खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टिन
काठमाडाैं । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैं खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टिन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैं खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरिएको बताए । उनले भने, “होटल व्यवसायीले क्वारेन्टिन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टिन बनाउने तयारीमा जुटिसकेका छौँ ।” नेपाल–भारत सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई सम्बन्धित व्यक्तिको बसोबास रहेको स्थानीय तहसम्म पुर्याउन स्पष्ट ठेगानासहित सूचना आदान–प्रदान गर्न र सहजीकरण गर्न धुलिखेलस्थित नेपाली सेनाको विष्णुदल गणलाई जिम्मेवारी दिइएको छ । साथै स्थानीय तहमा रहेका क्वारेन्टिनलाई १ सय श्ययाको बनाउने तयारीसमेत भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हालसम्म भारतबाट आएका करिब ३ सय काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहलगायत सङ्घसंस्थामा हालसम्म ६ सय ४३ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् । “अन्य देशबाट समेत काभ्रेली आउने भएपछि स्थानीय तहका क्वारेन्टिनको क्षमता विस्तार गर्दै सातदेखि १ सय श्ययाको बनाउन लागेका छौं”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेकालाई हालसम्म कोरोना भाइरस सङ्क्रमण देखिएको छैन । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका १ हजार १ सय २५ भारतमा बस्दै आएको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका काभ्रेलीलाई काठमाडौंस्थित वाग्मती प्रदेशको होल्डिङ सेन्टरमा राखिनेछ । जिल्ला प्रशासन कर्यालयको समन्वयमा सम्बन्धित स्थानीय तहमा जानकारी गराइ होटल बस्ने वा स्थानीय क्वारेन्टिन बस्नेबारे निर्णयपछि सोहीअनुसार गरिने झाले बताए । उनका अनुसार विदेशबाट आउने पिसीआर परीक्षण गरेर आएका हुन्छन् । “होटल वा अन्य क्वारेन्टिनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइनेछ”, झाले भने । सरकारले आजदेखि विदेशमा रहेका नेपालीलाई क्रमैसँग स्वदेश फर्काउने तयारी गरेको हो । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५ सय ८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ । यसअघि गत साल माघ महिनायता ४ सय ५१ विदेशिएका काभ्रेपलाञ्चोकस्थित घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ । रासस
लुफ्थान्सा एयरलाइन्स २ अर्ब ३० डलर नोक्सानीमा, हजाराैं कर्मचारीकाे राेजगारी धरापमा
काठमाडाैं । जर्मन एयरलाइन्स कम्पनी लुफ्थान्साले पहिलो चौमासिक अवधिमा दुई अर्ब ३० करोड अमेरिकी डलर (२.१ अर्ब युरो) नोक्सानी भएकोजनाएको छ । कोरोनाभाइरसले उत्पन्न गरेकाे लकडाउकाे कारण हवाई सेवा ठप्प हुँदा साे क्षति व्यहाेर्नु परेकाे जनाइएकाे छ । तथापि सन् २०१९ को यही अवधिमा पनि लुफ्थान्सालाई करिब ३४ करोड २० लाख युरो घाटा लागेको थियो । यस समूहसँग रहेका कूल ७ सय ६० वटा विमानमध्ये ३ सय वटा विमान अर्को वर्षसम्म त्यतिकै थन्किने छन् भने २ सय वटा विमानलाई सन् २०२२ सम्म पार्किङमा राख्नु पर्नेछ । बिमानको संख्या, उडान संख्या र गन्तव्य मुलुकमा उडानको अस्थिरता रहेका कारण यस कम्पनीमा आबद्ध ठूलो संख्याका कर्मचारीको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । एएफपी
विदेशमा अलपत्र परेका ७ लाख नेपाली देश फर्कने प्रतिक्षामा, २५ हजारलाई ल्याउने तयारीमा सरकार
काठमाडौं । रोजगारीको क्रममा विदेशमा रहेका करिब ७ लाख नेपाली श्रमिक फर्कने चाहेका छन् । विश्वमा नै फैलिएको कोरोना भाइरसको कारण खाडी तथा मध्यपूर्वी देशमा रहेका करिब ७ लाख नेपाली स्वदेश फर्कनका पाउँ भन्दै म्यानपावर व्यवसायी, दूतावास एवम् एनआरएनएको सम्पर्कमा रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । त्यस्तै परराष्ट्र मन्त्रालयले १० लाख नेपाली फर्किने अवस्थामा रहेको जानकारी दिँदै आएको छ । तत्कालका लागि ५ देखि ६ लाखसम्म खाडी तथा मध्यपूर्व देशमा रहेका नेपाली फर्किन चाहेपनि सरकारले पहिलो चरणमा २५ हजारलाई मात्र ल्याउन सकिने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक रुपमा जानकारी दिएका छन् । २/३ महिनादेखि रोजगारी गुमाइ नेपाल आउने प्रतिक्षामा रहेका धेरै नागरिक छन् । तर सजायबाट आममाफी पाएका, श्रमको करार अवधि सकिएका, रोजगारी गुमाएर बसेका, कोरोनाबाहेक अन्य कारण विरामी भएका, सुत्केरी, गर्भवती, जेष्ठनागरिक, अशंक्त, अध्ययनमा आएका विद्यार्थी, आफन्तको मृत्यु भई काजकिरिया गर्न नेपाल आउनुपर्ने, भिजिट भिसामा रहेकालाई स्वदेश फर्काउने सरकारको पहिलो प्राथमिकता रहेको छ । ठूलो संख्यामा रोजगारी गुमाएर बसेका मध्यपूर्वी तथा खाडी राष्ट्रमा रहेका नेपाली सरकारको प्राथमिकतामा परेको छ । विदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ठूलै भइसकेको छ भने धेरै लामो समय देखि रोकिएर रहेका अन्य १ सय ९९ वटा विभिन्न कारण मृत्यु भएका शव रोजगार गन्तव्य मुलुकमा नै रहेका हुँदा सरकारले उक्त शव परिवारलाई बुझाउनु पर्ने अर्काे महत्वपूर्ण काम छ । पछिल्लो समय गन्तव्य मुलुकमा नै शवको अन्तिम संस्कार गर्नका लागि वैदेशिक रोजगार बोर्डले मृतकका परिवारसँग कुरा गर्दै आएको छ । हालसम्म ७५ परिवारले स्वीकृति दिएका छन् । त्यस्तै कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली आफ्नै देशमा आइ सिप अनुसारको काम गर्न चाहनेको संख्या धेरै रहेको विदेशस्थित विभिन्न दुतहरुको जानकारी दिँदै आएका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ८ देखि १० वटा उडान भर्नेछ । सामाजिक दुरी कायम गर्दै कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर) रिपोर्ट अनिवार्य गरिएको छ । विदेशबाट आएका नेपालीका होल्डिंग सेन्टर, होटल क्वारेन्टाइन तथा स्थानीय निकायमा बनाएको क्वारेन्टाइनसम्म पुर्याउने व्यवस्था सरकारले गर्ने भएको छ । सरकारले अर्काे हप्तादेखि उक्त कार्य शुरु गर्ने भन्दै आएको छ । यो सबै कार्ययोजना कोभिड १९ रोकथाम, नियन्त्रण तथा उच्चस्तरिय समितिले तय गरेको छ ।