न्युयोर्कमा आयोजित ट्राभल शो २०२६ मा नेपालको सहभागिता
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त अन्तर्राष्ट्रिय पर्यटन मेला २४–२५ जनवरी २०२६ मा न्युयोर्कस्थित जेकब के. जाभिट्स कन्भेन्सन सेन्टर मा सम्पन्न भएको हो । अमेरिका नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार का रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजार लक्षित निरन्तर प्रवर्द्धन अभियानअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त मेलामा सहभागिता जनाएको हो । कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले सहभागिता जनाएका थिए । ती कम्पनीहरूले नेपालको साहसिक पर्यटन, पर्वतारोहण, ट्रेकिङ तथा विविध पर्यटन आकर्षणबारे जानकारी प्रस्तुत गरेका थिए । दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ गतिविधिप्रति देखिएको उत्साहले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारी ले नेपालको प्याभिलियन अवलोकन गर्दै सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।
निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले झापा ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । उनले प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । शाहले बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा संलग्न रहेको बुझिने बताएका थिए ।
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसार ४४ वर्षीय कृष्ण कुँवर, २६ वर्षीया मनिषा अधिकारी, ४४ वर्षीय भक्त प्रसाद मरासिनी र २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् । चारै जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पीडितहरूबाट कुँवरले सर्बिया पठाउने भन्दै २ लाख ५० हजार , अधिकारीले क्यानडा पठाउने भन्दै २ लाख ५० हजार, मरासिनीले रोमानिया पठाउने भन्दै २ लाख २५ हजार ठगेको र आचार्यले युएई पठाउने २ लाख ६२ हजार ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।