भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाइँदै

भक्तपुर । भक्तपुरका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए । जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको छ । उनले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएका र खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित रहेका जानकारी दिए । स्वास्थ्य सेवा विभाग,बालस्वास्थ्यका अनुसार सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा सोमबारबाट शुरु भएको अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ । पहिलो र दोस्रो चरणको खोप अभियानमा करिव ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जनाइएको छ । दादुरा–रुवेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ सञ्चालन भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन् । पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सो खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । ती मध्ये नेपाल सरकार को १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड रहेको बताइएको छ । रासस

कैदीबन्दीले सुरु गरे मास्क उत्पादन, बजार मूल्यभन्दा १ सय ५० प्रतिशत सस्तो

काठमाडौं । कारागारका कैदिबन्दीहरूले मेडिकेटेड सेफ्टि मास्क उत्पादन सुरु गरेका छन् । मकवानपुर जिल्लाको भीमफेदी गाउंपालिकामा रहेको क्षेत्रिय कारागारका कैदिबन्दीहरूले मास्क उत्पादन सुरु गरेका हुन । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट सजगता अपनाउन भीमफेदी कारागारमा मेडिकेटेड सेफ्टि मास्क उत्पादन गर्न थालेको हो । कारागार प्रमुख जेलर प्रकाश खनालले चार जना कैदीबन्दीले दैनिक दुई सय देखि तिनसयसम्म मास्क उत्पादन गर्दै गरेको र आबश्यकता अनुसार माग भएमा दैनिक पाँचसम्म उत्पादन गर्ने क्षमाता रहेको बताए । बजारमा ३० देखि ५० रुपैयाँमा बिक्री हुने मास्क कारागारले २० रूपैयामा नै बिक्र गर्न सक्ने खनालले बताए ।  कैदीले उत्पादन गरेको मास्क १ सय ५० प्रतिशत मूल्य सस्तो छ ।

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण देखिएपछि १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने बताए । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ । रासस