निजी क्षेत्र नाफाखोर मात्र होइन, देश विकासको इन्जिन हो : अध्यक्ष चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र केवल नाफा कमाउने समूह मात्र नभई देशको अर्थतन्त्रको मेरुदण्ड र विकासको मुख्य इन्जिन भएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को २६ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको योगदानलाई अवमूल्यन गर्न नहुनेमा जोड दिए । उनले भने, 'निजी क्षेत्रले देशको कुल राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान पुर्याउँछ, लाखौँका लागि रोजगारी सिर्जना गर्छ र पूर्वाधार निर्माणमा अहोरात्र खट्छ । यस्तो क्षेत्रलाई केवल नाफाखोरका रूपमा मात्र हेरिनु गलत मानसिकता हो ।' अध्यक्ष ढकालले नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले 'निजी क्षेत्र संरक्षण र प्रवर्द्धन योजना' ल्याउनु निजी क्षेत्रका लागि ठुलो उपलब्धि भएको बताए । महासंघको निरन्तर लबिङ र पहलकदमीकै कारण सरकारले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उनको दाबी छ। निर्माण व्यवसायीहरूले भोग्नुपरेको समस्याप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष ढकालले वर्तमान सार्वजनिक खरिद ऐन अत्यन्तै अव्यवहारिक रहेको टिप्पणी गरे । 'कुनै प्राविधिक वा सरकारी कारणले आयोजनामा ढिलाइ हुँदा त्यसको सम्पूर्ण दोष निर्माण व्यवसायीलाई मात्र थुपार्नु अन्यायपूर्ण छ,' उनले भने । गलत निर्णयका कारण व्यवसायीको बैंक ग्यारेन्टी जफत हुने र उनीहरू कालोसूचीमा पर्ने परिपाटीले अर्बौको लगानी जोखिममा परेको भन्दै उनले यसलाई सच्याउन सरकारले कार्यदल गठन गरेकोमा खुसी व्यक्त गरे । अध्यक्ष ढकालले निर्माण व्यवसायी महासंघ र उद्योग वाणिज्य महासंघ दुवैको आगामी निर्वाचनको सन्दर्भ जोड्दै सक्षम र व्यावसायिक नेतृत्व चयन गर्न आग्रह गरे । 'सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व छानौँ, यदि निर्वाचन नै भए पनि स्वस्थ प्रतिस्पर्धाबाट सक्षम व्यक्तिलाई अगाडि बढाऔँ,' उनले भने। नयाँ आउने नेतृत्वसँग सहकार्य गर्दै निजी क्षेत्रका साझा समस्या समाधानका लागि महासंघ सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
महासंघ निर्वाचन : यस्तो बन्यो वस्तुगत तर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको टिम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगत उपाध्यक्ष पदका लागि नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । संस्थागत नेतृत्वलाई सुदृढ बनाउँदै निजी क्षेत्रको हित संरक्षण र संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उनले उम्मेदवारी दिएको बताएका हुन् । वस्तुगततर्फको कार्यकारिणी सदस्य पदका लागि विभिन्न क्षेत्रका व्यवसायीहरूले उम्मेदवारी दिएका छन् ।कार्यकारिणी सदस्य पदका लागि डा. कमला श्रेष्ठ, भक्तबहादुर हमाल, डा. सुबोधकुमार गुप्ता, लिलेन्द्रप्रसाद प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, सागर ढकाल, राजेन्द्र संग्रौला, दुर्गाप्रसाद सुवेदी, निराजनबहादुर चलाउने, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बन्जाडे, सुनैना घिमिरे पाण्डे, विप्लव अधिकारी र सुधीर पराजुली उम्मेदवार रहेका छन् । याे टिमले वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालको टिमबाट उम्मेदवारी दिएकाे हाे । ढकाल टिमले यसअघि नै पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरे पनि अहिले सम्पूर्ण सदस्यसहितका उम्मेदवारको घोषणा गरेको हो ।
उद्योग वाणिज्य महासंघ चुनाव : सुरक्षित निजी क्षेत्र घिमिरे समूहको मुख्य एजेण्डा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुँदैछ । निर्वाचनका लागि अन्जन श्रेष्ठ नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव प्रसाद घिमिरेले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘सुरक्षित निजी क्षेत्र सशक्त महासंघ’ को मुख्य नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा महासंघलाई केही व्यक्तिको स्वार्थपूर्ति गर्ने माध्यम बन्न नदिई आम उद्यमीको साझा र प्रभावकारी संस्था बनाउने संकल्प गरिएको छ । घिमिरे समूहले महासंघको वर्तमान कार्यशैलीमा आमूल सुधारको प्रस्ताव गर्दै पाँचवटा मुख्य आधारस्तम्भ अघि सारेको छ । सचिवालय पुनर्संरचना घिमिरे समूहको प्रमुख एजेण्डा महासंघको सचिवालयलाई आधुनिक व्यवस्थापन प्रणाली र दक्ष जनशक्तिसहित पुनर्संरचना गर्नु रहेको छ । सचिवालयलाई ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गरी सदस्य केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने दाबी गरिएको छ । 'हामी बोलेर होइन, गरेर देखाउने नेतृत्वका लागि मैदानमा आएका हौँ' प्रतिबद्धता पत्रमा उल्लेख छ । वस्तुगत परिषद् र नीतिगत पैरवी वस्तुगत परिषद्लाई महासंघको नीति निर्माण र कार्यान्वयनको केन्द्र बनाउने घिमिरेको योजना छ । सरकारी निकायसँगको संवादमा निजी क्षेत्र र सम्बन्धित वस्तुगत परिषद्का प्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग सहमति खोजिने प्रतिबद्धतामा उल्लेख छ । यस्तै, उद्योगमा प्रयोग हुने कच्चा पदार्थको भन्सार दर घटाउन र आयोजना सम्पन्न भएपछि पनि रोकिएका सरकारी भुक्तानीहरू अनिवार्य रूपमा दिलाउन महासंघले नेतृत्व लिने बताइएको छ । स्टार्टअप, कृषि र निर्यातमा नयाँ मोडल घिमिरे समूहले युवा लक्षित स्टार्टअप, नवप्रवर्तन र एसएमईएस स्थापनालाई विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बिचौलियाको भूमिका न्यून गर्दै उत्पादनदेखि बजारसम्मको ’एकीकृत मूल्य श्रृंखला’ भ्यालू चेन निर्माण गर्ने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न राष्ट्रिय अभियान चलाउने घोषणापत्रमा उल्लेख छ । ऊर्जा र पर्यटनमा रणनीतिक पहल घिमिरे समूहले ऊर्जा सुरक्षाका लागि ३ देखि ६ महिनाको भण्डारण सुनिश्चित गर्ने र नवीकरणीय ऊर्जा परियोजनामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको छ । पर्यटन क्षेत्रमा भने कर, हवाई टिकट शुल्क र परमिट शुल्कलाई समयसापेक्ष र व्यवसायी–मैत्री बनाउन सरकारसँग सशक्त पैरवी गर्ने एजेण्डा अघि सारिएको छ । निजी क्षेत्रको ‘सुरक्षा कवच’ बन्ने दाबी निजी क्षेत्रको प्रतिष्ठा र आत्मसम्मानमा आँच आउँदा महासंघ मौन बस्न नहुने घिमिरे समूहको अडान छ । नीतिगत अनिश्चितता र बारम्बार हुने नियम परिवर्तनबाट व्यवसायीलाई जोगाउन ‘नीतिगत स्थिरता’ र ‘सम्पत्ति अधिकारको सुनिश्चितता’ लाई यस समूहले आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएको छ । चैत २९ र ३० गते हुने निर्वाचनका लागि घिमिरे समूहले आफ्नो प्रतिबद्धता पत्रलाई केवल ‘चुनावी कागज’ मात्र नभई वार्षिक मूल्यांकन र सार्वजनिक प्रतिवेदनसहितको उत्तरदायी दस्ताबेज भएको दाबी गरेको छ । घिमिरे समुले निरन्तर एजेण्डामा काम गरिरहेको छ । प्रतिस्पर्धी नरेशलाल श्रेष्ठ समूह भने अस्पष्ट र अलमलमा देखिएको छ ।