सिटिजन्स बैंकको साधारण सभा सम्पन्न, २ अर्बको प्रिफेरेन्स सेयर जारी गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औँ साधारण सभा सम्पन्न भएको छ । बुधबार नारायणहिटी पथस्थित बैंकको मुख्य कार्यालयमा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाबाट बैंकको प्राथमिक पुँजीकोष सुदृढीकरण तथा व्यवसाय विस्तारलाई ध्यानमा राख्दै २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार (प्रिफेरेन्स) सेयर जारी गर्ने प्रस्ताव पारित गरिएको छ । यसैगरी, सभाले चार जना सञ्चालक निर्वाचित गरेको छ । संस्थापक समूह ‘क’ बाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने सर्वसाधारण समूह ‘ख’ बाट प्रकाश चन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा चयन भएका छन् । निर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रमा अनुभवी र विज्ञ रहेको बैंकले जनाएको छ । उनीहरू बैंकिङ, अर्थतन्त्र, विकास व्यवस्थापन तथा विभिन्न उद्योग–व्यवसायका क्षेत्रमा लामो अनुभव बोकेका व्यक्तित्व हुन् । बैंकले पूँजी आधार मजबुत बनाउँदै जोखिम वहन क्षमता वृद्धि र व्यवसाय विस्तारलाई तीव्रता दिन यस्तो निर्णय गरिएको जनाएको छ ।

माउन्ट एभरेष्टको आईपीओ बिक्री खुला, १० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गरेको हो ।  कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेको हो । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सोपन फर्मास्युटिकल्स र एपोलो हाइड्रोको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३१ प्रतिशतले घटेर २७०५ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । मंगलबार ३५५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको १८ करोड, रिलाइन्स स्पिीनिङको १५ करोड, रसुवा इनर्जीको १३ करोड र बुंगल हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपनस्युटिकल्स फर्माको सेयर मूल्य १५ प्रतिशत र एपोलो हाइड्रोको १४.९८ प्रतिशत बढेका छन् ।