हात्ती पाइलेविरुद्धको औषधि निर्धक्क सेवन गर्न चिकित्सककाे आग्रह

नेपालगञ्ज । चिकित्सकले हात्तीपाइले विरुद्धको औषधि निर्धक्कसँग सेवन गर्न आग्रह गरेका छन् । बाँके जिल्लामा माघ २५ देखि २७ गतेसम्म हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाको कूल एकलाख ७३ हजार ७ सय ९४ जनसङ्ख्यामध्ये एकलाख ४५ हजारले यो औषधि सेवन गर्ने लक्ष्य लिइएको छ । यसपटक औषधि खुवाउन विद्यार्थीलाई समेत परिचालन गरिने भएको छ । दुई वर्षभन्दा कम र ७० वर्षभन्दा बढी उमेर समूहका व्यक्ति, गर्भवती र गम्भीर बिरामीबाहेकका व्यक्तिले ढुक्कसँग औषधि सेवन गर्न सक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । स्थानीय तहले सम्पूर्ण घरमा पुग्नका लागि आवश्यकताअनुसार योजना बनाएर समय निर्धारण गर्न सक्छन् । औषधि सेवनपछि रोगको सङ्क्रमण भएका व्यक्तिमा सामान्य असर देखिने भन्दै स्वास्थ्यकर्मीले निर्धक्कसँग औषधि सेवन गर्न सबैमा अनुरोध गरेका छन् । भेरी अस्पतालका डा. खगेनद्रजङ्ग शाह, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, दुर्गा गौतमले औषधि निर्धक्कसँग खान सबैलाई अपिल गरे । आधारभूत स्वास्थ्य केन्द्र स्थापना खजुरा गाउँपालिका–४ को इ–गाउँको चोकमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसअघि यो वडाका जनताले कपास विकास समिति नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिँदै आएका थिए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले केन्द्रको उद्घाटन गर्दै गाउँपालिकालाई स्वास्थ्य, शिक्षा र खेलकूदका हब बनाउने बताएका छन् ।

कान्तिबाल अस्पतालको ब्लड बैंक सेवा पुनः सुचारु हुने, राउन्ड टेबल नेपालसँग सम्झौता

काठमाडाैं । कान्तिबाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुनः सुचारु हुने भएकाे छ । साे सम्बन्धि राउन्ड टेबल नेपाल र कान्तिबाल अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप काठमाडाैं जिल राउन्ड टेबल २२ (राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयंम सेवकलाई लाग्ने खर्च व्यहोर्ने गरी उक्त सेवा पुन: सञ्चालन गरिने छ । रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुका लागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने विश्वास लिईएको छ । यसका साथसाथै राउन्ड टेबल नेपालले अस्पतालाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्नेछ । गत अक्टोबर २०१९ मा पुन: सञ्चालनमा ल्याईएको यस ब्लड बैंकले हालसम्म करिब १० औं हजार बालबालिकाहरुको हित गरेको छ । साथै, आउँदा दिनहरुमा यसले निरन्तर सेवा पुर्याउने छ । राउन्ड टेबल नेपाल बालबालिकाहरुको बृहत्तर हित, राम्रो शिक्षा र स्वस्थ जस्ता महत्वपूर्ण बिषयमा सेवा पुर्याउने उद्देश्य बोकेको समाजसेवामा समर्पित युवाहरुको समुह हो ।  

चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल

काठमाडौं । पछिल्लो समय चिनियाँ भाइरसको उनामले चिनिने कोरोनो भाइरस त्रासको रुपमा फैलिएको छ । चीनमा मात्र होइन एसियाली देशहरुमा यो भाइरसको संक्रमण फैलिएको बताइएको छ । सबै देशहरुले यो भाइरसबाट बँच्न सतर्कता अपनाएका छन् । यस अघि कतै विज्ञानमा पनि नपाइएको एउटा रहस्यात्मक भाइरस चीनमा भेटाइएको छ । हालै यो भाइरस जापान, थाइल्याण्ड र दक्षिण कोरियालगायतका देशहरुमा पनि देखा परेको छ ।  हालसम्म यो रोगबाट २ सयभन्दा बढी मानिस प्रभावित भइसकेको जनाइएको छ । यद्यपी बेलायतका विज्ञहरुले यसबाट प्रभावित हुनेको संख्या १७ सय पुगेको अनुमान गरेका छन् । के हो कोरोना भाइरस ? चिन र विश्व स्वास्थ्य संगठनले यो भाइरस नयाँ कोरोनो भाइरस भएको पुष्टि गरेका छन् । बिरामीहरुको भाइरसको नमुना लिएर ल्याबमा परिक्षण गरिएसँगै यो नयाँ भाइरस भएका उनीहरुले पुष्टि गरेका हुन् । यो भाइरसहरुको एउटा कारोनो भाइरस हो । यो भाइरसहरुमध्येको सातौं भएको बुझिएको छ । गम्भिर स्वासप्रश्वासका समस्याहरु कोरोनाभाइरसको कारण लाग्ने गर्दछ । ज्वरो, खोकी, स्वास फेर्नुमा कठिन हुनु यसको लक्षण हुन् ।  सन् २००२ मा यस भाइरसको एक प्रजाती सार्सको संक्रमणको कारण चिनमा ७ सय ७४ मानिसको मृत्यु भएको थियो भने ८ हजार ९८ मानिसहरु संक्रमित भएका थिए । यो रोगले विगतमा त्रास फैलाएको कारण पनि अहिले मानिसहरु डराइरहेका छन् । तर, चीन भने कोरोनो भाइरससँग लड्न आफुसँग प्रविधि भएको दावी गर्छ । के यो गम्भिर छ ? कोरोनो भाइरसले सामान्य ज्वरोदेखि मानिसको ज्यानै पनि लिन सक्छ । यो भाइरसले ठ्याक्कै यही गर्छ भन्ने अहिले सम्म भन्न नसकेपनि धेरै खालका लक्षण भने देखिन्छन् । एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर मार्क वुलहाउस भन्छन्, ‘जब हामी नयाँ कोरोना भाईरस पत्ता लगाउँछौं तब हामी त्यसको लक्षण कत्तिको गम्भिर छ भन्ने कुरामा ध्यान दिन्छौं, यसको लक्षण चिसोको जस्तो देखिन्छ यद्यपी यो सार्स (कारोन ेभाईरसको एक प्रजाती) जति गम्भिर छैन ।’ कहाँ बाट आयो कोरोना भाइरस ? नयाँ भाईरसहरु समय समयमा पत्ता लागिरहेका हुन्छन् । तिनिहरु एक प्रजातिबाट दोस्रो प्रजातिमा पस्ने गर्छन् । उनीहरु चालै नपाई मानिसमा पनि पस्छन् । यो भाइरसको पनि प्राथमिक स्रोत जनावरहरु रहेको वैज्ञानिकहरुले बताएका छन् । मानिसको जनसंख्याको धेरै भएको कारण मानिस र जनवारसँगको सम्पर्क नजिक हुनाले चिनमा नै यो देखा परेको विशेषज्ञहरु बताउँछन् । कोरोना भाइरस एक मानिसबाट अर्कोमा सरेको कुनै पनि केस नभेट्टिएको चिनिँया अधिकारी बताउँछन् । यद्यपी, यो नयाँ भाईरसले फोक्सोमा समस्या देखाई खोकी र हाच्छिउँ लाग्ने हुनाले यो भाइरस एक व्यक्तिबाट दोस्रो व्यक्तिमा सर्दैन भन्न नसकिने विशेषज्ञहरु बताउँछन् । नेपालमा के छ अवस्था ? यो भाइरसबाट बँच्न नेपालले पनि सतर्कता अपनाएको छ । चीनमा देखिएको नयाँ कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न स्वास्थ्य मन्त्रालय अन्तगर्तको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको महाशाखा निर्दशक विवेक कुमार लालले बताएका छन् । हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको निर्देशक लालले बताए । यद्यपी कर्मचारी भने अझै अपुग भएको उनी बताउँछन् । हाल हेल्थ डेस्कमा चार जना खटेका छन् । कोरोनो भाईरसलाई जाँच्न सामान्य मेसिनले नै काम हुने बताइएको छ । यो भाइरसबाट बँच्नका लागि जिवित जनावहरुसँग सम्पर्क घटाउनु पर्ने डाक्टरहरु बताउँछन् । मासु र अण्डा खाँदा पनि राम्रोसँग पकाएर खान डाक्टरहरुले सुझाव दिएका छन् ।