नयाँ सभामुखका लागि चैत २२ मा मतदान, सोही दिन पदबहाली हुने
काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते आइतबार हुने भएको छ । बुधबार (आज) सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । मनोनयन दर्ता भने २० गतेका लागि तोकिएको छ । निर्वाचनकै दिन पदवहाली हुने जनाइएको छ । संघीय संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीवार (भोलि) अपरान्ह २ बजे संघीय संसद बैठक आह्वान गरेपछि त्यसको तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । बैठकमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसहित सबै दलका प्रतिनिधिहरू सहभागी भएका थिए। संघीय संसदको प्रतिनिधि सभामा २७५ जना सदस्य रहेका छन् । त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिटमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ३८ सिट, एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट ल्याएको छ । यी दलहरू नै राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलहरू हुन् । बिहीवार बोलाइएको बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा आज संघीय संसद सचिवालयले सो बैठक बोलाएको हो । बैठकमा सरकारका प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।
गौतमबुद्ध विमानस्थलबाट ‘फिफ्थ फ्रिडम’ उडानको तयारी
काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तर्राष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय उडानलाई व्यवस्थित गर्दै नियमितता दिन विशेष पहल भइरहेको छ । ‘हामी गर्मीयामको तालिकादेखि उडान सङ्ख्या बढाउने लक्ष्यसहित वायुसेवा कम्पनीहरूसँग समन्वय गरिरहेका छौं,’ उनले भने । हालसम्म थाई एयर एसियाको उडानमार्फत बौद्ध धर्मावलम्बीलाई लक्षित सेवा दिँदै आइएको थियो । पछिल्लो हिउँदे तालिकामा सातामा दुई दिन सञ्चालन गरिएको उक्त उडानलाई आगामी याममा थप विस्तार गर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । लुम्बिनी–गयाजस्ता बौद्ध सर्किटलाई जोड्ने उडान विस्तारले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । विमानस्थलको प्रभावकारी उपयोगका लागि ‘फिफ्थ फ्रिडम’ उडान अवधारणा अघि सारिएको विमानस्थलका महाप्रबन्धक साहले उल्लेख गरे । यस व्यवस्थाअनुसार विदेशी वायुसेवा कम्पनीले भैरहवालाई ट्रान्जिट विन्दु बनाउँदै तेस्रो मुलुकसम्म उडान सञ्चालन गर्न सक्नेछन् । उदाहरणका रूपमा कतार एयरवेजजस्ता वायुसेवाले दोहा–भैरहवा–तेस्रो देश र पुनः सोही मार्गमार्फत उडान सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले बताए । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइएको जनाएको छ । सरकारी तहबाट शीघ्र आवश्यक निर्णय हुने अपेक्षा रहेको महाप्रबन्धक साहले बताए । ‘अहिले पनि कतार एयरवेजले कतारबाट नभई अन्य मुलुकबाट उडान गरिरहेको छ, हामीले कतार एयरवेजलाई भैरहवाबाट नै ‘फिफ्थ फ्रिडम’ अनुरूप उडान गर्नेगरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘यस विषयमा शीघ्र मन्त्रिपरिषद्ले निर्णय गर्नेमा हामी विश्वस्त छौं ।’ उडान सङ्ख्या वृद्धि गर्ने अर्को महत्त्वपूर्ण योजनाअन्तर्गत नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवामा ‘बेस’ राख्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक साहले जानकारी दिए । यसले यहाँबाट अन्तरराष्ट्रिय उडान सञ्चालनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । रुपन्देही निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाँले अबको केही दिनमा नेपाल एयरलाइन्सले भैरहवालाई बेस बनाएर उडान गर्ने बताए । हाल वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको आवागमन सहज बनाउन विभिन्न चार्टर उडान सञ्चालन भइरहेका छन् । कुवेत एयरवेजले कुवेत सिटी–भैरहवा उडानमार्फत नेपालीलाई स्वदेश ल्याइरहेको छ भने साउदी अरबको दमामबाट पनि उडान अनुमति प्रक्रियामा रहेको जानकारी विमानस्थलका महाप्रबन्धक साहले दिए । उनका अनुसार चार्टरसँगै नियमित उडानलाई पनि समान रूपमा प्राथमिकता दिइनेछ । ‘चार्टर र नियमित दुवै उडानलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं, शीघ्र नियमित उडान थप सुदृढ हुनेछ,’ उनले भने । उक्त पहलले लुम्बिनी केन्द्रित धार्मिक पर्यटन प्रवर्द्धनका साथै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि सहजता ल्याउने विश्वास गरिएको छ । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके क्षेत्रीय आर्थिक गतिविधि वृद्धि हुनुका साथै समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने सरोकार भएकाहरूको अपेक्षा छ । रासस
सुहाङ नेम्वाङले भने : संसदीय दलको नेता म बन्नुपर्छ
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता आफू बन्नुपर्ने धारणा राखेका छन् । एमालेको संसदीय दलको बैठकमा उनले निर्वाचन प्रक्रियाबाट नेता चयन गर्न माग गर्दै आफू नेता बन्नुपर्ने धारणा राखेका हुन् । केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बुधबार बसेको बैठकमा सांसद सुहाङ नेम्वाङले निर्वाचनको विधिबाट दलको नेता चयन गर्नु उपयुक्त हुने धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयन गर्ने प्रस्तावमा छलफल भइरहेको छ । बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत पार्टीका पदाधिकारीहरु सहभागी छन् ।