सर्लाही-४ मा रास्वपाका अमरेश सिंह अघिअघि गगन थापा पछिपछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतगणनामा बलियो अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उनलाई पछ्याइरहेका छन् । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २१ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने गगन थापाले १२ हजार ९ सय ९३ मत पाएका छन् । दुवैबीचको मतान्तर अहिले ८ हजार ३ सय ८४ रहेको छ । यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका थिए । तीमध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो । हालसम्म ४६ हजार २ सय १ मत गणना भइसकेको छ भने अझै ३१ हजारभन्दा बढी मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनलाई हराउँदै झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी

काठमाडौं । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन् । ३७ वर्षीय पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् ।  निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे । ​ त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतका साथ तेस्रो स्थानमा रहे भने एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरे ।

ललितपुर-३ बाट रास्वपाकी तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । कार्कीले ४३ हजार ९६ मत प्राप्त गरेकी छिन् । कार्कीले उनको प्रतिस्पर्धी उम्मेदवार भन्दा पाँच गुणा बढी मत ल्याएकी छिन् । यसअघि २०७९ को निर्वाचनमा पनि कार्की विजयी भएकी थिइन् । कार्कीको प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् । साथै तेस्रोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरेका छन् ।