भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक, घरभरि तीव्र गतिको इन्टरनेट उपलब्ध हुने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई उच्च गति र स्थिर कनेक्टिभिटी अनुभव प्रदान गर्ने उद्देश्यले उक्त सेवा बजारमा ल्याएको जनाएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै एउटै घरमा धेरै उपकरण एकैपटक सञ्चालन गर्नुपर्ने आवश्यकता बढिरहेको सन्दर्भमा नयाँ प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ । पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने वाइफाइ ६ ले लेटेन्सी न्यून बनाउँदै एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ तथा कार्यालयसम्बन्धी काम सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने बताइएको छ । भायानेटले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाइ ६ प्याकेज उपलब्ध गराएको छ । कम्पनीका अनुसार २५० एमबीपीएस गतिको वार्षिक योजना भ्याटसहित १३ हजार ८ सय रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक योजना लिने ग्राहकलाई थप एक महिना इन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । घरको सबै कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउने उद्देश्यले कम्पनीले भ्याटसहित ३ हजार ५ सय रुपैयाँमा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ । मेस प्रणालीले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरमा समेत स्थिर सिग्नल उपलब्ध गराउने कम्पनीको दाबी छ । पुराना ग्राहकलाई लक्षित गर्दै भायानेटले अपग्रेड प्रक्रिया पनि सरल बनाएको छ । हालका प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्कमा पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार ४के भिडियो स्ट्रिमिङदेखि बिना अवरोध अनलाइन गेमिङसम्म आधुनिक डिजिटल आवश्यकतालाई ध्यानमा राखेर सेवा डिजाइन गरिएको हो । सेवाबारे थप जानकारी वा जडानका लागि ग्राहकले ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा पुग्न सक्नेछन् ।   

डिजिटल युगमा महिला नेतृत्वको आवश्यकता, साइबर सुरक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । साइबर सुरक्षामा महिलाको नेतृत्वदायी भूमिका सुदृढ बनाउन केन्द्रित ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । क्यान महासंघअन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेस कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा रूपमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास आजको प्रमुख आवश्यकता भएको बताए । उनले पछिल्ला सामाजिक घटनाक्रम सन्दर्भित गर्दै महिलाका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिमसमेत आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सुरुआतमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका आइटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्त्वबारे धारणा राखेका थिए । प्राविधिक सत्रअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले ‘साइबर सुरक्षाको अग्रपंक्तिमा महिलाः सुरक्षित डिजिटल भविष्यको निर्माण’ विषयमा प्रस्तुति दिँदै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्व आवश्यक रहेको बताइन् । इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावना, चुनौती र महिला सहभागिता बढाउने उपायबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले उदीयमान साइबर जोखिम, डिजिटल सुरक्षा चुनौती तथा विविधतायुक्त नेतृत्वको आवश्यकता विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रमको अन्त्यमा आयोजित प्यानल छलफलमा नेपाल बैंक लिमिटेडकी कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा र मोना न्याछ्यों श्रेष्ठ सहभागी रहेका थिए । छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती तथा साइबर सुरक्षामा महिलाको भूमिका र सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो । आयोजकका अनुसार उक्त कार्यक्रमले नेपालमा साइबर सुरक्षा जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।    

फोनपोइन्ट र श्रीएयरलाइन्सबीच सहकार्य, क्यासब्याक अफर र दैनिक उडान टिकट जित्ने अवसर

काठमाडौं । फोनपोइन्टले श्रीएयरलाइन्ससँग सहकार्य गर्दै नेपालभरका प्रयोगकर्ताका लागि आन्तरिक हवाई यात्रा थप किफायती र लाभदायक बनाउने उद्देश्यले विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । सहकार्यअन्तर्गत प्रयोगकर्ताले ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यससँगै फोनपोइन्टले १५ जना भाग्यशाली विजेतालाई काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर प्रदान गर्ने लक्की ड्र योजना पनि सुरु गरेको छ । कम्पनीका अनुसार विजेता प्रत्येक दिन चयन गरिनेछन्, जसले प्रयोगकर्तालाई निःशुल्क हवाई यात्रा जित्ने अवसर प्रदान गर्नेछ । उक्त अफर फोनपोइन्ट, इसेवा तथा फोनपे एपमार्फत सहज रूपमा पहुँचयोग्य रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्ताले एपभित्रैबाट सहभागी भई अफरको लाभ लिन सक्नेछन् । यस पहलले दैनिक डिजिटल कारोबारलाई पुरस्कारमा रूपान्तरण गर्दै प्रयोगकर्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ । फोनपोइन्ट एपमार्फत अफर रिडिम गर्न सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यस सहकार्यले फोनपोइन्टलाई नेपालकै डिजिटल रिवार्ड्स प्लेटफर्मका रूपमा थप मजबुत बनाउँदै प्रयोगकर्तालाई उच्च मूल्य, सुविधा तथा स्मरणीय यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।