दक्षिण कोरियामा २० लाख बेरोजगार
काठमाडौं । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, सामाजिक दूरी बनाउनुपर्ने बाध्यता र आन्तरिक तथा बाह्य निर्यातमा उच्च गिरावट आएसँगै यो सङ्ख्या बढेको हो । कोरोना भाइरस महामारीका कारण पार्टटाइम रोजगारी गर्ने अधिकांशको रोजगारी गुम्नुका साथै पूर्णकालिन रोजगारी गर्नेहरूको समेत काम घटेर बेरोजगार हुनुपर्ने बाध्यता आइलागेको छ । विशेषत सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र, होटल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ । बेरोजगारीको अर्को महत्वपूर्ण कारण निर्यातमा उच्च गिरावट हुनु हो । फेब्रुअरीदेखि कोरोना महामारी देखिएसँगै निर्यातदर घटेको थियो । गत अप्रिलमा २४।३ प्रतिशतले घटेको निर्यात मे महिनामा अझ घटेर ४६.५ प्रतिशतमा आइपुगेको छ । यसरी उत्पादित समानको निर्यात गर्न नसक्दा अधिकांश कम्पनीको उत्पादन घट्नुका साथै कर्मचारी कटौतीमा समेत उल्लेख्य वृद्धि हुन थालेपछि बेरोजगारीको सङ्ख्या ह्वात्तै बढेको हो । यसरी बेरोजगारी दर बढेपछि रोजगारीको सिलसिलामा कोरिया आइपुगेका नेपालीहरूमाथि पनि प्रभाव देखिन थालेको छ । नेपालीले काम गर्ने केही कम्पनीमा काम घटेपछि न्यूनतम काम पनि हुन नसकेको, सिफ्ट छुट्याएर दुई–दुई हप्तामा पालो गर्दै काम गर्नुपरेको र इच्छाविपरीत पनि बिदा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । रासस
विदेशमा रहेका २५ प्रतिशत भन्दाबढी नेपालीकाे राेजगारी गुम्ने
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका २५ देखि ३० प्रतिशत श्रमिकको रोजगारी गुम्ने आँकडा तयार भएकाे छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेको प्रतिवेदन कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २५ देखि २३ प्रतिशत रहेको संघले जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने संघका महासचिव सजित कुमार श्रेष्ठले बताए । करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ। कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०/३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन्। यूएईमा ४ लाख र मलेसियामा ५ लाख श्रमिक कार्यरत छन्। कतार र साउदीमा २०/२० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ। कतारमा ४ लाख २५ हजार साउदीमा ३ लाख ८० हजार श्रमिक कार्यरत छन् । संघका अनुसार कुवेतमा १५ प्रतिशत, बहराइनमा १२ प्रतिशत, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार ५ सय जना कामदार कार्यरत छन् । वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन् । कोरोना भाइरस कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ । त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ । कोभिड १९ ले पर्यटन क्षेत्रमा परेको परेको असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्ट लगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । तेलको मुल्यमा आएको परिवर्तनसँगै मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने संघको प्रारम्भिक आँकलन छ । रोजगारदाताले भिसा दिई विदेश अनुमति प्राप्त गरि गरेका १ लाख १५ हजार कामदार कोरोना महामारीको कारणल विदेश जान पाएका छैनन्। त्यस्तै पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको प्रक्रिया पनि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
साउदी अरबमा कोरोनाबाट ४ नेपालीको मृत्यु, संक्रमितको संख्या ६ सय ७४
काठमाडौं । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण ४ नेपालीको मृत्यु भएको छ । दुतावासले जारी गरेकाे पछिल्लो तथ्यांक अनुसार साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमा ६ सय ६३ पुरुष र ११ जना महिला रहेका छन् । खाडीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित नेपालीको संख्या साउदीमा रहेको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दुतावासले मृत्यु हुनेहरुको विवरण औपचारिक रुपमा सार्वजनिक नगरेको जनाएको छ । त्यस्तै साउदीमा विभिन्न कारण मृत्यु हुने करिब ३८ नेपाली कामदारको शव अलपत्र परेका छन् । कोरोना संक्रमित बढेसँगै त्यहाँको अवस्थालाई ध्यानमा राख्दै साउदी सरकारले आगामी मे २३ देखि मे २७ तारिकसम्म देशभर २४ घण्टे कफ्र्यु घोषणा गरेको छ ।