शिव शक्ति केमोप्लास्टको आम्दानी १ अर्ब १५ करोड रुपैयाँ

काठमाडौं । शिव शक्ति केमोप्लास्ट प्रालिले एक वर्षमा १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब १४ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  यसअघि कम्पनीले सन् २०२४ मा १ अर्ब ७० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १३ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २०२५ मा उद्योग क्षमताको ६५ प्रतिशत उपयोग भएको कम्पनीले जनाएको छ । जबकि यसअघि सन् २०२४ मा ६४ प्रतिशत र सन् २०२३ मा ५२ प्रतिशत क्षमता उपयोग भएको थियो । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष २ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सन् २००२ मा स्थापना भएको शिव शक्ति केमोप्लास्टले विभिन्न प्रकारका पीपी वोभन फ्याब्रिक्स र बोराहरू, लेमिनेटेड पीपी ब्याग, त्रिपाल, प्राकृतिक तथा रंगीन फ्याब्रिक्स उत्पादन गर्दै आएको छ । अष्ट्रियाको गुणस्तर मापदण्डअनुसार उत्पादन गर्दै कम्पनीले ती उत्पादनहरू आन्तरिक बजारसँगै निर्यातसमेत गर्दै आएको छ । शिव शक्ति ग्रुपद्वारा सञ्चालित यस कम्पनीलाई राहुलकुमार अग्रवालले सञ्चालन गर्दै आएका छन् । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७३ करोड २१ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये दीर्घकालीन ६ करोड २१ लाख रुपैयाँ र अल्पकालीन ६७ करोड रुपैयाँ ऋण रहेको छ । 

चुनावी घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिइयोस्: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी क्षेत्रको प्राथमिकताका विषय समेट्न आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रको विकास सबै दलको साझा एजेण्डा बन्नुपर्छ र त्यसका लागि निजी क्षेत्रका एजेण्डाहरुलाई दलहरुले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ । म सबै राजनीतिक दलहरुलाई यो आग्रह गर्दछु कि सबै दलले आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोला ।’ देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा उद्योगधन्दा कलकारखानाको समुचित विकास गरी औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेण्डाले प्राथमिकता पाउनु जरुरी रहेको उनले सुझाव दिए ।  हिजो मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासका कारण आजको अवस्था आएको स्मरण गर्दै अध्यक्ष ढकालले आगामी दिनहरू पनि त्यति सहज नरहेका र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताए ।  उनले देशमा जुनसुकै राजनीतिक दलको सरकार आएपनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई सबैले आत्मसात गर्नुपर्ने सुझाव पनि दिए ।  मुलुकको आर्थिक अवस्थाको यथोचित बृद्धि भयो भने मात्र मुलुकमा सुशासन कायम भई समृद्धि आउने र यसका लागि सबै राजनीतिक दलले आर्थिक एजेण्डालाई साझा एजेण्डाका रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

हाईल्याण्ड डिष्टिलरीको २६.३१ प्रतिशत लाभांश घोषणा, प्रिमियम वा बुकबिल्डिङ्गमा आईपीओ

काठमाडौं । हाईल्याण्ड डिष्टिलरी लिमिटिडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ६३ करोड ८४ लाख रुपैयाँको २५ प्रतिशतका दरले १५ करोड ९६ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले ८४ लाख रुपैयाँ नगद गरी कुल २६.३१ प्रतिशत अर्थात् १६ करोड ८० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले माघ २८ गते बिहान ११ बजे रजिस्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित, चालु आवको आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण र प्रबन्ध संचालकको पारिश्रमिक पारित गर्नेछ ।  यस्तै सभाले कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सेयर प्रिमियम मूल्य, बुक बिल्डिङ्ग विधि मार्फत वा अंकित मूल्यमा सर्वसाधारणलाई आईपीओ जारी गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  यस्तै कम्पनी ऐन, २०६३ को दफा ९१(२) बमोजिम प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । साधारण सभाले विशेष प्रस्ताव पारित गरी कम्पनीमा पुरा समय काम गर्ने सञ्चालकहरुलाई प्रोत्साहन दिन कम्पनीले तिर्नु पर्ने आयकर तिरिसकेपछि बाँकी रहेको मुनाफाको तीन प्रतिशतमा नबढाई पुरस्कार दिन सक्ने उक्त व्यवस्थामा उल्लेख छ । तर प्रचलित कानून अनुसार अन्तिम रुपमा आयकर निर्धारण हुँदा कम्पनीले थप आयकर तिर्नु पर्ने भएमा कम्पनीले त्यस्तो थप करको रकम पुरस्कार प्राप्त गर्ने सञ्चालकहरुबाट निजहरुले पुरस्कार बापत प्राप्त गरेको रकमको हदसम्म समानुपातिक रुपमा असुल उपर गरी लिनु पर्नेछ ।