कोभिड–१९ को जोखिम कायमै: कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडाैं ।  मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम गर्ने, मास्क र स्यानेटाइजरको प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने र भीडभाडमा नजाने गर्दा सङ्क्रमणबाट जोगिन सकिन्छ । भीडभाड बढ्दा मानिसले चाहेर पनि भौतिक दूरी कायम गर्न नसक्ने हुँदा अब अझै सावधानी जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले समेत जोखिम बढेको महसुस गर्न सकिन्छ । नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा साउन ११ गते चार जनामा कोभिड–१९ देखियो । त्यसपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्दा मङ्गलबारको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ पुष्टि भयो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही पछिल्लो चरणमा प्रहरीमा कोभिड–१९ सङ्क्रमण बढेको बताउँछन् । “पहिले पनि सुरक्षा मापदण्ड बनाएर काम गरिएको थियो, हेडक्वाटरमै सङ्क्रमण देखिएपछि अझै थप सावधानीका साथ खटिन निर्देशन दिएका छौँ”, शाहीले भने । मङ्गलबार सशस्त्र प्रहरीमा पनि एकजनामा कोभिड–१९ देखिएको छ । प्रहरीमा अहिलेसम्म २०६ जनामा सङ्क्रमण भइसकेको छ । अहिलेसम्मको प्राप्त विवरणअनुसार चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का कूल ३८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १४१ जना उपचाररत रहेका छन् तर जटिल खालका बिरामी भने नभएको जनाइएको छ । हालसम्म नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा झण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । पाँच हजार उपचारमा छन् । कोरोनाका कारण ४९ जनाको निधन भएको छ । पहिले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वयन गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा थिए । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढ्दा र व्यवसाय सञ्चालन हुँदा पनि अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय नै हो । त्यसकारण सुरक्षाकर्मी थप जोखिम हुने स्वास्थ्य विज्ञको भनाइ छ । सुरक्षाकर्मीले उपलब्ध व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउँदै कार्यस्थलमा काम गरिरहे पनि कतिपय सुरक्षाकर्मीलाई कोभिड–१९ को सङ्क्रमण भएको छ । आम समुदायसँग नियमित सम्पर्कमा पुग्ने सुरक्षाकर्मीमा सङ्क्रमण हुँदा नागरिकमा सर्ने सम्भावना बढी हुन्छ । मानिसको भीडभाड रोक्नुपर्ने अवस्थामा सुरक्षाकर्मीले चाहेर पनि भौतिक दूरी कायम गर्न सकेका हुँदैनन् । अझै पनि सुरक्षामा अपनाउनुपर्ने मापदण्ड पूर्णरुपमा प्रयोग गर्न सकेका छ्रैनन् । सामान्य कपडाको मास्कमै कार्यस्थलमा खटिएका छन् । सङ्क्रमणको जोखिम हुन्छ भन्ने आँकलन गरेरै प्रहरीले उच्च मनोबलका साथ काममा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । जोखिम रोक्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक क्वारेन्टिनको व्यवस्थापन गरेका छन् । घर बिदाबाट आएकालाई क्वारेन्टिनमा राखेर स्वास्थ्य मापदण्डअनुसार राखिन्छ । आजसम्मको प्राप्त विवरणअनुसार नेपाल प्रहरीका २०६ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ९९ जना निको भएर घर फकिए पनि १०७ उपचाररत छन् । सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका ९२ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । उनीहरुमध्ये अझै २८ जना उपचाररत रहेका छन् । सीमा क्षेत्रमा प्रत्यक्षरुपमा मानिससँग सम्पर्कमा पुग्नुपर्ने भएकाले पनि सङ्क्रमण देखिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल बताउँछन् । नेपाली सेनामा पनि सङ्क्रमण बढिरहेको छ । नेपाली सेनामा पहिलोपटक गत जेठ ३ गते सङ्क्रमण देखिएको थियो । त्यसयता अहिलेसम्म कूल ७९ जनामा सङ्क्रमण भइसकको छ । अहिलेसम्म ७२ जना उपचारपछि निको भएको र सात जनाको उपचार जारी रहेको नेपाली सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेल बताउँछन् । उनका अनुसार जनमानसमा सम्पर्कमा जानुपर्ने भएकाले पनि सुरक्षाकर्मीमा जोखिम कायमै छ तर पनि सेनाले कन्ट्रयाक ट्रेसिङ युनिटमार्फत नियन्त्रणको काम जारी राखेको छ । मुख्यगरी नेपाली सेनालाई भारतबाट आउने र तेस्रो मुलुकबाट आउने नेपालीलाई सुरक्षितरुपमा होल्डिङ सेन्टरमा ल्यएर सम्बन्धित क्षेत्रमा पठाउने जिम्मेवारी छ । त्यसपछि क्वारेन्टिन व्यवस्थापन र शव व्यवस्थापन सेनाको अर्काे जिम्मेवारी हो । सरकारले तोकेको अन्य काममा पनि नेपाली सेना सक्रिय छ । नागरिकको सम्पर्कमा जाँदा आवश्यक सावधानी अपनाउँदाअपनाउँदै पनि केहीलाई सङ्क्रमण देखिएको र त्यो नियन्त्रणमै रहेको पौडेलले बताए । उता राष्ट्रिय अनुसन्धान विभागका चार जनामा कोभिड–१९ देखिएको जनाइएको छ । मुलुकको शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना रोक्न, अन्य घटना हुँदा आम नागरिकले पहिले सम्झने नेपाल प्रहरीलाई नै हो । सामान्य भीडभाड, झै–झगडा, दुर्घटना, चोरी, झडप, मुलुकका महत्वपूर्ण निर्णय कार्यान्वयनमा नेपाल प्रहरी अग्रपङ्क्तिमा हुन्छ । त्यसैले अरु निकायमा भन्दा बढी प्रहरीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को नियत्रणका लागि नेपालभर ४४ हजार बढी प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेनाले काम गरिरहेको छ ।

बुधबार मात्रै सिंहदरबारका ७ सय कर्मचारीकाे पीसीआर परीक्षण

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबारभित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबारभित्रका सबै कार्यालयका करिब ७ सयजना कर्मचारीको नमुना संकलनको तयारी भएको छ । परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए । काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ । काठमाडौंंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । Corona Test_Singhadurbar यसरी गरियो सिंहदरबार भित्र कोरोना परीक्षण lसम्बन्धित समाचार – https://www.bikashnews.com/2020/07/29/229785.html Gepostet von Bikashnews.com am Mittwoch, 29. Juli 2020

काेराेनाकाे कारण बझाङका ६५ वर्षिय पुरुषकाे निधन

काठमाडौं । मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।