कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
काठमाडाैं । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) १०० जना तोकिएको छ । यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।
काम नपाउनेहरुलाई रोजगारी दिँदै हाम्रो टीम नेपाल
काठमाडौं । काठमाडौं उपत्यकामा निशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्मममा रोजगारी दिने भएको छ । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्मममा रोजगारी दिने योजना अनुसार काम भइराखेको बताए । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । अब भने कोठापनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनैठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए । अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०/८० जनालाई कृषि फार्मममा लगाउने पनि पन्तले बताए । हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए ।
कात्तिकसम्ममा चार हजार २४८ उद्योग दर्ता, १८ हजार १२० जनालाई रोजगारी दिइने
वागमती । चालू आर्थिक वर्षको विगत चार महिनामा ४४७ नयाँ उद्योग सञ्चालनका लागि घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडामा दर्ता भएका छन् । साथै सो अवधिमा लामो समयदेखि कारोवार नगर्ने र नवीकरणसमेत नगराउने ७४ ओद्यौगिक तथा व्यावसायिक प्रतिष्ठानको दर्ता खारेज गरिएको कार्यालय प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । वाणिज्यका ४५ र उद्योग तर्फका २९ प्रतिष्ठान खारेज भएको बताइएको छ । विगत चार महिनामा सो कार्यालयले उद्योग दर्ता र नवीकरणवापत एक करोड ४९ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । सो अवधिमा ४११ उद्योगको नवीकरण र २५ उद्योगको नामसारी तथा १२ उद्योगको ठाउँसारी भएको स्वीकृति प्रदान गरिएको दाहालले बताए । त्यस्तैगरी वाग्मती प्रदेशको उद्योग पर्यटन तथा वन मन्त्रालयमा चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्म चार हजार २४८ उद्योग दर्ता भएको छ । साउनदेखि कात्तिकसम्म उक्त मन्त्रालयमा एक हजार ५६८ वाणिज्य र २६३ वटा पर्यटन व्यवसाय दर्ता भएको बताइएको छ । चालू आर्थिक वर्षको चार महिनामा दर्ता भएका उद्योगबाट १८ हजार १२० जनालाई रोजगारीको सिर्जना हुने बताइएको छ । त्यसैगरी सो अवधिमा मन्त्रालयले विभिन्न शीर्षकमा प्राप्त आन्दानी ११ करोड दुई लाख रुपैयाँ प्रदेश सरकारको सञ्चित कोषमा राजश्वसमेत जम्मा गरेको छ । यसैगरी, कोभिड-१९ को समयमा प्रदेश सरकारले २४ लाख ७७ हजार रूपैयाँ उद्योग पर्यटन व्यवसायलाई छुट दिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । त्यस्तै चालू आर्थिक वर्षको उक्त अवधिमा १४९ पटक गरेर कूल ९४७ व्यवसायी प्रतिष्ठानको अनुगमनसमेत गरिएको छ । त्यस्तै १६३ उद्योगमा अनुगमन भएको तथा ५९ फर्मलाई कारवाही गरिएको उनले बताए । यसै सम्बन्धमा हेटौंडा ओद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले कोरोनाका कारण साना तथा ठूला उद्योगको अवस्था नाजूक रहेको बताए । हेटौंडा ओद्यौगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये अधिकांश पूर्ण क्षमतामा सञ्चालन अवस्थामा नरहेको उनको भनाइ छ । हेटौंडाका काष्ठ उद्योगी रामपुकार ठाकुरले उत्पादन एवं निर्माण गरिएको सामानको बजारमा बिक्री वितरण कम रहेको गुनासो गरे । रासस