिड–१९: विदेशमा १ सय ८९ नेपालीको मृत्यु
काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ । यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।
काठमाडाैं उपत्यकामा ६ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ५ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।