अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउनुहाेस्- त्रिवि शिक्षण अस्पताल

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको छ । सुचना जारी गर्दै अस्पतालले अत्यन्त जरुरी अवस्थामा मात्र अस्पताल आउन आग्रह गरेको हो । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै अस्पतालमा बिरामीको चापलाई कम गर्नको लागि यस्ताे आग्रह गरिएकाे अस्पतालका निर्देशक प्रेम कृष्ण खड्गीले बताए । मानिस स्वस्थ छ कि छैन भनेर जाँचिने जेनरल हेल्थ चेकअपका प्याकेज र दिउँसो चल्ने क्लिनिक सेवा अर्थात ईएचएस सेवा हालको लागि बन्द गरिएको खड्गीले जानकारी दिए । ‘अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ । सम्पर्क फोन नम्बर मा उपलब्ध हुनेछ । जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ । इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४ सै घण्टा सुचारु रहनेछ ।,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्तिका ५ बुँदा १. यस अस्पतालमा ज्वरो/रुघा/बोकी/स्वाशप्रस्वाशमा समस्या भएका बिरामीहरुका लागि ट्रिएज गर्न छुट्टै फिभर ओपिडी संचालन गरिनेछ। यस्ता लक्षण भएका बिरामी फिभर ओपिडीबाट आवश्यक परेको खण्डमा मात्र अन्य ओपिडीमा पठाइने छ। २. अत्यन्त जरुरी आकस्मिक अवस्थामा बाहेक अस्पताल आउनुअघि सम्बन्धित विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमा सम्पर्क गरेर मात्र आउनु हुन अनुरोध गरिन्छ। सम्पर्क फोन नम्बर वा www.tuth.org.np मा उपलब्ध हुनेछ। ३. इमर्जेन्सी तथा अर्जेन्ट बाहेक अन्य शल्यक्रियाहरु अर्को सूचना नभएसम्म लागि स्थगन गरिएको छ। ४. जनरल हेल्थ सर्भिस (जिएचएस) तथा इएचएस सेवा हालका लागि स्थगित गरिएको छ। इमर्जेन्सी सेवा भने नियमित रुपमा नै पूर्ण रुपले २४सै घण्टा सुचारु रहनेछ। ५. अस्पतालमा भर्ना भएका तथा उपचारार्थ आउने बिरामीहरुको कुरुवा तथा आफन्तहरुलाई हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न १ जना विरामीको लागि १ जना मात्र कुरुवा बस्न अनुरोध गरिन्छ। विस्तृत जानकारी www.tuth.org.np मा उपलब्ध गराइने छ।

स्यानिटाइजरः वयस्कमा पनि असर, बालबालिकलाई झनै हानिकारक

काठमाडौं । मानिसहरुले कोभिड १९ बाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकार भएदेखि बजारमा ह्याण्ड स्यानिटाइजरको व्यापार ह्वात्तै बढेको छ । भाइरस तथा व्याक्टेरिया संक्रमणबाट जोगिन मानिसले जथाभावी रुपमा यसको प्रयोग गरिरहेको छन् । यसले किटाणु मार्न भन्दै आफूमात्र नभई बालबालिकाहरुमा पनि जथाभावी प्रयोग गरिरहेको छन् । तर स्यानिटाइजरको कहाँ प्रयोग गर्न र यसले कसरी काम गर्छ भन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्य विशेषज्ञहरु सम्भव भएसम्म साबुन पानीले हात धुने सल्लाह दिन्छन् । किनभने यसले हातमा भएको सबै प्रकारका किटाणु र रसायनहरुको मात्रा घटाउँदछ । तर, साबुन र पानी जतिबेला पनि उपलब्ध नहुनाले विशेषज्ञहरु यसको विकल्पको रुपमा ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न सुझाव पनि दिन्छन् । स्यानिटाइजरले तपाईंको हातमा भएको किटाण मार्छ । साबुनले त्यसलाई पखाल्छ । साबुनले सिधै किटाणु मार्दैन तर यसले किटाणुहरु कम गराउँछ । प्रत्येक्ष रुपमा देखिने हातका फोहोरहरुलाई हटाउन ह्याण्ड स्यानिटाइजरले काम दिँदैन । यसको लागि साबुन नै प्रयोग गनुपर्छ । बजारमा विभिन्न किसिमका ह्याण्ड स्यानिटाइजरहरु पाईन्छन् । तर ६० प्रतिशतभन्दा बढी अल्कोहल मिसिएको स्यानिटाइजरले मात्र किटाणुहरु मार्ने र सर्नबाट जोगाउने विशेषज्ञहरुको बताउँछन् । ह्याण्ड् स्यानिटाइजर अन्वेषक सन् १९६६ मा पहिलोपटक एक विद्यार्थी नर्स ल्युप हरन्यानडेजले हात धुने सामाग्री नभएको अवस्थामा रक्सी मिसिएको जेल जस्तो सामाग्री प्रयोग गर्न सकिन्छ भनेकी थिईन् । तर, सन् २००९ मा एचवान एनवान भाईरस स्वाईन फ्लुले महामारीको रुप लिएपछि स्वास्थ्य संस्थाहरुमा यसको प्रयोग गर्न थालिएको हो । सम्भव भएसम्म साबुन पानी नै आफ्नो सुरक्षित स्थानमा आइसकेपछि हात साबुन पानीले सफा गनुहोस् । सुरक्षित स्थान भन्नाले तपाईको घर, तपाईको कार्यस्थल, तपाईको बस्ने कुर्सी आदि हुन् । तर याद गर्नुहोस् साबुन पानीले गरिएको सरसफाईलाई केहीले पनि जित्न सक्दैन । साबुन पानी नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । सकेसम्म घर बाहिर हँुदा मात्र स्यानिटाइजरको प्रयोग गर्नुहोस् । यसलाई तपाईले ब्याकअपको रुपमा राख्न सक्नुहन्छ । थोरै प्रयोग गरौं किटाणु मार्छ भन्दैमा जति पायो त्यति स्यानिटाईजरको प्रयोग गर्नु राम्रो होइन । स्यानिटाइजर थोरै पनि धेरै हुने गर्दछ । चाहिनेभन्दा बढी स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, फुट्ने, छालाको प्राकृतिक तेल हराउने जस्ता समस्या देखापर्दछ । बालबालिकाको लागि हानिकारका ह्याण्ड स्यानिटाइजरमा सामान्यत ६० प्रतिशतभन्दा बढी मात्रामा अल्कोहल हुने गर्दछ । बालबालिकाहरु आफ्नो हात बारम्बार आँखा, मुखमा लैजाने गर्दछन् । विभिन्न अध्ययनले अल्कोहलयुक्त स्यानिटाइजरले बालबालिकाहरुको मुखमा परेको अवस्थामा स्वास्थ्यमा असर गर्न देखाएको छ । १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसले विशेष असर गर्ने देखिएको छ । स्यानिटाइजर बालबालिकाको मुखमा परे आँखा चिलचिलाउने, सुन्निने, वान्ता हुने, मुख चिलाउने, खोकी लाग्ने, पेट दुख्ने र कुनै अवस्थामा त बालबालिकाको मृत्युसमेत हुने पनि गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले स्यानिटाइजर प्रयोग गरिसकेपछि बालबालिकाले नभेट्ने गरी टाढा राख्नुपर्छ । अभिभावकालाई सचेत बनाउन औषधी पसलेहरुले मुख्य भुमिका खेल्न सक्छन् । भाइरसलाई बाँच्न र अर्काे भाइरस जन्माउनको लागि एक जिवित कोषको आवश्यक हुन्छ । त्यसैले हात फोहोर भएको अवस्थामा वा अन्य समयमा पनि आँखा मिच्ने, हात बारम्बार मुखमा लैजाने, घाउहरु छुने काम नगरौं । यसो गरियो भने भाइरस बाँच्न वा अर्काे भाइरस जन्मन सक्ने खतरा रहन्छ । अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमहरुले तयार पारेको सामग्रीमा आधारित

राति निन्द्रा नलागेर तनावमा हुुनुहुन्छ? छिनभरमै निदाउन अपनाउनुस् यस्ता उपाय

काठमाडौं । हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ  । व्यस्तसँगै कतिपयमा तनाव पनि उतिकै  हुन्छ। जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्ने  हुन्छ । यहाँ जोकोहीलाई  पनि भोलिको चिन्ता छ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । कसरी पाउने आनन्दको निन्द्रा ? – आनन्दको निन्द्राका लागि लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् । – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । – गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । – सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । – संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् । – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । –सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । (अंग्रेजी साईटको सहयोगमा)