न्युयोर्कमा आयोजित ट्राभल शो २०२६ मा नेपालको सहभागिता
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उक्त अन्तर्राष्ट्रिय पर्यटन मेला २४–२५ जनवरी २०२६ मा न्युयोर्कस्थित जेकब के. जाभिट्स कन्भेन्सन सेन्टर मा सम्पन्न भएको हो । अमेरिका नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजारमध्ये एक रहँदै आएको छ । सन् २०२५ मा १ लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार का रूपमा रहेको छ । यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजार लक्षित निरन्तर प्रवर्द्धन अभियानअन्तर्गत नेपाल पर्यटन बोर्डले नेपाल पर्वतारोहण एजेन्सी संघ (टान) सँगको सहकार्यमा उक्त मेलामा सहभागिता जनाएको हो । कार्यक्रममा एसियन हेरिटेज ट्रेक्स एन्ड ट्राभल्स, एक्सप्लोर भ्याकेसन, फ्रेन्ड्स एडभेन्चर टिम ट्रेकिङ एन्ड माउन्टेनियरिङ, हिमालयन ग्लेसियर एडभेन्चर एन्ड ट्राभल कम्पनी, नेपाल भिजन ट्रेक्स एन्ड एक्सपेडिसन्स तथा टच कैलाश ट्राभल्स एन्ड टुर्स गरी छ वटा नेपाली पर्यटन कम्पनीहरूले सहभागिता जनाएका थिए । ती कम्पनीहरूले नेपालको साहसिक पर्यटन, पर्वतारोहण, ट्रेकिङ तथा विविध पर्यटन आकर्षणबारे जानकारी प्रस्तुत गरेका थिए । दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुहरूले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ गतिविधिप्रति देखिएको उत्साहले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको नेपाल पर्यटन बोर्डको विश्वास छ । यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधीराम भण्डारी ले नेपालको प्याभिलियन अवलोकन गर्दै सहभागी कम्पनीहरूसँग अन्तरक्रिया गरेका थिए । सो अवसरमा विशेषगरी अमेरिकाको पूर्वी तटीय राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रहरूबारे छलफल भएको थियो । नेपाल पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।
बागलुङको गौरवको आयोजना ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणमा साढे २ करोड खर्च
काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई दर्जन हिमशृङखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरण अन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरण अन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्छन्,’ उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’ ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामि नसक्नु धार्मिक पर्यटक भित्रिने उनले विश्वास व्यक्त गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो-कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब २ हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।
अपाङ्गमैत्री पर्यटनमा नेपालको फड्को : बहिरा समुदायका २५ जना बने ट्रेकिङ गाइड
काठमाडौं । अन्नपूर्ण गाउँपालिका कास्कीका विश्वमित्र भित्रकोटीको श्रवण शक्ति छैन । स्नातक तहमा अध्ययनरत उनको रुची पर्यटनमा छ । उनी घुम्न रुचाउँछन् । आफू मात्रै होइन विदेशबाट आएका पर्यटकलाइ घुमाउने रहर पनि छ । केही वर्ष अघि उनले आफ्नै गाउँ घान्दु्रकमा अमेरिका र युरोपबाट आएका पर्यटकलाई गाईड गरे । तर आफू कान नसुन्ने भएकाले कान सुन्ने पर्यटकलाई गाईड गर्न सहज भएन । अर्कोतर्फ पर्यटक गाईडको अनुमतिपत्र पनि थिएन त्यसैले ‘कामलाई निरन्तरता दिन सकिन’ – उनी सम्झन्छन् । तर पर्यटक गाइड बन्ने रहर भने जीवितै थियो । अहिले उनले ३५ दिने पर्यटक गाईडको तालिम सकेर अनुमति पत्र प्राप्त गरेका छन् । उनको रहरलाई नेपाल पर्यटन बोर्ड, युएनडीपी, राष्ट्रिय बहिरा महासंघले सार्थक बनाइदिएको हो । नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) र राष्ट्रिय बहिरा महासंघसँगको सहकार्यमा नेपालम मै पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो । तालिम बिनाको पर्यटक गाइड र तालिम पछिको अवस्था तुलना गर्दै उनी भन्छन् 'धेरै कुरा सिक्ने मौका पाएको छु र मेरो क्षमता पनि वृद्धि भएको छ । आत्मविश्वास बढेको छ ।' उनले भने, 'मैले यो ट्रेकिङ गाइड सम्बन्धि पाँच छ वर्ष पहिला काम पनि गरेको हो, तर नियमित बेसिसमा होइन कन्ट्याक्ट बेसिसमा अमेरिकाको, युरोपको कन्ट्याक्ट बेसिसमा । काम त पहिला पनि गरेको हो । तर मैले त्यति बेला लाइसेन्स चाहीँ प्राप्त गरेको थिइनँ । लाइसेन्स हुनुपर्छ भन्ने विषयमा मलाई त्यतिबेला ज्ञान पनि थिएन । अलिअलि आम्दानी गरेर जीवन चलाइरहेको थिएँ पहिला पनि । यो तालिमबाट लाइसेन्स हुनुपर्छ भन्ने विषयमा पनि सिक्न पाएँ ।' तालिममा ५ हजार उचाईसम्म हिमाली भेगको ट्रेकिङ गाइडको बारेमा सम्पूर्ण जानकारी पाएपछि अब उनलाई ८ हजार मिटर उचाई सम्मकै गाइड लाइनबारे पनि बुझ्न मन लागेको छ । काठमाडौं टेकुकी रविता देउला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । उनी सांकेतिक भाषा सिकाउने काम पनि गर्छिन् । नयाँ नयाँ कुरा सिक्न र जान्न मन पराउने उनले गत महिना ट्रेकिङ गाइड सम्बन्धि तालिम लिने अवसर पाइन् । तालिममा उनले उच्च हिमाली क्षेत्रमा आइपर्नसक्ने स्वास्थ्य समस्या र प्राथमिक उपचारको बारेमा पनि सिक्ने अवसर पाइन् । 'तालिम मेरो जीवनको लागि एउटा टर्निङ पोइन्ट बन्यो । प्राथमिक उपचार सम्बन्धि सिकाइ उनलाई खुब मन पर्यो', उनले भनिन्, 'म काठमाडौंमा जन्मिएको मान्छे , मेरा लागि हिमाल र पहाडको पर्यटनको विषय नयाँ हो, ट्रेकिङ गाइड सम्बन्धि तालिम मेरो लागि एउटा अवसर बन्यो ।' उनले यसअघि पनि भूटान, फिलिपिन्स तथा अन्य देशबाट आएका बहिरा पर्यटकलाई काठमाडौंका पर्यटकीय स्थल घुमाउने गरेकी थिइन् । पर्यटक गाइड सम्बन्धि सम्पूर्ण सिप सिक्न पाएकाले तालिमले आत्मविश्वास बढाएको उनले सुनाइन् । रविताले भनिन्, 'ट्रेकिङ जाने भन्दा अगाडि हामीले सिफारिस लिएर जानुपर्ने हुन्छ, हामीले रजिस्ट्रेशन गरेर पनि जानुपर्ने हुन्छ र हामी ग्रुपमा कतिजना जाँदैछौं, कसरी जाँदैछौं भनेर त्यो सबै सेक्युरिटीको कुरा पनि सिकाइएको थियो । पर्यटन क्षेत्रमा जानुअघि हामीले आफूले के–के सामग्रीहरू तयारी गरेर लैजानुपर्छ, त्यो नियमहरू सिकाइएको थियो ।' राष्ट्रिय बहिरा महासंघकाअनुसार नेपालमा वर्षेनी २ सय ५० भन्दा बढी सुन्न नसक्ने पर्यटन नेपाल गरेका छन् । हाल देशभरिबाट ३ जना बहिरा समुदायका व्यक्ति ट्रेकिङ गाइडको रुपमा कार्यरत रहेका छन् । कान सुन्नेले कान नसुन्ने व्यक्तिको लागि गाइड गर्ने विषय चुनौतीपूर्ण छ । महासंघका अध्यक्ष सन्तोष पौडेलले कान नसुन्ने पर्यटकका लागि बहिरा व्यक्ति नै गाइड भए सहज हुने निष्कर्ष सहित तालिम आयोजना गरिएको बताए । तालिममा सातै प्रदेशका गरि २१ पुरुष र ४ जना महिलाको सहभागीता थियो । उनीहरुलाई ट्रेकिङ गाइड सम्बन्धि अनुमतिपत्र प्रदान गरिएको छ । अध्यक्ष पौडेलले तालिमले सहभागीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै पर्यटनलाई समावेशी र दिगो बनाउन पनि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले तालिमपछि बहिरा ट्रेकिङ गाइडको संख्या बढ्ने र अन्तराष्ट्रिय समुदायमा पनि सकारात्मक सन्देश दिने अपेक्षा आफुहरुले राखेको बताए । उनले भने, 'बहिरा व्यक्तिको ट्रेकिङ गाइड कम्पनी स्थापना गर्ने, वेबसाइट बनाउने, आफ्नो सामाजिक सञ्जालमा प्रसारण गर्ने, विदेशीहरूले चाहीँ विभिन्न देशबाट आउने अपाङ्गता समुदायहरूले प्रत्यक्ष जोडिएर भविष्यमा नेपालमा घुम्न आउने पर्यटकहरूलाई गाइड गर्ने, प्राकृतिक, संस्कृति, धार्मिक, सामाजिक, हिमाल लगायत विभिन्न विषयमा देखाउने, चिनाउने र विश्वभरि प्रसार गर्ने काम गर्न पनि सघाउँछौ ।' तथ्यांक विभागकाअनुसार देशभर १ लाख २ हजार बहिरा छन् । तर महासंघले भने बहिराको संख्या ४ लाख बढी रहेको दाबी गर्दछ । विश्वभर करिव ५० करोड बहिरा रहेको अनुमान गरिन्छ । दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्मराज दवाडीले नेपाल घुम्न आएका बहिरा पर्यटकले बहिरा व्यक्ति नै ट्रेकिङ गाइड नहुँदा सञ्चारमा समस्या भएको गुनासो आएपछि आफूहरुको ध्यानाकर्षण भएको बताए । तालिमले बहिरा व्यक्ति लाई पनि ट्रेकिङ गाइडको रुपमा विकास गर्दे विश्वभर बहिरा पर्यटकलाई नेपाल भ्रमण सहज छ भन्ने सन्देश दिन खोजिको उल्लेख गरे । यसले दिगो पर्यटनमा पनि सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे । उनले भने, 'घुम्न जाने चाहना त सबैलाई हुन्छ । घुम्न नयाँ ठाउँ जाने, केही कुराहरू बुझ्ने, सिक्ने सबैलाई चाहना हुने हुँदा हामीले किन अलिकति फरक ढंगले नसोच्ने ? बहिराहरूलाई पनि हामीले त्यो खालको स्पेस क्रिएट ग¥यौँ भने भोली पर्यटनका माध्यमबाट उहाँहरूको रोजगारी उद्यमशीलता मात्र विकास होइन कि विश्वमा रहेका ५० करोड बहिराहरू मध्येबाट केही अंश मात्र हामीले नेपालमा ल्याउन सक्यौँ भने पनि सरकारको पर्यटन दशक लगायत नेपालमा वार्षिक पर्यटनको जुन ११–१२ लाखको जुन लक्ष्य राखिएको छ, त्यसलाई २–४ लाख भए पनि बहिरा समुदायबाट बढाउन सकिन्छ भन्ने उद्देश्यले हामीले उहाँहरूलाई तालिम दिएका हौँ ।' ३५ दिन सम्म ट्रेकिङ गाइड तालिम लिएका निरज आचार्यको आत्मविश्वास ह्वात्तै बढ्यो । सहभागीहरूलाई नुवाकोटको ककनीमा प्रयोगात्मक अभ्यासका गराइएको थियो । उनीहरुले ट्रेकिङ ट्रेल व्यवस्थापन, आफू हिँड्ने तरिका, पर्यटक गाइड गर्ने तरिका, अनुशासन तथा मर्यादा लगायतमा अभ्यास गरेका थिए । यो अभ्यास आचार्यलाई निकै मन पर्यो । उनले भने, 'विभिन्न विषय सिकेपछि हामीलाई दुई दिन ट्रेकिङमा पनि लैजानुभएको थियो ककनी । त्यहाँ हामीलाई प्रयोगात्मक रुपमा कसरी हिँड्ने, कसरी जाने, हामीलाई जङ्गलहरू देखाउँदै विभिन्न बोटबिरुवाहरू देखाउँदै लैजानुभएको थियो । दुई दिन हामीले त्यहाँ प्रत्यक्ष अनुभव लिन पायौँ र त्यहाँ गएर क्याम्पिङ गरेर बस्नुपर्ने अवस्थामा हामीले टेन्ट कसरी बनाउने भनेर पनि सिकेका थियौँ, त्यो एकदमै मनपर्यो ।' नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विदेशी बहिरा पर्यटकलाई नेपालमा भित्र्याउन भाषा, पहुँच र सहयोग सम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्ति लाई नै पर्यटक गाईड बनाउन विशेष तालिमको व्यवस्था मिलाईएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई ट्रेकिङ गाइडको रूपमा सक्षम बनाउनु सामाजिक न्याय मात्र नभई आर्थिक सशक्तिकरणको ठोस आधार पनि रहेको उल्लेख गरे । समावेशी र दिगो पर्यटन विकास नै आफूहरुको साझा प्रतिवद्धता रहेको उल्लेख गर्दै उनले यो नविनतम पहलले पर्यटन क्षेत्रमा आउन चाहेका बहिराहरुको आत्मविश्वास बढाई रोजगारीको अवसर श्रृजना भएको बताए । नेपाललाई अपाङ्गमैत्री पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उदेश्य साथ शुरु गरिएको यो प्रयासले समावेशी दिगो पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । परियोजनाले अपांगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्न हस्तकलाका साथै अन्य विभिन्न तालिमहरू पनि सञ्चालन गर्दै आएको छ ।