भुजुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । माघ १२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
३०० भन्दा बढी ब्राण्डसहित नेपाल बिल्डकन माघ २२ देखि भृकुटीमण्डपमा
काठमाडौं । नेपाल बिल्डकनको एघारौँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । राष्ट्रको पहिलो र एकमात्र निर्माण क्षेत्रमा केन्द्रित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्ड सहभागी हुने भएका छन् । २०० भन्दा धेरै स्टल राखिने यस प्रदर्शनीमा आफ्ना बस्तु तथा सेवाहरू प्रदर्शन गर्न पाउँदा व्यवसायी तथा उद्यमीहरू पनि उत्साहित रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगत ११ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको नेपाल बिल्डकनले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै विदेशबाट आएका नवीनतम प्रविधि, सेवा र वस्तुहरू नेपालमा भित्राउने अवसर पनि प्रदान गरिन्छ । प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टाइल्स, स्यानिटरी वेयर, मोड्युलर किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, कन्स्ट्रक्सन केमिकल, पीभीसी/युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट, स्टिल लगायत निर्माणका सम्पूर्ण सामग्री र सेवाहरू उपलब्ध हुनेछन् । निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सबै पक्षलाई समेटेको यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी, व्यवसायी, डिज़ाइनर, ईन्जिनियर, आर्किटेक्ट र निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिहरूको साथै निजी आवास, व्यापारिक कम्प्लेक्स र व्यवसायिक भवन निर्माण गर्न चाहने व्यक्तिहरू तथा सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाई लुम्बिनी सेरामिक्स (लेमिनार टाइल्स) रहेको छ ।
चुनावको मुखमा किन फैलाइँदैछ ग्यास अभावको हल्ला ?
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको रौनक बढिरहेका बेला बजारमा एलपी ग्यास अभावको चर्चा हुन थालेको छ । व्यवसायीहरूले अहिले ग्यास अभाव भएको भन्दै उपभोक्तालाई रित्तै घर फर्काउन थालेका छन् । उनीहरूले बजारमा ग्यासको अभाव भएको र ग्यास नहुँदा पसल पनि खोल्ने अवस्था नभएको बताउँदै आएका छन् । ग्यास बिक्रेता महासंघ नेपालका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद दुलालले बजारमा ग्यासको अभाव भएको सुनाए । उनले विगत डेढ महिनादेखि ग्यासको अभाव भइरहेको बताए । उनका अनुसार ग्यास नहुँदा बिक्रेताहरूले पसल खोलेर बस्न सक्ने अवस्था पनि छैन । दुलालले ग्यास अभाव हुनुको मुख्य कारण भारतबाट आवश्यकताअनुसार ग्यासको लोडिङ नहुनाले भएकाे बताए । उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास नउठाएको र उठाएको ग्यास पनि बजारमा सहज रूपमा नआउँदा समस्या सिर्जना भएको उनको भनाइ छ । ‘हामीले आयल निगम र उद्योगी दुवै पक्षसँग छलफल गर्यौं,’ उनले भने, ‘उहाँहरूले केही सातामा सुधार हुने आश्वासन दिनुभएको छ । तर, गर्मीमा आएको जतिको ग्यास पनि अहिले जाडोमा नआएपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो ।’ ढुवानी भाडा, चालक सुविधा जस्ता उद्योग र निगम बीचका आन्तरिक समस्याका कारण पनि आपूर्तिमा असर परेको हुन सक्ने उनको तर्क छ । बजारमा ग्यास अभावको सबैभन्दा ठूलो मार एउटा मात्र सिलिन्डर प्रयोग गर्ने विद्यार्थी तथा सामान्य परिवारलाई परेको छ । दुई वा सोभन्दा बढी सिलिन्डर हुनेहरूले एउटा खाली भएपछि अर्को प्रयोग गर्ने भए पनि एउटै सिलिन्डरको भरमा रहेकाहरू भान्सा नै बन्द हुने अवस्थामा पुगेका छन् । ‘एउटा मात्रै सिलिन्डर बोकेर बस्ने मान्छेहरूलाई अहिले एकदमै समस्या परिरहेको छ,’ दुलालले चिन्ता व्यक्त गर्दै भने, ‘उनीहरू सिलिन्डर काँधमा बोकेर यताउता भौतारिनुपर्ने बाध्यता छ ।’ समाधानको आश्वासन छ, विश्वास छैन ग्यास बिक्रेता महासंघले आयल निगम र उद्योगीहरूसँग त्रिपक्षीय छलफल गरेर समस्या समाधान गर्न दबाब दिइरहेको छ । निगम र उद्योगीहरूले एक साताभित्र आपूर्ति ७०/८० प्रतिशत सहज हुने र एक/दुई महिनामा सतप्रतिशत सामान्य अवस्थामा फर्किने आश्वासन दिएका छन् । तर, पटक–पटकको आश्वासन पुरा नहुँदा बिक्रेता र उपभोक्ता दुवैमा विश्वासको संकट देखिएको छ । ‘हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं, सुझाव दिइरहेका छौं,’ दुलालले भने, ‘तर अन्त्यमा अवस्था कस्तो हुन्छ, भन्न सकिने अवस्था छैन । केही दिनमा सुधार होला भनेर अब ‘जय पशुपतिनाथ’ भन्ने बाहेक अरु उपाय छैन ।’ नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार समस्याको मुख्य जड भारतबाटै हुने आपूर्तिमा आएको कमी हो । ‘अहिले भारतबाट ग्यासको आयात नै कम भइरहेको छ । रिफाइनरीहरूमा लोडिङमा पनि समस्या छ,’ उनले भने, ‘यस्तो अवस्थामा बजारमा अभाव देखिनु स्वाभाविक हो ।’ व्यवसायीहरूका अनुसार जाडोयाममा ग्यासको खपत सामान्य अवस्थाभन्दा १५ प्रतिशतसम्म बढ्छ । तर, माग बढेको यही समयमा आपूर्ति घट्दा बजारमा दोहोरो मार परेको उद्योगी व्यवसायीहरूको भनाइ छ । ‘एकातिर खपत बढेर आपूर्ति बढाउनुपर्ने बेला छ, अर्कोतिर आयात नै घटेको छ । यो अवस्थाले अभावलाई झनै गहिरो बनाएको छ,’ घिमिरेले भने, ‘आपूर्ति बढाउनुपर्नेमा उल्टै घटेपछि हामीले चाहेर पनि बजारको माग धान्न सकेका छैनौं ।’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण ग्यासको खपत थप बढ्ने अनुमान छ । तर, हालकै आपूर्ति अवस्था कायम रहे निर्वाचनको समयमा संकट थप गहिरिन सक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । ‘अहिलेकै स्थिति हेर्दा अभाव तत्काल समाधान हुन्छ भन्न सक्ने अवस्था छैन,’ घिमिरेले भने, ‘यदि भारतीय पक्षले पर्याप्त ग्यास बुलेट उपलब्ध गराएर लोडिङ सहज बनाइदिएमा मात्रै हामीले बजारमा अभाव हुन दिने थिएनौं र तर, समस्या उतैबाट छ ।’ उद्योगहरूमा ग्यास नभएकै कारण बजारमा अभाव देखिएको र ग्यास आएपछि मात्रै वितरण सहज हुने उनको भनाइ छ । आयल निगम भन्छ- हल्लामात्रै हो नेपाल आयल निगमले भने आपूर्तिमा कमी भएर नभई केही ग्यास उद्योगको वितरण प्रणालीमा आएको अस्थायी समस्याका कारण भएको जानकारी दिएको छ । हाल बजारको मागभन्दा बढी ग्यास आयात र लोडिङ भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको र एक/दुई दिनभित्रै बजार पूर्ण रूपमा सहज हुने दाबी निगमको छ । निगमले बजारमा हल्ला फैलिएजस्तो अभाव नभएको बताएको छ । विशेषगरी काठमाडौं उपत्यकामा ठूलो बजार हिस्सा ओगटेको नेपाल ग्यासको सिलिन्डर रोटेसन र ढुवानीमा आएको समस्याका कारण उपभोक्ताले अभाव महसुस गरेको हुन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरको भनाइ छ । ‘देशैभरि ग्यास नपाइनुलाई अभाव भन्न सकिन्छ । तर, एउटा निश्चित उद्योगको वितरणमा समस्या आउँदा समग्र बजारमा अभाव छ भन्न मिल्दैन,’ निगमका प्रवक्ता ठाकुरले भने, ‘उक्त समस्या समाधान भइसकेको छ र अहिले आपूर्ति नियमित छ । ’ निगमका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक ७० देखि ७५ बुलेट (करिब १,२६० मेट्रिक टन) ग्यासको माग रहने गरेको छ । तर, हालको अवस्थालाई मध्यनजर गर्दै आपूर्तिलाई व्यापक बनाइएको छ । ‘मंगलबार मात्रै १४० बुलेट ग्यास लोड भएको छ र आज पनि १०० भन्दा बढी बुलेट भारतमा लोड हुँदैछ । यो मागभन्दा झन्डै दोब्बर हो,’ ती उनले भने । जाडो महिनामा पानी तताउने लगायतका काममा ग्यासको प्रयोग बढ्ने र आसन्न निर्वाचनका कारण पनि खपत बढ्न सक्ने आँकलन गर्दै निगमले थप १० प्रतिशत ग्यासको पीडीओ (उत्पादन वितरण आदेश) उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । यो निर्णयले चुनावका बेला हुनसक्ने सम्भावित अभावलाई समेत टार्ने विश्वास लिइएको छ । किन हुन्छ पटक-पटक अभाव ? नेपालको ग्यास आपूर्ति प्रणाली पूर्णतया भारतीय ढुवानीकर्तामा निर्भर रहनु अभावको एक प्रमुख कारण हो । निगमले ग्यास उद्योगहरूलाई कोटाअनुसार पीडीओ जारी गर्छ । तर, उद्योगहरूले भारतका पारद्वीप, बरौनी, मथुरा, हल्दियाजस्ता रिफाइनरीबाट ग्यास ल्याउन भारतीय ढुवानीकर्ता नै प्रयोग गर्नुपर्छ । ‘जाडोयाममा भारतमै ग्यासको माग बढ्दा भारतीय ढुवानीकर्ताले नेपालको भन्दा उतै ढुवानी गर्न प्राथमिकता दिन्छन्, जसले गर्दा कहिलेकाहीँ हाम्रो आपूर्ति चक्रमा असर पर्छ,’ निगमका प्रवक्ता ठाकुरले भने । निगमले सबै ग्यास उद्योगीहरूलाई चुनावको समयमा कुनै पनि हालतमा अभाव हुन नदिन आफ्नो संयन्त्र पूर्ण क्षमतामा परिचालन गर्न निर्देशन दिइसकेको छ । आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालमा वार्षिक ५ लाख ५३ हजार २५४ मेट्रिक टन ग्यास आयात भएको छ । यसलाई मासिक हिसाब गर्दा औसतमा ४६ हजार १०४ मेट्रिक टन हुन आउँछ । जुन गत वर्षको तुलनामा बढेको हो । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार विगत पाँच वर्षदेखि ग्यासको खपत निरन्तर बढिरहेको देखिन्छ ।