नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप

निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस

दशैं आहारमा कसरी सन्तुलन मिलाउने ?

काठमाडौं । मांसहारीहरूको पर्व समेत भनेर चिनिने दशैं को लागि उपत्यकामा मात्रै २५ हजार भन्दा बढी पशुपंछी भित्रिएका छन् । दशैंको समयमा मासुका परिकार सबैभन्दा बढी बन्ने भएको कारण पनि यसैलाई लक्षित गर्दै हजारौंको संख्यामा पशुपंछीहरू भित्रिएका छन् । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दशैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । बनाउन सजिलो, मिठो र सबैलाई मनपर्ने भएकोले पनि मांसाहारी मानिसहरूका लागि मासुको परिकार पहिलो रोजाइ हो । मासुलाई सन्तुलन मिलाएर नखाने हो भने यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । मासुमात्र नभएर जुनसुकै पनि खानेकुराहरूको सन्तुलन मिलाएर नखादा त्यसले स्वास्थ्यमा निकै नै नराम्रो असर पार्छ । प्रस्तुत छ दसैंमा के कस्तो कुरामा खान ध्यान दिने भन्ने विषयमा आहर विज्ञ मिरा शाहसँग गरेको कुराकानीको आधारमा तयार पारिएको स्वास्थ्य टिप्सः धेरै मासु खादाका बेफाईदाहरू धेरै छन् । यसले कोलेस्ट्रोल, मधुमेहको विरामी, युरिक एसिड तथा मुटुको विरामीहरूले मासुको परीकार धेरै मात्रामा खाँदा स्वास्थ्यमा अन्य मानिसको दाँजोमा बढी असर गर्दछ । मासुमा पनि खसी, भैंसी, सुगुरको रातो मासु स्वास्थ्यको लागि घातक हुन्छ । खाने कुरा खादा उमेरले पनि मानिसलाई असर गर्छ । कति उमेरको व्यक्तिले कति खानु उपयुक्त हुन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले पाहुना आयो भन्दै दिनभरी खाएको खाएकै गर्नुहँुदैन र खाए पनि हरेक पटक खाँदा २÷३ पिस खानुपर्दछ । कस्तो मासु खाने ? सकभर मासुलाई जिन्दगीबाट केही टाढा नै राखेको राम्रो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । यस्तो मासु खादा मानव शरिरलाई त्यति हानी पुर्याउँदैन । मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ त्यसैले चाडवाडमा मात्र नभएर अन्य समयमा पनि पोलेका मासुहरु खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । बरु यस्तो मासुका परिकार भन्दा ग्रेभिवाला मासु खाँदा राम्रो हुन्छ । त्यो बाहेक ‘लिङ मिट’ जुन छाला र बोसो रहित हुनेगर्छ । त्यस्तो मासु सामान्य मासुभन्दा स्वस्थकर मानिन्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा राम्रो । खाएपनि रातोमासुको तुलनामा सेतो मासु खाँदा धेरै स्वस्थकर मानिन्छ । धेरै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिदैन । स्ट्यान्डर्ड मदिरा मात्र पिउने चाडवाडमा अर्को धेरै प्रयोगमा आउने सामग्री भनेको मदिरा हो । कति मानिसहरू मदिरा सेवन गर्नकै लागि दसैं जस्तो चाडलाई कुर्ने गर्छन् । कामको तनावबाट टाढा र साथीभाइ, परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुशीको रुपमा मनाउनलाई चाडवाडमा यसको व्यापक प्रयोग हुने गर्दछ । तर, मदिरा सेवन कहिले पनि स्वास्थ्यको लागि उचित भने होईन । थोरै मदिरा पनि स्वास्थ्यको लागि फाइदाजनक नभएको अवस्थामा चाडवाडमा अत्याधिक मदिरा सेवनले मानिसहरुमा मुटुरोगको समस्या निम्ताउने गर्दछ । अझै मुटुरोगीहरूले त यसको त झन् सेवन गर्नुहुदैन । मुटुरोग भएका बिरामीहरूले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन पर्छ । सामान्य अवस्था भएका मानिसहरुले नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मले तय गरेको स्ट्यान्डर्ड ड्रिन्क्स सेवन गर्दा राम्रो हुन्छ । नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मको अनुसार १४ ग्राम मदिरा रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबेटिज एसोसिएसनका अनुसार ह्विस्की, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नलाई ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरूले दैनिक एक तथा पुरुषहरूले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने बताइन्छ । खाली पेटमा रक्सी कहिले पनि नखाने । खाली पेटमा रक्सी खाँदा बेहोस् भइने र अस्पताल नै भर्ना हुने अवस्था आउँछ । धेरै खाएर एकै ठाउँमा लामो समय नबसौं चाडवाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ । जुवातास खेल्ने मानिस लामो समयसम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन् । यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, हाई प्रेसर भएर मुटुको नलीहरू पनि फुटिएको देखिन्छ । त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । खानामा कार्बोहाईड्रेट कम गर्ने हाम्रो दैनिकको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको चामलको भात र आलु हो । तरकारीको राजा भनेर चिनिने आलुको चाडवाडमा धेरै पारिकार बन्ने गर्छन् । आलु र चामलको भातमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । जसले सुगरको बिरामीलाई सबैभन्दा बढी असार गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाउन सकिन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । खानेकुरा साँचेर नराख्ने खानेकुराहरूलाई राम्रोसँग स्टोर गरेर राख्न नसक्दा पनि मानिसहरू चाडवाडमा बिरामी पर्ने गर्छन् । सबैभन्दा पहिला सकेसम्म खानेकुराहरू जति ताजा खायो त्यति नै राम्रो हुन्छ । तर, धेरै नै भएको अवस्थामा खाना साँचेर राख्दा खानालाई हावा नछिर्ने तरिकाले छोपेर राख्नु पर्छ । राम्ररी नछोपेको अवस्थामा हावा छिरेर खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छ । पकाएको मासुका परिकार र नपाएको मासुका परिकारलाई छुट्टाछुट्टै राख्नुपर्दछ र २ दिन भन्दा बढी लामो समय खाना स्टोर गर्नु हुँदैन । धेरै स्टोर गरेको खाना खाँदा फुड पोइज हुने सम्भावना हुन्छ । खाने वित्तिकै नसुत्ने कहिले पनि खाएको वित्तिकै सुत्नु हुँदैन । खाना खाएर सुतेको अवस्थामा मुटुका धड्कहरू बन्द हुन गई मानिसको मृत्यु हुने हुन्छ । त्यसैले पनि हामी कतिपय अवस्थामा बेलुका खाना खाएर सुतेको मानिस बिहान मृत अवस्थामा भेटिन्छ । खाना खाएपछि २ घण्टासम्म सुत्न हुँदैन ।

सुर्ती उद्यमीको प्रभाव र हस्तक्षेपका कारण स्वास्थ्यमा गम्भीर असर

काठमाडौँ । नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् । यो अध्ययन नेपालसहित ३३ ओटा मुलुकमा गरिएको थियो । ३३ ओटा मुलुकमा नै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पहिलो पटक नेपालमा विहिवार प्रतिवेदन सार्वजनिक गरिएको हो । सो प्रतिवेदनलाई विहिवार नै रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विश्व स्वास्थ्य संगठनका कन्ट्रि रिप्रिजेन्टिटिभको उपस्थितिमा स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीलाई हस्तान्तरण गरेका थिए । विभिन्न संघसंस्थाले ३३ ओटा मुलुकमा गरेको अध्ययनमध्ये उद्योगीको हस्तक्षेप कम भएको मुलुकको ८औं स्थानमा नेपाल रहेको छ । अध्ययन अनुसार दक्षिण एसियामा भारत, श्रीलंका र बंगलादेशमा सवैभन्दा वढी उद्यमीको हस्तक्षेप रहेको छ । अध्ययनअनुसार नेपालमा उद्यमीले नीति निर्माण चरणमा नै नीति निर्मातालाई आर्थिक लाभ दिने गरेका छन् । सुर्ती उद्योगको नाममा सामाजिक उत्तरदायित्वको काम गरी प्रचार गरिरहेका छन् । निर्माता निर्देशकलाई प्रभाव पारी विभिन्न चलचित्रहरुमा कलाकारलाई धुम्रपान गर्न लगाएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन र नियमावली अनुसार सुर्तीबाट हुने हानी देखिने रंगीन चित्र सुर्तीको प्याकेटमा ९० प्रतिशत हालिएको छैन । प्रतिवेदन सार्वजनिक गर्दै प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सुर्ती उद्योगलाई उच्च करदाताको सम्मान दिएर राज्यले जनताको स्वास्थ्यमा खेलवाड गर्न प्रोत्साहन गरिरहेको बताए । अर्थमन्त्रालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालयले सुर्ती उद्यमीसँग गरेका छलफल र निर्णय पारदर्शी नहुनु हस्तक्षेपको नमुना भएको प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगले गर्ने प्रचार तथा प्रवद्र्धनात्मक खर्च र आम्दानी पारदर्शी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सुर्ती उद्योगको हस्तक्षेपलाई न्यूनीकरण गर्न स्थानीय तह र सहायक जिल्ला अधिकारीलाई वढी जिम्मेवारी र शक्तिसम्पन्न गर्नुपर्ने कुरा प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका कन्ट्रि रिप्रिजेन्टिटेटिभ डा.जोस भेन्डेलरले सुर्ती प्याकेटमा पूरै ढाकिने गरी रंगीन चित्र राख्नुपर्ने र ब्रान्डको नाम सवभन्दा सानो अक्षर बनाउनतिर विश्वको ध्यान जानुपर्ने बताए । नेपालमा अन्तराष्ट्रिय कानुन र राष्ट्रिय कानुन विपरित खुल्ला रुपमा सुर्तीको बेचविखन हुने गरेको बताए । उनका अनुसार नेपालमा सुर्ती सेवनकै कारण वर्षेनी २७ हजार १ सय ३७ जनाको ज्यान गइरहेको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुन्जप्रसाद जोशीले सुर्ती सेवनमा मात्रै नेपालीले वार्षिक ४७ अर्ब रुपैयाँ खर्च गरिरहेको जानकारी दिए । उनले भने,‘ सुर्तीका कारण १० वर्षअगाडिसम्म १६ हजारको मात्र मृत्यु हुन्थ्यो अहिले एकाएक २७ हजार पुगिसकेको छ ।’ नेपालमा कानुनभन्दा सामाजिक मुल्य मान्यताले काम गर्ने भएकाले सुर्ती नियन्त्रणका लागि सामाजिक अभियान चलाइ सुर्ती खानु हुँदैन भने संस्कार बसाउनुपर्ने तर्फ उनको जोड रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालले लगभग ३१ प्रतिशत नेपालीले सुर्ती सेवन गर्ने गरेको र मृत्युको १७ प्रतिशत प्रमुख कारण सुर्ती रहेको छ । ९० लाख सुर्ती सेवनकर्ता नेपालीमध्ये १० लाखलाई जोखिमपूर्ण दीर्घ रोग रहेको पनि उनले जानकारी दिए । सञ्चारकर्मी भगवती तिमिल्सिनाले सुर्तीजन्य पदार्थका असरका सम्वन्धमा पर्याप्त सूचना हुँदाहुँदै पनि प्रवक्तामार्फत लिनुपर्ने वाध्यताका कारण जनताले समयमै सही सूचना प्राप्त गर्न नसकिरहेको बताए । उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले पुरस्कारको लोभमा आवश्यक गृहकार्य नगरी सुर्तीको प्याकेटमा ९० प्रतिशत हानिकारक चित्र ल्याउने व्यवस्था ल्याउँदा सुर्ती उद्यमीले चलखेल गर्ने मौका पाएको र मुद्दाको किनारा लाग्न समय लागेको बताए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्राडा शरदराज वन्तले सुर्ती उद्यमीको बदमासीका विरुद्ध सशक्त आवाज उठाउन हामी फ्रेमभन्दा बाहिर पनि जान सक्नुपर्ने बताए ।