वीपी स्वास्थ्य प्रतिष्ठानले १०० श्ययाको सेवा विस्तार गर्ने

इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठान प्रशासनले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियारले प्रतिष्ठानका कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएपछि औपचारिकरुपले अस्पताल सेवा विस्तारको तयारी शुरु भएको हो । पुरानो अस्पताल भवनसमेत रहेको उक्त स्थानको भौतिक पूर्वाधारको उपयोगसहित अस्पताल सञ्चालनको जिम्मेवारी विगतमा जिल्ला जनस्वस्थ्य मातहतमा रहेको स्थानीय तहमा समायोजन भएको स्वास्थ्य चौकी र यसअन्तर्गत सञ्चालित पाँच श्ययाको बर्थिङ सेन्टर, पुनःस्थापना गृहको व्यवस्थापनका विषयमा छलफल अघि बढाएको हो । उक्त स्थानमा बसोबास रहेको पाँच सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकबाट सञ्चालित मिर्गौला रोगसम्बन्धी केएचडिसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास, अन्य जीर्ण भवनलगायतको अवस्थाका विषयमा समेत यथार्थ जानकारी दिने कार्य भएको छ । तामाङले उक्त स्थानको व्यवस्थापनका विषयमा उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे र वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडासँंग पनि अस्पताल सञ्चालनका सम्बन्धमा छलफल गरिसकेको बताए । रासस

अस्पतालमा औषधिको अभाव, डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले किन्नुपर्ने

धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए। बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ । सरकारले जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि अत्यावश्यक औषधिसमेत सकिएपछि अन्यौलमा परेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । नेपाल सरकारले निःशुल्क औषधि खरिद गर्नका लागि दिँदै आएको रु आठदेखि १० लाख रकम नपुग हुँदा निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन । जिल्ला अस्पतालमा दैनिक आउने करीब २०० बिरामीको परीक्षण गर्दा चिकित्सकले प्रयोग गर्ने सामग्री र र निःशुल्क औषधिका लागि करिब ७० लाख रुपैयाँ आवश्यक पर्ने भए पनि सरकारले उपलब्ध नगराउँदा निःशुल्क स्वास्थ्य सेवा प्रभावित हुने गरेको हो । रासस

मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा

काठमाडौं। दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो । प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या आठ रहेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ। अस्पतालले आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता छ । प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिनुभयो । सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । मन्त्री यादवले भन्नुभयो, “जनताको घर आँगनमा आधारभूतसहित विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउनु सरकारको पहिलो कर्तव्य हो, यस कार्यमा म जुटिरहेको छु, सहयोग गर्न आग्रह गर्छु ।” सरकारी अस्पतालमा जडान भएका उपकरण चाँडै बिग्रने र त्यस्तै उपकरण निजीमा हतपत किन बिगिँ्रदैन भन्ने प्रश्न गर्दै मन्त्री यादवले देश ग्रामीण भेगले बनेको छ, चिकित्सक शहरमा बस्दछन् अब समन्वय जरुरी छ भन्नुभयो । सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पु¥याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो । सम्मानित हुनेमा प्रा डा भोलाराज जोशी, प्रा डा महेश खकुरेल, प्रा डा कनकबहादुर रावत, प्रा डा गुणकुमार श्रेष्ठ, प्रा डा दिव्यासिंह शाह, प्रा डा प्रेमराज ज्ञवाली, प्रा डा उत्तमकुमार शर्मा, प्रा डा लोकराज मरहठ्ठा, प्रा डा डेभिड फ्रान्सिस र उपप्रशासक कृष्णदेव पन्त हुनुहुन्थ्यो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा तीर्थराज खनियाँले आगामी दिनमा चिकित्सा अध्ययन संस्थानको क्षमता बढाउन सहयोग थप्दै जाने बताउनुभयो । मिर्गौैला रोग विशेषज्ञ प्रा डा शाहले अध्ययन संस्थानले मिर्गाैला प्रत्यारोपण गरी नयाँ युगको शुरुआत गरेको भन्दै आगामी दिनमा यसको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रत्यारोपणको दिनसम्म आइपुग्न विभिन्न कठिनाइ आइप¥यो, यसलाई सहजतापूर्वक समाधान गर्दै नयाँ इतिहास बनाउने काम गरियो ।” सम्मानित प्रा डा फ्रान्सिसले पहिलो प्रत्यारोपण कार्य अन्तर्राष्ट्रिय मापदण्डभन्दा उच्च रहेको स्मरण गर्दै नेपाली चिकित्सकका ज्ञान, सीपको उच्च प्रशंसा गर्नुभयो । अर्का मिर्गौला रोग विशेषज्ञ प्रा डा उत्तमकुमार शर्माले मिर्गाैला प्रत्यारोपणका लागि छुट्टै केन्द्र स्थापना गर्न माग गर्नुभयो।रासस