इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार (पुस २८) राति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन् । सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । सदस्यमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन् । निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साधारणभाको उद्घाटन गरेका थिए ।

वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो ।     महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित भएका छन् । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिए । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सहकोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन् ।      केन्द्रीय सदस्यतर्फ खुलाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेशकुमार खत्री र शैलेस रिजाल चयन भएका छन् । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टु गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन् ।      महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन् । आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अङ्कित रावल चयन भएका छन् । संघमा एक हजार ३०० भन्दा बढी सदस्य आबद्ध छन् ।   

नेपाल बैंकको डीसीईओ बने खड्का, एसीईओमा काफ्ले नियुक्त

काठमाडौं । नेपाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्का र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)मा दीपेन्द्रराज काफ्ले नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले खड्कालाई डीसीईओ र काफ्लेलाई एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो ।  कार्यसम्पादन र अन्य मूल्याङ्कनका आधारमा दुवै जनालाई बढुवा गरेको बैंकले जनाएको छ । नुवाकोट स्थायी घर भएका खड्का यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा कार्यरत थिए । खड्का भन्दा सिनियर रहेका एसीईओ विश्वराज बराल र प्रकाश अधिकारीलाई पछि पार्दै डीसीईओ पदमा बाजी मारेका हुन् ।  बराल, अधिकारी र खड्का तीनै जना विसं २०६१ भदौ १ गते एकै दिन नेपाल बैंक प्रवेश गरेका थिए । तर, कार्यसम्पादन लगायत मूल्याङ्कनका आधारमा बराल र अधिकारी खड्का भन्दा सिनियर थिए । बराल र अधिकारी आगामी फागुन २१ गते अनिवार्य अवकाशमा जाँदैछन् ।  साथै खड्का डीसीईओमा बढुवा भएपछि एसीईओमा एक पद रिक्त हुनेछ । रिक्त रहेको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बैंक सञ्चालक समितिले काफ्लेलाई नियुक्त गरेको हो । यअसघि निमित्त एसीईओ रहेका काफ्लेलाई सञ्चालक समितिले एसीईओमा बढुवा गरेको हो । स्याङ्जाका काफ्ले २०६१ कात्तिक १६ गते नेपाल बैंक प्रवेश गरेका थिए ।