११ करोड ५६ लाख लागतको भवनबाट कालिका नगर सेवा सञ्चालनमा

चितवन । चितवनस्थित कालिका नगरपालिकाले आइतबारदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ ।       नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आइतबारदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए । निर्माणको ६ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्याइएको थियो ।       नगरपालिकाले म्याद थप नगरी जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषद्बाट गरेको छ । नगरपालिकाले निर्माण कम्पनीसँग एक करोड १६ लाख रुपैयाँ जरिवाना गरेको छ । प्रमुख रेग्मीका अनुसार ११ करोड ५६ लाख रुपैयाँको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो ।      विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा सुरुआत गरेको हो । नयाँ भवन आधुनिक सुविधासम्पन्न रहेको छ । भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष तयार गरिएको छ । साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनमार्फत सेवा प्रदान गर्नेछन् ।       साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी यस नगरपालिका बनाइएको हो । यस नगरपालिकाको जनसङ्ख्या ५२ हजारभन्दा बढी रहेको छ । यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास छ । नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिएसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको नगर प्रमुख रेग्मीले बताए । रासस     

नवप्रवर्तन कार्यक्रमका लागि कर्णालीका सात पालिकालाई ३ करोड ४० लाख बजेट

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि तीन करोड ४० लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकाहरूलाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।  नवप्रवर्तन कार्यक्रममार्फत डिजिटल प्रविधि, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य तथा उद्यम विकासजस्ता क्षेत्रमा रुपान्तरण ल्याउने उद्देश्य राखेर बजेट व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । छनोटमा परेका परियोजना स्थानीय आवश्यकता र प्रविधिमैत्री सेवाको विस्तारलाई केन्द्रमा राखेर तय गरिएको उनले बताए ।  प्रवक्ता शाहका अनुसार नवप्रवर्तन कार्यक्रमअन्तर्गत सानीभेरी नगरपालिका रुकुमपश्चिमको डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा प्रवाहका लागि रु ४२ लाख, शारदा गाउँपालिका सल्यानको एकीकृत डिजिटल सेवा तथा सूचना व्यवस्थापन प्रणालीका लागि रु ४२ लाख, चौरजहारी नगरपालिका रुकुमपश्चिमको प्रविधिमैत्री शिक्षाका लागि डिजिटल कक्षाकोठा व्यवस्थापन परियोजनामा रु ५५ लाख ६० हजार, नारायण नगरपालिका दैलेखको आर्थिक विकास र रुपान्तरणका लागि व्यावसायिक उद्यम विकास परियोजनाका लागि रु ५५ लाख ५१ हजार ७०० बजेट अख्तियारी दिने निर्णय गरिएको छ । त्यसैगरी, मुगुम कार्मारोङ गाउँपालिका मुगुको डिजिटल नवप्रवर्तनमा आधारित सामुदायिक अस्पताल सुदृढीकरण कार्यक्रमका लागि रु ७५ लाख, नलगाड नगरपालिका जाजरकोटको प्रविधिमैत्री एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनका लागि रु २२ लाख ८८ हजार ३०० र रास्कोट नगरपालिका कालीकोटको डिजिटल पालिका निर्माणका लागि रु ४९ लाख बजेट विनियोजन गरिएको उनले बताए । प्रदेश सरकारले ती परियोजनामार्फत स्थानीय तहमा प्रविधिको प्रयोग विस्तार गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरेको छ । साथै नवप्रवर्तनमार्फत स्थानीय आर्थिक गतिविधि सुदृढ पार्दै रोजगारी सृर्जनामा समेत टेवा पुग्ने विश्वास गरिएको जनाइएको छ ।  प्रवक्ता शाहका अनुसार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्नका लागि सिफारिस गरिएको छ । रासस   

पर्यटन पूर्वाधारका २७ आयोजना, २ करोड ३० लाख रुपैयाँ बजेट

काठमाडौं र मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी ३ वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्ने गरी बजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । उनका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि १ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारबाट अख्तियारी प्राप्त ३ वटा आयोजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवका लागि लोमान्थाङ गाउँपालिकामा ५, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २, घरपझोङ गाउँपालिकामा ९ र थासाङ गाउँपालिकामा ७ वटा आयोजना परेका एकीकृत सेवा कार्यालयले जनाएको छ । यसैगरी, प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्वयनको चरणमा रहेका ३ आयोजनामध्ये थासाङ, घरपझोङ र लोमान्थाङ गाउँपालिकामा १/१ वटा परेका प्रमुख दर्जीले जानकारी दिए । धार्मिक तथा पर्यटन पूर्वाधारसम्बन्धी ५ वटा आयोजनाका लागि २५ लाख रुपैयाँ बजेट परेको छ । सोमध्ये लोमान्थाङमा रहेका ऐतिहासिक तथा धार्मिक ४ वटा गुम्बाको मर्मत तथा स्तरोन्नति र १ पर्यटकीयस्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको उनको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ आयोजनाका लागि १० लाख रुपैयाँ बजेट परेको छ । यहाँ बारागुङ मुक्तिक्षेत्र–४ तिरीस्थित गुम्बा मर्मत तथा स्तरोन्नति र बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकामा ९ वटा आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट परेको छ । घरपझोङस्थित एयरपोर्ट पुथाङ भिरमा पर्यटकीय पूर्वाधार, जोमसोम पर्यटक पार्क निर्माण, इको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी पर्यटकीय पूर्वाधार, ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, नीलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण गर्न उक्त बजेट परेको हो । थासाङ गाउँपालिकामा ७ आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्बो धार्मिक क्षेत्रमा जीर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकीकृत सेवा कार्यालयले उल्लेख गरेको छ । थासाङमा थकाली सामुदायिक ऐतिहासिक कोतघरको तला थप्ने, नाङसुङ गुम्बा मर्मतसम्भार, कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तारलगायत आयोजना छन् । गण्डकी प्रदेश सरकारमार्फत यहाँस्थित एकीकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा ४० लाख रुपैयाँ, घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा रहेको ठूला चट्टानमा मूर्तिकला र शालिग्रामलगायत आकृति निर्माणमा २० लाख रुपैयाँ र लोमान्थाङ–१ छोसेरस्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा २० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख दर्जीले जानकारी दिए ।