मिर्गौलाका बिरामीको चाप बढ्दै भेरी अस्पतालमा
राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो रहेको छ । अस्पतालमा अहिले दैनिक तीन चरणमा नौ जना मिर्गौलाका बिरामीको डायलासिस सेवा हुने गरेको अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए । उनका अनुसार, भेरी अस्पतालमा २३ जना मिर्गौलाका बिरामी डायलासिस सेवाका लागि आउने गरेका छन् । अस्पतालमा रहेका तीन वटा डायलासिस मेसिनमार्फत एक चरणमा तीन जनाको मात्रै डायलासिस हुने भएकाले अन्य बिरामी पालो कुर्न बाध्य छन् । अस्पतालमा डायलासिसका लागि आउने मिर्गौलाका बिरामीको चाप बढ्दो भएको जानकारी दिँदै अस्पतालका हेमोडायलासिस युनिट प्रमुख डा. श्रेष्ठले भने, “अहिलेसम्म हामी कहाँ पालो पर्खेर बस्नुभएको बिरामीको सङ्ख्या २३ रहेको छ । बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य छौँ ।” बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । चार वटा मेसिन रहेकामा एउटा मेसिन बिग्रिपछि तीन वटा मेसिनले मात्र सेवा दिने गरिएको डा. श्रेष्ठले बताए । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रुपानन्द अधिकारीले बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको बताए । उनले बिग्रिएको मेसिन एक÷दुई दिन भित्रैमा मर्मत भई सञ्चालन हुने उल्लेख गर्दै मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् । रासस
एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस
नेपालकै ईतिहासमा पहिलोपटक ‘सुदिप्ता बाल क्यान्सर सर्भाइभर र्याम्प सो’ सम्पन्न
काठमाडौं। नेपालकै ईतिहासमा पहिलोपटक आयोजना गरिएको ‘सुदिप्ता बाल क्यान्सर सर्भाइभर र्याम्प सो’ सम्पन्न भएको छ। नेपाल क्यान्सर समुह र नेपाल क्यान्सर अस्पतालको संयोजकतामा कार्यक्रम सम्पन्न भएको हो। शनिबार सानेपा स्थित हेरिटेज गार्डनमा भएको कार्यक्रममा करिब ५० भन्दा बढी क्यान्सर सर्भाइभरबालबालिकालाई र उनिहरुलाई हौसाल प्रदान गर्न नेपाल क्यान्सर अस्प्तालका डाक्टरहरु र्याम्पमा उत्रिएका थिए। बालबालिकाको क्यान्सरको उपचार सम्भव छ भन्ने सन्देश फैलाउन र क्यान्सर भएता पनि बालबालिकाहरुले उनिहरुको जिनद्गीको मिठास कहिले पनि नभुलुम् भन्ने उदेश्यको साथ आफुहरुले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले बताईन्। शो मा क्यान्सर सर्भाइभर बालबालिकाले आफ्नो उपचारको क्रममा भएका घटनाहरु सुनाउँदै आफ्न प्रतिभाहरु प्रदर्शन गरेका थिए। कार्यक्रममा मुख्य अतिथीको रुपमा उपराष्ट्रपति नन्द किशोर पुनको उपस्थिती रहेको थियो। पुनले कार्यक्रममा बोल्दै नेपाल क्यान्सर अस्पताललाई धन्यवाद दिदैँ आफुले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा धेरै व्यक्तीले बालबालिकाको उपचारको लागि रकम पनि दान गरेका थिए। कार्यक्रम संयोजकता स्वोरुपा श्रेष्ठले सबैलाई अझै सहयोग गरिदिन आग्रह गरिन्। उनेल आगामी दिनमा क्यान्सर क्षेत्रमा नेपाल क्यान्सर अस्पताल र नेपाल क्यान्सर सपोर्ट ग्रुपले अझै राम्रो गर्दै जाने प्रतिबद्दता जनाईन्। विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाखको हाराहारिमा क्यान्सरका बिरामी रहेका छन्। प्रत्एक बर्ष ९० लाखको मानिसको मृत्यु क्यान्सरका कारण हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर भएको अनुमान गरिएको छ । प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ । नेपाल जस्तो विकास उन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगालिकता , गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याउन सकिने स्थिति छैन । समयमा रोगको पहिचान नहुनाले अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिने नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताउँछन्। उनी भन्छन् —‘समाजका अन्य स्वस्थ बालबालिकाको समुहमा उनीहरुलाई प्रतिस्थापित गर्न र देशको जिम्मेवार भावी नागरिकको रुपमा उनीहरुलाई तयार पार्न सहयोग गर्ने उद्येश्यले मनोरञ्जनात्मक र्याम्प शो आयोजना गरिएको हो ।’ कार्यक्रम मार्फत संकलन गरिएको रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गरिने प्रतिबद्धता आयोजकहरुले गरेका छन् ।