आँखुखोला जलविद्युत् आयोजनाले करिब आठ लाख कित्ता सेयर जारी गर्ने
काठमाडौं, २३ असार । आँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा साधारण सेयर जारी गर्नका लागि आवेदनसमेत दिइसकेको छ । आयोजनाका प्रबन्धनिर्देशक विश्वनाथ कँडेलले कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको जानकारी दिए । धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ । यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना आगामी हिउँदबाट निर्माण गरिने कँडेलको भनाइ छ । आयोजनाको कुल लागत रु चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ । रासस
सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, २१ असार । सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रक्रियाको लागि आउँदो असार २८ गते इन्स्योरेन्सको सेयर कारोबार बन्द हुने भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी करिब ५० करोड रुपैयाँ रहेको छ । बजारमा उक्त इन्स्योरेन्सको सेयर करिब १२ सय भन्दा बढी रुपैयाँमा किनबेच भइरहेको छ ।
साढे ११ करोडको हकप्रद सेयर जारी गर्दै युनाइटेड फाइनान्स
काठमाडौं, १३ असार । युनाइटेड फाइनान्स लिमिटेडले साढे ११ करोड मुल्य बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चार कित्ता साधारण सेयर बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंया मुल्य अंकित ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यो हकप्रद सेयर असार ३० गतेबाट निष्काशन आरम्भ हुनेछ भने भदौ १ गते निष्काशन बन्द हुनेछ । ४६ करोड ३९ लाख चुक्ता पुँजी रहेको युनाइटेड फाइनान्सले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरको निष्काशकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ७ करोड नाफा कमाएको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १४० रुपैंयाँ २१ पैसा रहेको छ भने प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३८ पैसा रहेको छ ।