वाणिज्य संघका सदस्यलाई पुरानो मेडिकल कलेजको सम्पूर्ण सेवामा २० प्रतिशत छुट

काठमाडौं । पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघबीच आपसी सहकार्यमा छुट सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ। गत वर्ष पनि उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस स्मरण पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य विभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका हुन् । यस वर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए् । नीजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण बैध सदस्यहरुले अस्पताल तर्फका सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैध सदस्य ४ सय जति रहेका छन ।आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत वर्ष जस्तै यश वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गरे । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यश अस्पतालमा पहिला देखिनै स्वास्थ बीमा, कडा रोग , डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारीहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा. राजेश यादवले बताए । उद्योग वाणिज्य संघका सम्पूर्ण बैध सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क व्यक्ति व्यवस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघ संगको सहकार्यमा पिछडिएको क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।

साढे छ करोड लागतमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण

बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिएका हुन् । उक्त भवनको निर्माण थेगींम, गाल्वा भगवती जेभी इलामले गरेको हो । अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए । “स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ ।” स्थानीयस्तरमै सुविधायुक्त स्वास्थ्य संस्था बनाउने उद्देश्यले स्थानीयवासी चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए । अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याइने उनको भनाइ थियो । हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ । यसैबीच, शहरी विकास तथा भवन निर्माण कार्यालयले कचनकवलको घेराबारीमा रु एक करोडको लागतमा निर्मित स्वास्थ्यचौकी भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । रासस

मन्त्रालयले बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किए

डाेटी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडिसकेको बताइएको छ । डोटी जिल्ला अस्पतालमा आएको नयाँ एम्बुलेन्सका चालक रतन धामीले सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्स थन्क्याएर पुरानै एम्बुलेन्स चलाइरहेको बताए । उनले मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, ओरालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति लिनखोजे पल्टिनेलगायतका समस्या भएको जानकारी दिए । उनले भने, “नयाँ एम्बुलेन्स चलाउनु त जोखिम मात्र छ, त्योभन्दा पुरानै ठीक छ, जोखिम मोलेर के यस्तो एम्बुलेन्स चलाउनु ।” मन्त्रालयले दिएकोभन्दा विभिन्न सङ्घ संस्थाले दिएका पुरानै एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको अर्का एम्बुलेन्स चालक भीम विष्टले बताए । उनले भने, “एम्बुलेन्स पुराना छन्, रङ रोगनले मात्रै नयाँ भएको हो, त्यसैले चलाउनै डरलाग्छ ।” मन्त्रालयले बाँडेका एम्बुलेन्स धामधम बिग्रिन थालेको चालक बताउँछन् । ग्राउण्ड क्लिरियन्स पनि अत्यन्त कम भएका कारण पहाडी कच्ची सडकमा ती एम्बुलेन्स चलाउन अत्यन्त कठिनाइ भइरहेको उनीहरुको दाबी छ । निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको जिल्ला अस्पतालले जनाएको छ । कतिपय एम्बुलेन्सको इसिजी मनिटर पनि खसिसकेको दाबी चालकहरुको छ । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्यचौकी र अस्पतालका कर्मचारीले गुनासो छ । मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले कतिपय एम्बुलेन्समा ब्रेकको समस्या रहेको गुनासो आउने गरेको स्वीकार गरे । उनले भने, “एम्बुलेन्समा ब्रेकको समस्या भएको गुनासो आउने गरेको छ , हामीले मर्मतका लागि सिप्रदी ट्रेडर्समा पठाउने गरेका छौँ ।” चिकित्सक, परिचालिका र सघन उपचार कक्षसहितको सुविधा हुने भनिएको एम्बुलेन्समा इसिजी सेवामात्र रहेको पनि चालक बताउँछन् । मन्त्रालयले कात्तिक २० गते सुदूरपश्चिमका विभिन्न अस्पतालमा १६ एम्बुलेन्स वितरण गरेको थियो । रासस