नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ को लागि स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान
काठमाडौं – उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन्। स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञहरुकाे सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल हुने मन्त्रालयले जनाएको छ। रासस
क्यान्सर रोकथामको लागि जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्छः प्रा.डा.पौडेल
काठमाडौं । नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सर लगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए । क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे । विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए । त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागरबहादुर सिँहले वित्तीय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्व अनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए । हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
जनता बैंकले दोरम्बामा गर्यो निःशुल्क स्वास्थ्य शिविर, १ हजार बढीको स्वास्थ्य परीक्षण
काठमाडौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर,आँखा शिविर र स्तन क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो । स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नु पर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।